१० श्रावण २०८१, बिहीबार

घोषणा गर्ने, कार्यान्वयन नगर्ने ?



नेपाल भ्रमण वर्ष शुरु भएको दुई साता हुन लागेको छ । सुदूरपश्चिम प्रदेश सरकारले भ्रमण वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशमा उल्लेख्य संख्यामा पर्यटक भित्राउनका लागि विभिन्न कार्यक्रमको घोषणा गरिसकेको छ । प्रदेश सरकार तथा निजी क्षेत्रले भ्रमण वर्षमा सुदूरपश्चिम प्रदेशमा भारतीय पर्यटकलाई मुख्य लक्ष्य बनाएर तदनुरुपका कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिसकेका छन् । प्रदेश सरकारल घोषणा गरेका विभिन्न कार्यक्रमध्ये प्रदेशका विभिन्न सात स्थानमा पर्यटक सूचना केन्द्र स्थापना गर्ने घोषणा गरेको थियो, तर बिडम्बना अहिलेसम्म ती सूचना केन्द्र स्थापनाका लागि कुनै सुरसार नै भएको देखिदैन । भ्रमण वर्ष शुरु हुनुअघि नै ती पर्यटन सूचना केन्द्र स्थापना हुनुपर्नेमा अहिलेसम्म पनि कुनै सुरसार नहुनुले प्रदेश सरकारले नेपाल भ्रमण वर्षलाई कत्तिको महत्व दिएको छ ? भन्ने स्पष्ट हुन्छ ।
नेपाल भ्रमण वर्ष शुरु भएयता कैलाली, कञ्चनपुर लगायतका सिमानाका हु“दै सुदूरपश्चिम प्रदेशमा भारतीय पर्यटक आगमनमा बृद्धि भइरहेको छ । यस वर्ष सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागमा पटकपटक भारी हिमपात भएकोले आन्तरिक तथा बाह्य पर्यटक हिमपात अवलोकन तथा हिउमा खेल्नका लागि ओइरिरहेको अवस्था छ । डोटी र डडेल्धुरा जिल्लामा एक सातायता हिमपातको आनन्द लिनका लागि भारतीय तथा आन्तरिक पर्यटकको भीड लागेको छ । तर, अहिलेसम्म कैलाली र कञ्चनपुरका विभिन्न नाका भएर कति जना भारतीय पर्यटक नेपाल भ्रमणमा भित्रिए भन्ने व्यवस्थित अभिलेख राख्ने व्यवस्था समेत भएको देखिदैन । ट्राफिक प्रहरीले राखेको तथ्यांकका आधारमा पर्यटकको संख्या एकिन गर्नुपर्ने बिडम्बनापूर्ण अवस्था छ । वास्तवमा नेपाल भ्रमण वर्षको तयारीका लागि एक वर्षको अवधिमा थियो । अझ त्यसभन्दा पहिलेदेखि नै नेपाल भ्रमण वर्षको घोषणा भइसकेको थियो । सुदूरपश्चिम प्रदेश सरकारले भ्रमण वर्षलाई प्रदेशको पर्यटन विकासका लागि माइलस्टोन बनाउने आसयका बारम्बार घोषणा त गर्‍यो, तर यसका लागि कहिल्यै पनि गम्भीरतापूर्वक ठोस तयारीका लागि पहल गरेको देखिएन । पर्यटन सूचना केन्द्र स्थापना भ्रमण वर्षको सबैभन्दा प्राथमिक विषय थियो र हो । सुदूरपश्चिम प्रदेशको भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यका बारेमा विस्तृत जानकारी तथा ती गन्तव्यसम्म पुग्ने यातायात, खानेबस्ने, सुरक्षा लगायतका आवश्यक विषयमा जानकारी दिनका लागि सूचना केन्द्रको अहम् भूमिका रहने भए पनि प्रदेश सरकारले यसप्रति अझैं पनि महत्व दिएको पाइदैन ।
सुदूरपश्चिम प्रदेशका लागि नेपाल भ्रमण वर्षलाई साच्चिकै उपलब्धीमुलक बनाउन पर्यटक सूचना केन्द्रको यथासिघ्र स्थापना तथा आवश्यक सूचनाको व्यवस्था गर्नेतर्फ ठोस पहल हुनु जरुरी हुन्छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशका महत्वपूर्ण पर्यटकीय गन्तव्यमा बढिभन्दा बढि पर्यटकको आगमन बृद्धि गर्ने, पर्यटकको बसाई अवधि बढाउने, स्थानीय तहमा पर्यटन उद्यमशीलता अभिबृद्धि गर्ने, बढि सम्भावना भएका पर्यटकीय गन्तव्यबारे व्यापक प्रचारप्रसारको ठोस व्यवस्था गर्ने, लगायतका काम तत्काल अघि बढाउनु आवश्यक छ । प्रदेश सरकारले अहिलेसम्म भ्रमण वर्षका लागि भएगरेका क्रियाकलापको इमान्दारिपूर्वक समिक्षा गर्दैै आगामी दिनका लागि ठोस कार्यक्रम अघि बढाउनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार