स्वाधिनता अखण्डताको पक्षमा लागौ रावल
साँफेबगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावलले शुक्रबार निर्वाचित राष्ट्रिय सभा सदस्यहरुले देशको राष्ट्रियता, स्वाधिनता तथा अखण्डताको पक्षमा लाग्नु पर्ने बताएका छन । अछामको साँफेबगरमा सुदूरपश्चिम प्रदेशबाट निर्वाचित प्रदेश सभा सदस्यलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै नेता रावलले आगामी निर्वाचनमा अझै जनताको विश्वास जित्ने गरेर जनप्रतिनिधिहरुले काम गर्नुपर्ने समेत बताए । नेता रावलले छाउपडी भनेको रजश्वला हुने प्रक्रिया भएको तर महिनावारी भएका बेला गोठमा बस्ने प्रथा गलत भएको चर्चा गर्नुभयो । हामीले गरेको प्रयासले पहिलेको तुलनमा छाउपडी प्रथामा निक्कै सुधार आएको छ उनले भने, “मैले आजभन्दा २२ बर्ष पहिले आफ्नै घरबाट छाउपडी कुप्रथा बिरुद्ध अभियान चलाएको थिए ।” नेकपाका सुदूरपश्चिम प्रदेश कमिटी ईन्चार्ज समेत रहेका नेता रावलले छाउपडी कुप्रथा अन्त्यका लागि आफूले हरेक कार्यक्रममा बोल्ने गरेको, प्रदेश तथा जिल्ला कमिटीका बैठकबाट समेत त्यस्ता अन्धविश्वासको अन्त्य गर्न अभियान चलाउने निर्णय गराएको समेत बताए । कार्यक्रममा नवनिर्वाचित राष्ट्रिय सभा सदस्य तारामान स्वाँरले सुदूर तथा कर्णाली प्रदेशमा कुप्रथाका रुपमा रहेको छाउपडी प्रथालाई अन्त्यका लागि राजनीतिककर्मी, सामाजिक अभियन्ताहरु जिम्मेवार भएर लाग्नु पर्ने आवश्यक्ता औल्याए । अछाम घर स्थायी घर भएका राष्ट्रिय सभाका नवनिर्वाचित स्वाँरको स्वागतमा साँफेबगरमा विजय ¥याली समेत निकालिएको थियो । स्वागत कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी सदस्य तथा नगर इन्चार्ज शिव कुँवरको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा राष्ट्रिय सभा सदस्य तथा नेकपा जिल्ला अध्यक्ष शेरबहादुर कुवँर, नेकपा प्रदेश सदस्य तथा साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुवँर, संविधान सभा सदस्य भरत साउद लगायतले बोलेका थिए ।