सीमा सर्वेक्षण शुरु हुँदै
टकनपुर उत्तराखण्ड, भारत/ नेपाल भारतको संयुक्त सीमा सर्वेक्षण टोलीले कैलाली र कञ्चनपुर जिल्लामा सीमा सर्वेक्षण शुरु गर्ने भएको छ । संयुक्त सीमा सर्वेक्षण टोलीले नक्सा अनुसार दुई जिल्लाका सीमा स्तम्भहरू व्यवस्थित गर्ने भएको छ ।
दुवै देशको सहमतिमा बनेको सीमा क्षेत्रको नक्सा अनुसार नयाँ स्तम्भ राख्ने, मर्मत सम्भार गर्ने काम शुरु हुने जनाइएको छ । सीमा सर्वेक्षण टोलीले विवादित भूभाग समेत पत्ता लगाउने नेपाली सर्वेक्षण टोलीका प्रमुख जनकबहादुर भण्डारीले बताए ।
कैलाली र कञ्चनपुर जिल्लामा एक सय १० मुख्य सहित छ सय ५९ सीमा स्तम्भ रहेका छन् । ती स्तम्भको जोर नम्बरमा भारतीय पक्षले र विजोर नम्बरमा नेपाली पक्षले काम गर्ने जनाइएको छ । कैलाली र कञ्चनपुरमा ७०० देखि ८११ नम्बरसम्मका सीमा स्तम्भ रहेका छन् ।
नेपाली पक्षका सर्वेक्षण टोलीका प्रमुख भण्डारीले भने– कैलालीका ५३ मुख्य सहित २२९ सीमा स्तम्भमध्ये धेरैको काम सीमा सर्वेक्षण टोलीले यसअघि नै पुरा गरेको छ । अझै पनि ती स्तम्भको अवस्था हेरिने छ । उनका अनुसार दुवै देशका सीमा सर्वेक्षण टोलीको सहमतिमा केही दिनमै सीमाको काम थालिने छ ।
सीमा सर्वेक्षण टोलीलाई नेपालको सीमा क्षेत्रका कैलाली र कञ्चनपुर र भारतको चम्पावत, लखिमपुरखिरी, पिलिभित र उद्यमसिंहनगर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको शुक्रबार टनकपुरमा बसेको बैठकले सीमा सम्बन्धी सर्वेक्षणको अनुमति दिएको थियो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सर्वेक्षण टोलीले यसअघि गरेका कामलाई मान्यता दिने र बाँकी रहेका काम गर्ने गरेर अधिकार प्रदान गरिएको बताए । प्रजिअ बोहराले भने– सीमा स्तम्भ सम्वन्धी काम गर्दा कुनै समस्या आए फेरि पनि दुई देशका छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसेर समस्या समाधान गरिने छ ।
भारतको चम्पावतका जिल्लाका प्रमुख एमएम पाण्डेले वर्षायाम शुरु हुनु अघि नै सर्वेक्षण टोलीले सीमाको काम पुरा गर्ने विश्वास व्यक्त गरे । उनले भने– दुवै देशका सर्वेक्षण टोलीलाई काम गर्न कुनै कठिनाई नहोस भन्नका लागि सजगता अपनाइने छ ।
वर्षाअघि काम सकिएन भने अर्को वर्ष समेत सीमाको काम जारी राख्न मिल्ने कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।
बैठकमा नेपालका कैलाली र कञ्चनपुर तथा भारतका चम्पावत, लखिमपुरखिरी, उधमसिंहनगर र पिलभित जिल्लाका डिस्ट्रिक्ट मजिस्टेट (डिएम) सुरक्षा अधिकारी, वन र नापी कार्यालयका प्रमुखको सहभागिता थियो ।
नेपाल र भारतबीचका सीमा सर्वेक्षण गर्न चार वटा टोली परिचालित छन् । ती मध्येको चौथो टोलीले कैलाली र कञ्चनपुर तथा भारतका चम्पावत, लखिमपुर खिरी, उदमसिंहनगर, पिलभितमा काम गरिरहेको छ ।
सो टोलीले नेपालको सुदूरपश्चिमसंग जोडिने भारतको उत्तर प्रदेश र उत्तराखण्डका जिल्लाहरूका सीमामा समेत काम गर्ने अधिकार पाएको छ । तर कालापानी क्षेत्रका बारेमा भने यो टोलीलाई अधिकार दिइएको छैन । कालापानी समस्या उच्च तहबाट हेरिन्छ नेपालका एक अधिकारीले बताए ।