१४ बैशाख २०८१, शुक्रबार

विकास र समृद्धिका लागि एकमत



धनगढी । सुदूरपश्चिम प्रदेशको विकास र समद्धिका लागि सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताले विकास र समृद्धिका लागि एकमत रहेको र रहिरहने प्रतिवद्धता जनाएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारको मुख्य प्रबद्र्धनमा सुदूरपश्चिम साहित्य समाजले धनगढीमा आयोजना गरेको विश्व नेपाली साहित्य महोत्सवमा बहस गर्दै नेताहरुले विकासको सवालमा आफूहरु सधैं एकमत रहेको बताउँदै एकता र सहकार्य निरन्तर रहने प्रतिवद्धता जनाएका हुन् । महोत्सवको अन्तिम दिन मंगलबार नेकपाका प्रदेश सहईञ्चार्ज तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, नेकपाका प्रदेश अध्यक्ष तथा पूर्व उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री कर्ण थापा र नेपाली कांग्रेसका केन्द्रिय सदस्यद्वय पूर्व जलस्रोत तथा सिंचाई मन्त्री एनपि साउँद र पूर्व यातायात मन्त्री रमेश लेखकले ‘अस्तित्वमा एकताः हिजो, आज र भोलि’ शिर्षकमा बहस गरेका थिए ।
सो क्रममा उद्योगमन्त्री भट्टले पश्चिम सेती, पञ्चेश्वर र चिसापानी–कर्णाली बन्ने सपना आफुले मार्न नसक्ने बताए । ‘यि आयोजनाहरु बन्छ भन्ने सपना मैले देखेको छु,’ उनले भने, ‘देखेको पसना मार्न मिल्दैन । बरु त्यसलाई साकार बनाउन लाग्नु पर्छ । हामीले त्यसका लागि प्रयत्न गरिरहेकै छौं ।’
उद्योगमन्त्री भट्टले सरकारले पश्चिमसेती र एसआर ६ का लागि लगानी बोर्डमार्फत् लगानी जुटाउने काम भइरहेको बताए । उनले पश्चिम सेती अहिलेसम्म नबन्नुको कारणको समिक्षा समेत सरकारले गर्न थालेको र कारण पहिल्याएर समाधान गरिने बताए ।
कञ्चनपुरको दोधारा चाँदानी कञ्जभोजमा निर्माण गर्न लागिएको सुख्खा बन्दर गाहको लागि भारतसंग नाका खोल्न छलफल भइरहेको बताउँदै उद्योगमन्त्री भट्टले भारतले नाकासम्म रेलमार्ग समेत ल्याइदिने सहमति जनाएको बताए । उनले दैजीछेला र डुडेझाडी औद्योगिक क्षेत्र, हरैया विशेष आर्थिक क्षेत्र, धनगढी–अत्तरिया औद्योगिक करिडोरमा लगानी गर्ने उद्योगीहरुलाई विद्युत महसुलमा छुट, करमा छुट, जग्गाको भाडामा छुट दिने विषयमा मन्त्रालयले गृहकार्य शुरु गरेको बताए । उनले ७० वटा औद्योगिक ग्रामका लागि ४२ वटा स्थानीय तहले एमओई गरेको र २८ वटाले डिपिआर तयार गरेर अगाडि बढिसकेको बताए ।
अबको आर्थिक विकास उद्योगबाट सम्भव रहेको बताउँदै उद्योगमन्त्री भट्टले त्यसका लागि पुर्वाधार निर्माण गर्न मन्त्रालयले काम गरिरहेको बताए । उनले विकास र समृद्धिको सवालमा पहिलेदेखि नै सुदूरपश्चिमका नेताहरु एकमत रहेको दावी गर्दै सहकार्यको पनि खाँचो रहेको बताए । ‘म शान्ति प्रक्रियामा आएदेखि नै सबै पार्टीका सबै नेताहरुसंग विकासका लागि छलफल गरिरहेको छु,’ उनले भने, ‘यसमा कसैले पनि विमति छैन । सहकार्य गर्ने सवालमा तलमाथि परेको हुन सक्छ । यसलाई सुधार गर्दै लग्ने कुरा हुन्छ ।’
विकासको निम्ति सुदूरपश्चिमको सोच परिवर्तन भइसकेको बताउँदै उद्योगमन्त्री भट्टले सुदूरपश्चिमको सोच परिवर्तनसंगै सुदूरपश्चिमलाई हेर्ने सोच पनि परिवर्तन हुन आवश्यक रहेको बताए । उनले अहिले पनि काठमाडौंले सुदूरपश्चिमलाई विकासको नजरले नहरेको गुनासो गरे ।
पूर्व उद्योगमन्त्री थापाले प्रदेशको भूगोललाई प्रयोग गरी जनताको आयस्रोत बढाउनुको विकल्प नरहेको बताए । उनले विकास माग्ने मात्रै मनसाय बढि देखिएको बताउँदै पश्चिमसेती जस्ता परियोजनाहरु सुदूरपश्चिमेलीले आफै बनाउन तम्सिन आवश्यक रहेको बताए । उनले नेपाली कांग्रेस विकासका लागि एकमत भएपनि समृद्धिका लागि सहकार्य गर्न नसकेको आरोप लगाउँदै प्रश्न मात्रै उठाउन चाहेको टिप्पणी गरे । ‘डेउदामा पाइला नमिलेपछि डेउदा हुँदैन,’ पूर्वउद्योग मन्त्री थापाले भने, ‘सबैले सहकार्य नगरे समृद्धि पनि आउँदैन ।’
उनले केही पनि भएन भन्नु भन्दा भए गरेका कामको तथ्य केलाउन आवश्यक रहेको बताउँदै नेकपाको सरकारले पार्टीको घोषणा र जनताको चाहना अनुसार समृद्धिको सपना बाँडिरहेको बताए । उनले सुदूरपश्चिम प्रदेश सरकार र संघीय सरकार समृद्धि र विकासको ट्रयाकमा हिडिरहेको दावी गरे । उनले लक्ष्य र बाटो विराएर काम गर्ने मन्त्रीहरुलाई नेकपाले कारबाही गरेको उदाहरण रहेको बताउँदै कोही पनि पार्टीको घोषणा विपरित जनताको अहित हुने काम गर्न नपाउने बताए ।
नेकपाका प्रदेश अध्यक्ष समेत रहेका थापाले अवको विकासको मोडेल परिवर्तन गर्नुपर्ने आवश्यक रहेको बताए । उनले दुरदराजमा एकका १० घरका लागि सम्पूर्ण विकास पु¥याउनु भन्दा उनीहरुलाई विकास भएको ठाउँमा सार्नु बैज्ञानिक र खर्चको हिसावले मित व्ययी रहेको बताए । उनले नेकपाको विकास यो मोडेललाई प्रदेश सरकारले एकीकृत वस्ती विकास कार्यक्रमको रुपमा अगाडि सारेको बताए । ‘बाजुराको विच्छ्या र दार्चुलाको टिंकर जस्ता ठाउँका वस्ती सार्नु उपयुक्त हुन्छ,’ उनले भने, ‘यसले गर्दा सहज रुपमा विकास हुनुका साथै ठूलो विनाशबाट पनि जोगिन सकिन्छ ।’
नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री एनपि साउँदले विगतमा नेपाली कांग्रेसको सरकारले पनि सुदूरपश्चिमको विकास गर्ने प्रयत्न गरेपनि सार्थक परिणाम ल्याउन नसकेको बताए । पुर्वपश्चिम राजमार्गमा पुल नहुँदा काठमाडौंसंग सुदूरपश्चिम नजोडिएको बेला नेपाली कांग्रेसको सरकारले पुल बनाएर काठमाडौंसंग जोडेको चर्चा गर्दै उनले त्यतिबेला आफूहरु राजनीतिक मुलधारमा समेत जोडिन नसकेको समिक्षा गरे ।
अबको सरकारले विकास गर्ने लक्ष्यण देखाएको बताउँदै उनले अहिले विकासको शुरुवात भएको बताए । ‘२÷३ वर्षमै सबै विकास भइसक्छ भनी हाल्नु हुँदैन । विकासले समय लिन्छ,’ पूर्व सिंचाईमन्त्री साउँदले भने, ‘सुदूरपश्चिममा मैले सरकार देखेको छु । यसले के के गर्दै छ भनेर हेर्दै छु । विकासका लागि हाम्रो पनि समर्थन छ । तर विकासको ढाँचा कस्तो बन्यो भन्ने कुरा महत्वपूर्ण हो ।’
पूर्वमन्त्री साउँदले अहिले नै सरकारको आलोचना गरिहाल्नु पर्ने समय नआएको बताए । उनले अहिले सरकारलाई काम गर्न सुझाव दिने र काम गर्नमा सघाउने समय रहेको बताए ।
नेपाली कांग्रेसका अर्का नेता तथा पूर्वमन्त्री रमेश लेखकले राजनीतिक एजेण्डा सकिएको बताउँदै अव विकासको गतिमा अगाडि बढ्नुपर्ने बताए । उनले सरकारको गति सुस्त रहेको बताउँदै सुदूरपश्चिमका विकास अगाडि बढ्न नसकेको टिप्पणी गरे । उनले विकास अगाडि बढ्नु पर्नेमा नढेको चिन्ता व्यक्त गर्नुपरेको दुःखेसो गरे ।
पूर्वमन्त्री लेखकले चार जना बसेर छलफल गरेपनि समस्या देखिने समस्या र दलगत छलफलमा देखिने समस्या उही निस्किने गरेको बताउँदै आफूहरु विकासका लागि सधैं एकसाथ रहेको दावी गरे । पश्चिमसेती, पञ्चेश्वर बनाउन एकमत भएर अगाडि बढेको बताए । विकास अयोजनाहरु बनाउन सरकारसंग सहकार्य गर्न आफूहरु तयार रहेको बताए ।

महोत्सवमा मंगलबार नै भएको ‘समृद्धिको सपना’ शिर्षकमा विकास विद महेन्द्र सापकोटासंग बहस गर्दै नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले आकस्मिक सेवा दिने क्षमता विकास गर्नुपर्ने बताए । उनले विकासका लागि सबैको सपना एउटै नहुन सक्ने बताउँदै सबैको सपना एउटै भएकामा राजनीतिक दल पनि एउटै हुने बताए । ‘यो सम्भव छैन,’ उनले भने, ‘सपना सबैको फरक फरक हुन्छ । तर सबैले सार्थक सपना देख्नुपर्छ । नेकपाको सरकारले सुखी नेपाली समृद्ध नेपालको सपना देखाएको छ । यो सपना सार्थक पार्न सरकारले काम गरेको छैन ।’
विकास विद सापकोटाले पनि समद्धिका योजनाको डकुमेन्टहरु अधुरो रहेको बताउँछन् । उनले स्थानीय तहदेखि केन्द्र तहसम्म भ्रष्टाचार मौलाएको बेला समृद्धि साकार नहुने टिप्पणी गरे । राजनीति, प्रशासन, अस्पताल, सामाजिक क्षेत्र लगायतका सेवा प्रदायक निकायहरुमा नेतृत्वको अभाव देखिएको बताउँदै उनले संघीयताले देशमा चूनौति थपेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार