११ बैशाख २०८१, मंगलवार

विश्व नेपाली साहित्य महोत्सव : अपूर्व अवसर



विश्वभरीका नेपाली भाषी साहित्यकारहरूको सहभागितामा सुदूरपश्चिम प्रदेशको धनगढीमा विश्व नेपाली साहित्य महोत्सव आयोजना हु“दैछ । स्थानीय साहित्यिक स्रष्टाहरूको पहलमा अढाई दशकअघि स्थापना गरिएको सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा यो महोत्सव हुन गइरहेको छ । सुदूरपश्चिम प्रदेश सहित काली–कर्णाली क्षेत्र नेपाली भाषा, साहित्य र संस्कृतिको उद्गमस्थलका रुपमा चिनिएको छ । यही क्षेत्रबाट नेपाली सभ्यता नेपालका अरु क्षेत्रका साथै प्रकारान्तरले विश्वभरी फैलिएको विश्वास गरिएको छ । त्यसैले पनि विश्व नेपाली साहित्य महोत्सवको आयोजना हुने सुदूरपश्चिम प्रदेशको धनगढी वास्तवमै भाग्यमानी बनेको छ भन्नेमा विमति रहदैन । यो महोत्सवमार्फत सुदूरपश्चिम प्रदेश तथा यहाका बासिन्दाले विश्वभरीका नेपाली भाषी साहित्यकार, स्रष्टालाई हार्दिक स्वागत गर्ने सुनौलो अवसर त पाउने नै छन्, संगसंगै यो आयोजनामार्फत सुदूरपश्चिम प्रदेशको अतिथि सत्कारको सुसंस्कृत परम्परा, सभ्यता, मौलिक संस्कृति, रहनसहन, खानपान आदिबारे विश्वभरी चिनाउने मौका पनि बन्नेमा दुइमत रहदैन । त्यसैले यो महोत्सवलाई सुदूरपश्चिम प्रदेशका आम नागरिक, प्रदेश सरकार, स्थानीय सरकारहरू, साहित्यकर्मी, संस्कृति तथा कलाधर्मी, स्रष्टा सबैले सुदूरपश्चिम प्रदेशको विशिष्ट परिचयलाई विश्वभरी स्थापित गर्न आआफ्नो स्थानबाट सत्प्रयास गर्नु पर्दछ ।
कालीकर्णाली क्षेत्रमा आयोजना हुने विश्व साहुने विश्व नेपाली साहित्य महोत्सव आफैंमा एक अपूर्व आयोजना त हो नै, विश्वका विभिन्न देशमा रहेका नेपाली भाषी साहित्यकारलाई एकठाउ“मा जमघट गराउने, नेपाली भाषा, साहित्य र संस्कृतिबारे सघन छलफल गर्ने, नेपाली भाषा र साहित्यको संरक्षण तथा संवद्र्धनका लागि भएगरेका तथा आगामी दिनमा गर्नुपर्ने प्रयासबारे बहस गर्नेदेखि नवप्रतिभाहरूलाई उजागर गर्ने बलियो मञ्च बन्ने छ । यो आयोजना विश्वभरीका नेपाली भाषीहरूबीच भाषिक तथा भावनात्मक एकता सुदृढ बनाउन कोशेढुंगा सावित हुने पनि अपेक्षा गर्न सकिन्छ । भाषा, संस्कृति र साहित्य नै हरेकलाई एकसुत्रमा बाध्ने सबैभन्दा बलियो माध्यम हो भन्ने दोहोराईरहनु पर्दैन । नेपालबाट कुनै पनि कारणले विश्वका कुनै पनि मुलुकमा बसाईसराई गरेका नेपाली भाषीले आफ्नो मौलिक परिचय जोगाई राख्न नेपालका आदिकवि भानुभक्तलाई सधैं जिवन्त राख्ने हरसम्भव प्रयास गरिरहेको देखिन्छ । त्यस्तै, नेपालीको विशिष्ठ पहिरन, भेषभूषा, टोपी, संस्कार र परम्परालाई संरक्षणप्रति निकै गम्भीर तथा संवेदनशील रहेको देखिन्छ । छिमेकी मुलुक भारतले नेपाली भाषालाई प्रमुख भाषाका रुपमा संवैधानिक मान्यता दिएको सन्दर्भमा नेपाली भाषाको विस्तार र महत्वबारे अनुभव गर्न सकिन्छ ।
सुदूरपश्चिमाञ्चल साहित्य समाजले विश्व नेपाली साहित्य महोत्सव आयोजनाको महान बिंडो उठाएर नेपाली भाषा र साहित्यको विकासको इतिहासमा अपूर्व योगदान दिनेछ भन्ने विश्लेषण अत्युक्ति हुदैन । यो सुदूरपश्चिम प्रदेशबासीका लागि जीवनकै महत्वपूर्ण अवसर त हो नै सिंगो नेपाली भाषीहरूका लागि पनि गौरवको आयोजना बन्ने अपेक्षा गर्न सकिन्छ । त्यसका लागि यो महोत्सवको सफल आयोजनाका लागि समाजका सबै पक्ष, प्रदेश तथा स्थानीय र संघीय सरकारका साथै प्रत्येक नागरिकले उत्साहका साथ अग्रसर हुनु पर्दछ । हरेकले यसलाई आफ्नो दायित्वका रुपमा बोध गर्दै यो अभूतपूर्व आयोजनालाई नेपाली भाषा र साहित्यको विकासक्रमको एक अमिट अध्यायका रुपमा स्थापित गर्ने इमान्दार प्रयास गर्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार