१५ चैत्र २०८०, बिहीबार

विश्व नेपाली साहित्य महोत्सव



विदेशमा नेपाली भाषाको अवस्थादेखि हास्यव्यंग्य विधासम्म चर्चा

धनगढी । धनगढीमा जारी विश्व नेपाली साहित्य सम्मेलनमा बिहीबार विदेशमा नेपाली भाषा, साहित्य तथा संस्कृतिको अवस्थादेखि हास्यव्यंग्य विधा, नेपाली समालोचनाको दशा र दिशा, नेपाली साहित्यमा महाभारतको प्रभावसम्म सघन चर्चा भएको छ ।
साहित्य महोत्सवमा भारतका विभिन्न राज्यमा नेपाली भाषा, साहित्य तथा संस्कृतिको अवस्था, चुनौति र सम्भावनाबारे विशद् चर्चा भएको थियो ।
कस्तो छ नेपाल बाहिरको नेपाली भाषी जीवन ? शिर्षकमा गरिएको अन्तरसंवादमा सहभागी हुदै दार्जिलिङका विन्द्या सुब्बा, असमका मीना सुब्बा, मणिपुरका वसन्ती पौडेल, सिलगुडीका लतिका जोशी र देहरादूनका डाक्टर दिनेश शर्माले विदेशमा नेपाली भाषाको संरक्षण तथा संवद्र्धनका लागि सरकारी तथा निजी क्षेत्रबाट भइरहेका प्रयास, चुनौति र सम्भावनाबारे विश्लेषण गरे ।
कार्यक्रममा देहरादूनका डाक्टर शर्माले भने– भारतको पूर्वोत्तरको तुलनामा पश्चिमोत्तर क्षेत्रमा नेपाली भाषाको अवस्था कमजोर रहेको छ । उनको विश्लेषण छ– स्थानीय भाषाको अधिक प्रभावका कारण नेपाली भाषा ह्रास भइरहेको अवस्था छ । तर, त्यहाका नेपालीले गोर्खाली जातिको पहिचानबाट नेपाली संस्कृति जोगाउने प्रयास भइरहेको छ ।
भारतको पूर्वोत्तर क्षेत्रबाट सहभागी विन्द्या, मीना, वसन्ती र लतिकाको कथन छ– असम, मणिपुर, दार्जिलिङ, सिक्किम, सिलगुडी लगायतका क्षेत्रमा नेपाली भाषा, संस्कृति, साहित्य र कलाको विकासको अवस्था तुलनात्मक रुपमा सन्तोषजनक छ । वक्ताहरूले भारतको आठौं संशोधनमा नेपाली भाषालाई सूचिकृत गर्नु भारतमा नेपाली भाषाको संरक्षण र संवद्र्धनका लागि गतिलो पक्ष भएको चर्चा गरे ।
सो साहित्य सत्रको सहजीकरण सहप्राध्यापक गणेशराज जोशीले गरेका थिए ।
त्यस्तै बिहीबार नै वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य, हास्य कलाकार मनोज गजुरेलले नेपाली साहित्यमा हास्यव्यंग्य विधाको अवस्था, हास्यव्यंग्यको प्रभाव लगायतका पक्षमा विश्लेषण प्रस्तुत गरेका थिए ।
बिहीबार नै प्राध्यापक डाक्डर वासुदेव त्रिपाठी र प्राध्यापक डाक्टर महादेव अवस्थीले नेपाली समालोचनाको दशा र दिशा शिर्षकमा समिक्षा गरे । सो सत्रको सहजीकरण डाक्टर पुष्करराज भट्टले गरेका थिए ।
त्यस्तै, खतरामा छ ः इतिहास र संस्कृति शिर्षकमा प्राध्यापक डाक्टर प्रेमकुमार खत्री र डाक्टर कृष्णराज सर्वहारीले गहन विश्लेषण प्रस्तुत गरेका थिए । भने नेपाली साहित्यमा महाभारतको प्रभाव शिर्षकमा कृष्ण धरावासी र नीलम कार्की “निहारिका” ले छलफलमा भाग लिएका थिए ।
बिहीबार नै गजल गुञ्जन, के भुल भयो प्रिया… शिर्षकमा डाक्टर कृष्णहरि बराल, बू“द राना, श्रेष्ठप्रिया पत्थर तथा प्रकट पंगेनी “शिव” ले भाग लिएका थिए ।
त्यस्तै, बिहीबार बिहान काव्यसभा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार