२८ पुष २०८१, आईतवार

सहजपुर–बोगटान सडक : स्थानीयको प्रश्न– विकासका नाममा घरबार गुमाउनु पर्ने ?



चुरे । ‘घर नजिकै सडक पुग्दा हरेकलाई सहजता, खुशीसंगै आफनो क्षेत्रको विकास हुने अपेक्षा हुन्छ । तर, त्यही सडकले घरबारबिहीन बनाउने अवस्था आए के होला ?’ यस्तै यस्तै समस्या भोगिरहेकी छिन्, कैलालीको चुरे गाउ“पालिका वडा नम्बर ३ बस्ने इन्द्रा रिजाल ।
गत वर्ष फागुन ७ गते उद्घाटन गरेको सहजपुर–बोगटान सडक खण्डमा इन्द्राको घर छ । ‘निर्माणाधीन सडकमै घरको केही भाग परेको छ । त्यसैमा अहिले सडकबाट १५ मिटर पुनः छोड्नुपर्छ’ उनले भनिन्– जग्गाको नाममा यही घडेरी हो । यो पनि सडकले भत्काउनु भनेको छ ।’ उनले सडक आयोजना कार्यालयले विकल्प नदिएसम्म आफुले सडकको ट्रयाक काट्न नदिने बताइन् ।
उनको प्रश्न छ– विकास हुनु राम्रो हो, तर उठिबास नै गराउने विकास के कामको ? उनको केही जग्गा चमेलिया विद्युत प्रसारण लाइनले उपयोग गरेको छ । ‘चमेलिया विद्युत आयोजनाले जग्गाको मुआब्जा दिन्छु भन्यो, तर अहिलेसम्म पाइएन” उनले भनिन्– अब हाम्रो घरबारबिहीन गराउने गरी यो सडक का“टिदै छ । हाम्रो व्यवस्थापन बारे कसैले पनि सोचेको छैन ।
इन्द्रा जस्तै लक्ष्मीदेवी अम्बाईको पनि घरको आ“गन सडकमा परेको छ । उनले भनिन्– आ“गनसम्म सडक काटिन्छ । १५ मिटर छोड्नुपरे घरको भाग जान्छ । तर, मुआब्जाबारे केही कुरा नै गरिएको छैन । उनले सडकको ट्रयाक खोल्दा खेतीयोग्य १० रोपनी जमिन गुमाउनुपरेको बताइन् ।
५० किलोमिटर लामो सो सडकमा व्यक्तिका घरमात्र नभएर खेतीयोग्य जमिन, घा“सेबारी, आली गुमाउनुपरेको छ ।
चुरे गाउ“पालिका वडा नम्बर ३ का वडा अध्यक्ष टेकबहादुर शाहले सडकका कारण सो वडाका १० परिवार घरबारबिहीन हुनुपर्ने अवस्था रहेको बताए । उनका अनुसार सडकका कारण ३५ परिवारले खेतीयोग्य जमिन गुमाउनुपर्ने अवस्था आएको छ ।
उनले वर्षायाममा पहिरोले गर्दा दुई परिवारलाई अन्यत्र स्थानान्तरण गरिएको बताए । उनले भने– सडकका कारण कतिपय परिवार विस्थापित मात्र भएका छैनन्, खेतीयोग्य जमिन पनि गुमाउनु परिरहेको छ । उनले घर वा जग्गाको मुआब्जाका लागि पहल गरिए पनि अहिलेसम्म सुनुवाई हुन नसकेको बताए ।
स्थानीयका अनुसार सडकका कारण सयौं घर जोखिममा रहेको जनाइएको छ । सो सडक चौडाई गर्दा पहिरोका जोखिम पनि बढेको स्थानीयको गुनासो छ ।
सहजपुर–बोगटान सडक आयोजनाका इन्जिनियर पुष्पराज भट्टले सडकभित्र पर्ने घरपरिवार तथा खेतीयोग्य जमिन क्षतिबारे लागत संकलन भइरहेको बताए । उनले भने– अहिले कति घर, खेतीयोग्य जमिन सडकभित्र पर्छ भन्ने यकिन भइसकेको छैन । उनले सडक चौडाई गर्ने र वाल निर्माण गर्ने कार्य भइरहेको बताए ।
सुस्त गतिमा काम
‘३१ वर्षअघि यस सडकको ट्रयाकको शिलान्यास भयो, कसैले कालोपत्रे गरेनन् । तर, अहिले ३१ वर्षपछि सडक कालोपत्रे भइरहेको छ । अबको ३० महिनामा यो क्षेत्रको कायापलट हुनेछ’ २०७५ साल फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सहजपुर–बोगटान सडकको दुई लेन (डबल कटिङ) कालोपत्रेको शिलन्यास कार्यक्रममा भनेका थिए ।
सो सडक निर्माणका लागि ठेक्का सम्झौता भएको १५ महिना भइसकेको छ, तर निर्माण प्रगति भने निराशाजनक रहेको छ । सहजपुर–बोगटान सडक आयोजना कार्यालयका अनुसार १५ महिनामा सो योजनाको भौतिक प्रगति २० प्रतिशत मात्र रहेको छ ।
सडक शिलन्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले भनेका थिए– अबको तीन वर्षमा डोटीको कायापलट हुने छ ।
सडक निर्माणका क्रममा विभिन्न समस्या सिर्जना भइरहेका छन् । ‘सडक छेउमा घर, जग्गा तथा रुख कटान लगायतका समस्याका कारण कामले गति लिन सकेको छैन’ आयोजनाका इन्जिनियर भट्टले भने– आयोजनाको सबैभन्दा ठुलो समस्या भनेको रुख कटान रहेको छ ।
इन्जिनियर भट्टका अनुसार संघीय मन्त्रीपरिषद्ले रुख कटानको आदेश दिइसक्दा समेत रुख कटान कार्य अघि बढ्न सकेको छैन । उनले भने– बन कार्यालयले काठको मूल्यांकन गर्न सकेको छैन । यो सडकखण्डमा कम्तिमा तीन हजार नौ सय रुख काट्नुपर्ने अवस्था छ ।
आयोजनाका इन्जिनियर भट्टले वन विभागबाट रुख काटन् पत्र आइसकेको बताए । उनले एक हप्ताभित्र काठको मूल्यांकन गरि कटान कार्य अघि बढ्ने बताए ।
उनले रुख कटान कार्य अघि बढेपछि मात्र घरजग्गा धनीलाई मुआब्जा दिने काम अघि बढाइने बताए ।
सहजपुरदेखि ५० किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएकोमा झण्डै ४० किलोमिटर सडक वन क्षेत्रमा पर्ने भएकाले स्तरवृद्धीको काम समेत प्रभावित भएको निर्माणको जिम्मा पाएको पीआरएल कुमार जेभीका योजना व्यवस्थापक ईश्वर बस्नेतले बताए ।
सो सडकको २०७५ साल मंसिर १९ गते सम्झौता गरिएको थियो । सडकको निर्माण अवधि २०७८ जेठ २३ सम्म रहेको छ । दुई अर्ब रुपैया“ कालोपत्रेको ठेक्का पिआरएल कुमार जेभीले पाएको छ । सो आयोजनाको १५ महिनामा ३० करोड रुपैया खर्च भइसकेको छ ।
भारतको एक्जिम बैंकको ऋण प्रक्रियाबाट नेपाल सरकारको सडक विभागले यो सडक कालोपत्रे गर्न थालेको जनाइएको छ ।
सडक शिलन्यास भएको ३३ वर्षपछि अहिले आएर सडक कालोपत्रे हुन लागेको कैलालीको चुरे गाउ“पालिका शिवनगरका दानबहादुर बिष्टले बताए ।
सहजपुरदेखि बडीकेदार गाउ“पालिका हु“दै बोगटान गाउ“पालिकाको सिमचौर भएर दिपायल जोड्ने यो सडकको २०४२ सालमा पहिलोपटक शिलान्यास गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार