८ बैशाख २०८१, शनिबार

अर्को वर्ष विश्व नेपाली नारी साहित्य महोत्सवको घोषणा (घाेषणा पत्र सहित)



सकियो विश्व नेपाली साहित्य महोत्सव

धनगढी । विश्वभरीका नेपाली भाषी साहित्यकारहरूको सात दिनसम्म धनगढीमा साहित्यिक जमघट भएको विश्व नेपाली साहित्य महोत्सव मंगलबार समापन भएको छ ।
सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजना तथा सुदूरपश्चिम प्रदेश सरकारको प्रवद्र्धनमा गत १४ गतेदेखि शुरु भएको साहित्य महोत्सवमा नेपालका विभिन्न शहर तथा जिल्लाका साथै भारतको सिक्किम, मेघालय, सिलगुडी, असाम, मणिपुर, देहरादुन, दार्जिलिङ तथा म्यान्मा (बर्मा) अमेरिका लगायतका नेपाली भाषी साहित्यकार, संस्कृतिविद, भाषाविद्, लोकसंस्कृतिकर्मी, कलाकार लगायत चार सय बढिको सहभागिता रहेको थियो ।
सात दिनसम्म चलेको महोत्सवमा विभिन्न शिर्षकमा ५२ वटा साहित्य सत्र भएका थिए ।
समापन कार्यक्रमको प्रमुख अतिथि पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा रहेका थिए ।
समापनको अवसरमा महोत्सव आयोजना गर्नमा सहयोग गर्ने स्थानीय तह, प्रदेश सरकार लगायत निजी क्षेत्र, सञ्चार माध्यम, प्राज्ञ लगायत व्यक्तित्वहरुलाई दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको छ । उनीहरुलाई पूर्वप्रधानमन्त्री देउवाले सम्मान गरेका थिए ।
कार्यक्रममा उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री रमेश लेखक, केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एनपी सावद, नेकपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा पूर्वमन्त्री कर्ण थापा, सांसद प्रदेश सभा सदस्य, धनगढी उपमहानगरपालिका प्रमुख तथा उपप्रमुख, विभिन्न राजनीतिक दलका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

सुदूरपश्चिम प्रदेशको भाषा हराउँदै गएको छ– सभापति देउवा

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको भाषा हराउदै गएको बताएका छन् ।
विश्व नेपाली साहित्य महोत्सवको धनगढीमा आज समापन समारोहमा बोल्दै सभापति देउवाले सुदूरपश्चिमेलीहरुले आफ्नो भाषा बोल्नै छोडेकाले लोप हुने अवस्थामा पुगेको बताए । सभापती देउवाले भने—सुदूरपश्चिमको भाषा बोलिचालीबाट हराउदै गएको छ कति दिन टिक्छ र ? उनले आफ्नो भाषा सस्कृति बोल्न छोड्न नहुने आग्रह गरे ।
उनले सुदूरपश्चिम भाषाको व्याकरणको विकास गर्नु जरुरी रहेको बताए । धनगढीमा जारी विश्व नेपाली साहित्यिक महोत्सव सफल भएकोमा बधाई दि“दै उनले भने—‘आज सुदूरपश्चिमले विश्वभरी छरिएर रहेका नेपाली भाषीहरुलाई नेपाली भाषाको उद्गमस्थल रहेका काली–कर्णालको सभ्यता सिकाएको छ । नेपाल बहुभाषिक बहुसांस्कृतिक राष्ट्र भएको बताउ“दै उनले भने—‘त्यसमापनि सुदूरपश्चिमको भेषभूषा, कला संस्कृति, रहनसहन मौलिक खालको छ, त्यसको संरक्षण गर्न हामी सबैले लाग्नु पर्छ ।
नेपालि भाषाको उद्गम स्थल सुदूरपश्चिम हो उनले भने यहा“बाट सुरु भएर भारतका विभिन्न स्थानमा फैलिएको छ, विश्वभरी यो भाषाको संरक्षण हुदै गएको देख्दा खुशी लागेको छ ।
यस्तै सभापति देउवाले पश्चिम सेती परियोजनालाई निर्माणका लागि विदेशीको मुख ताक्नु भन्दा सुदूरपश्चिमेलीलाई शेयर दिएर यहिका नागरिकले आफ्नै पैसाले बनाउन आ“ट गर्नुपर्ने बताए । ‘पश्चिम सेती बनाउने भन्दा भन्दै वर्षौ वित्यो, तर निर्माण हुन सकेन, उनले भने—‘अब हामीले यहीका नागरिकलाई शेयर दिएर सरकारले पश्चिम सेती बनाउने आ“ट गर्नुपर्छ ।’ उनले सुदूरपश्चिमका नागरिकले आ“ट गरेमा पश्चिम सेती दस वर्षमै बनाउन सकिने बताए ।
उनले पार्टीका नेताहरुलाई सुदूरको विकासका लागि एक भएर आउन आग्रह गरे । देउवाले नेकपा र कांग्रेसका नेता तथा कार्यकर्तालाई राजनीतिमा आ–आफ्ना कुरा भएपनि सुदूरको विकासमा एक भएर जान आग्रह गर्दै भने—‘हाम्रा मत अभिमत फरक होलान्, तर सुदूरपश्चिमको विकासका लागि हामी सबै पार्टीका नेताहरुले एक भएर बोल्नुपर्छ ।
यस्तै विश्व नेपाली साहित्यिक महोत्सवको समापन समारोहका विशिष्ठ अतिथि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भाषाकला र साहित्य मार्फत् विश्वभरिका नेपाली भाषीलाई सुदूरपश्चिम सग जोडाएकोमा सुदूरपश्चिमाञ्चल साहित्य समाजलाई धन्यवाद दिए । उनले भने, यो महोत्सव यहाको भाषा, कला र साहित्यिक उत्थानका लागि कोशेढुंगा सावित भएको छ ।
महोत्सवले दुरगामी महत्व बोकेको बताउदै नेपाली भाषा साहित्यको पहिचान गर्न सफल भएको बताए । उनले सुदूरपश्चिममा थुप्रै स्रोत साधनहरु भएको र ति स्रोत साधन परिचालनको लागी लगानि आवश्यक रहेको बताए ।
सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेका परम्परागत खानिहरुको उत्खनन्को लागि सरकारले लगानीकर्ताहरु लाई बाटो खोलेको बताए । उनले भने अब विकास भएन भनेर बस्ने बेला हैन्, आफ्नो अधिकार सुनिश्चित गरि लगानिको वातावरण सिर्जन गर्ने बेला हो ।
महोत्सव समापन समारोहमा प्रमुख अतिथीलाई अभिनद्न अतिथीहरुलाई मायाको चिनो र विभिन्न विधामा योगदान दिने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा साहित्य समाजका अध्यक्ष रामलाल जोशीले ९ बुदे घोषणा पत्र जारी गर्दै सुदूरपश्चिमका कला सस्कृति र पहिचान विश्वसामु चिनाउन सफल भएको बताए । उनले प्रज्ञा प्रतिष्ठानमा हालसम्म सुदूरपश्चिमबाट दुई जनामात्रै समावेश हुन दुखद बिषय भएको बताए ।
नेपाली भाषा, साहित्यको माउथलोको रुपमा रहेको सुदूरपश्चिम प्रदेशलाई चेतना, साहित्य र संस्कृतिको प्रदेश बनाउन २०७६ साल फागुन १४ देखि २० गतेसम्म आयोजना भएको नेपाली भाषीहरुको महासम्मेलनका रुपमा विश्व नेपाली साहित्य महोत्सव पूर्णरुपमा सफल भएको र यसले सुदूरपश्चिम प्रदेशको सान, मान र गौरव बढाएको महशूश गर्दै हरेक वर्ष यसलाई निरन्तर रुपमा सञ्चालन गर्न तथा दोस्रो शृंखलाका रुपमा आगामी वर्ष विश्व नेपाली नारी साहित्य महोत्सव गर्ने प्रस्ताव गर्दै प्रदेश सरकारसँग आफ्नो वार्षिक योजनामा राख्न यो महोत्सव आग्रह गर्दछ ।
घोषणा पत्रमा मानवतावादी राजा जयपृथ्वी बहादुर सिहंलाई राष्ट्रिय विभुति घोषणा गरिनुपर्ने, अर्को बर्षे विश्व नेपाली नारी साहित्य महोत्सवको आयोजना गर्ने प्रस्ताप गरेको छ ।

दस्तावेज : सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा २०७६ साल फागुन १४ देखि २० गतेसम्म धनगढीमा भएको विश्व नेपाली साहित्य महोत्सव द्वारा जारी धनगढी घोषणापत्र ।


१. सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट यो महोत्सवको समुद्घाटन गरिदिनुभएर महोत्सवमा अभिभावकत्व दर्साइदिनुभएकोमा यो महोत्सव विनम्रतापूर्वक कृतज्ञता अर्पण गर्दछ ।
२. यो महोत्सव पूर्व प्रधानमन्त्रीहरु सम्मानीय शेरबहादुर देउवा, लोकेन्द्र बहादुर चन्द र डा. बाबुराम भट्टराई, शताब्दीपुरुष सत्यमोहन जोशीलगायत देश र विदेशका विभिन्न जिल्ला तथा शहर एवं भारतका सिक्किम, सिलगुडी, मेघालय, असम, दार्जिलिङ, मणिपुर, देहरादून, केरल, आन्ध्र प्रदेशका साथै म्यान्मा (बर्मा), अमेरिकालगायतका मुलुकहरूबाट महोत्सवमा सहभागी हुनुभएका स्थापित साहित्यकार, भाषाविद्, संस्कृतिविद्, लोक साहित्य साधक, प्राज्ञ, सामाजिक÷सांस्कृतिक÷राजनीतिक ब्याख्याकार÷विश्लेषक आदिको अभूतपूर्व सहभागितामा सात दिनसम्म सञ्चालन भएको विश्व नेपाली साहित्य महोत्सव आजसम्मकै ऐतिहासिक साहित्य आयोजना भएको महसुस गर्दै यो महोत्सव सम्पूर्ण सहभागीहरुमा सादर आभार व्यक्त गर्दछ ।
३. यो साहित्य महोत्सवको अभिभावकत्व ग्रहण गर्दै यो आयोजनालाई भव्य, सफल, ऐतिहासिक तथा उपलब्धिमूलक बनाउन प्रमुख भूमिका निर्वाह गरेको सुदूरपश्चिम प्रदेश सरकारका साथै धनगढी उपमहानगरपालिका, भीमदत्त नगरपालिका, परशुराम नगरपालिका, एनसेल, राष्ट्रिय वाणिज्य बैंकसहित सम्पूर्ण स्थानीय तहहरु र संघसंस्थामा सादर आभार व्यक्त गर्दछ ।
४. नेपाली भाषा, साहित्य तथा संस्कृतिको माउथलोका रुपमा रहेको सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजना भएको साहित्यको यो महापर्वमा विभिन्न शीर्षकमा ५२ वटा निकै महत्वपूर्ण साहित्य सत्र भए । त्यस्तै, महोत्सव उद्घाटन समारोह तथा अन्य दिनमा सुदूरपश्चिम प्रदेशका विविध सांस्कृतिक झाँकी प्रस्तुत भए । यी साहित्य सत्र र सांस्कृतिक प्रदर्शनीमार्फत सुदूरपश्चिम प्रदेशबाट नृेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा संवद्र्धनको अवस्था, चुनौति र सम्भावनाका विविध पाटाहरुको उद्घाटन भएको यो महोत्सवको निष्कर्ष रहेको छ ।
५. यो महोत्सवले विश्वभरी रहेका नेपाली भाषीहरुबीचको भावनात्मक तथा भाषिक एकतालाई अझ प्रगाढ बनाउन निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यो महोत्सव नेपाली भाषालाई महाभाषाका रुपमा विकास गर्न तथा विश्वभरीका नेपालीहरुमाझ नेपालीपनको पहिचान जोगाउन सधैं उत्प्रेरित गर्न सफल भएको छ ।
६. यो महोत्सव यस देवभूमिमा जन्मिएका नेपाली साहित्यका प्रथम दुःखान्त नाटककार पहलमानसिंह स्वार तथा राजपाठ त्यागेर शिक्षा, चेतना, साहित्य, व्याकरण र मानवतावादी विचारका उत्प्रेरक राजा जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणाका लागि नेपाल सरकारसँग माग गर्दछ ।
७. कालीकर्णाली प्रदेशबाट उद्गम भएको नेपाली भाषा संसारभरीका नेपालीहरुको साझा भाषा बने जस्तै यस क्षेत्रको विशिष्ट पहिचान देउडा र अन्य संस्कृतिमार्फत सुदूरपश्चिमलाई विश्वसंग जोड्नका लागि यो महोत्सव कोशेढुंगा सावित भएको ठहर गर्दछ ।
८. नेपाली भाषा, साहित्यको माउथलोको रुपमा रहेको सुदूरपश्चिम प्रदेशलाई चेतना, साहित्य र संस्कृतिको प्रदेश बनाउन २०७६ साल फागुन १४ देखि २० गतेसम्म आयोजना भएको नेपाली भाषीहरुको महासम्मेलनका रुपमा विश्व नेपाली साहित्य महोत्सव पूर्णरुपमा सफल भएको र यसले सुदूरपश्चिम प्रदेशको सान, मान र गौरव बढाएको महशूश गर्दै हरेक वर्ष यसलाई निरन्तर रुपमा सञ्चालन गर्न तथा दोस्रो शृंखलाका रुपमा आगामी वर्ष विश्व नेपाली नारी साहित्य महोत्सव गर्ने प्रस्ताव गर्दै प्रदेश सरकारसँग आफ्नो वार्षिक योजनामा राख्न यो महोत्सव आग्रह गर्दछ ।
९. यो महोत्सवको सफल आयोजनाका लागि आआफ्नो स्थानबाट अहम् भूमिका निर्वाह गर्नुभएका यस प्रदेशका मुख्यमन्त्री माननीय त्रिलोचन भट्टलगायत प्रदेश सरकारका मन्त्रीज्यूहरु, संघीय संसद र प्रदेश सभाका माननीय सांसदहरु, पूर्वमन्त्री र माननीयज्यूहरु, धनगढी उपमहनगरपालिकाका प्रमुख, उपप्रमुख, पदाधिकारीहरु, अन्य स्थानीय निकायका सम्पूर्ण पदाधिकारीहरु, यस सुदूर पश्चिमाञ्चल साहित्य समाजका संस्थापक सदस्यहरु, यस प्रदेशका सम्पूर्ण राजनीतिक दल, भ्रातृसंस्था र कार्यकर्ताहरु, पूर्व अध्यक्ष तथा पदाधिकारीहरु, सम्पूर्ण साधारण सदस्य, वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, मूल आयोजक समारोह समितिका संयोजक यज्ञराज उपाध्याय तथा सदस्यहरु र अन्य समितिका संयोजक तथा सदस्यहरु, स्वयंसेवक, स्थानीय प्रशासन, सुरक्षा निकाय सहित सम्पूर्ण संघसंस्था र सम्पूर्ण नागरिकहरुलाई यो महोत्सव हृदयदेखि नै आभार व्यक्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार