११ श्रावण २०८१, शुक्रबार

कागजमा मात्रै पुल निर्माण



सुखड । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ मा रहेको सुनपाल सामुदायिक वन उपभोक्ता समितिले कागजमा मात्रै पुल निर्माण गरेको आरोप लागेको छ ।


सुनपाल सामुदायिक वनले ओजुवा नालामा पुल निर्माणमा २५ लाख रुपैया खर्च गरेको बन समितिको आर्थिक वर्ष २०७५÷२०७६ को आयव्यय उल्लेख छ । तर ओजुवा नालामा अहिलेसम्म पुल निर्माण भएको छैन ।
सामुदायिक वन समितिले वडा नम्बर ७ कम्दा र वडा नम्बर ९ रजिया जोड्ने ओजुवा नालामा पुल निर्माण नै नगरि खर्च भएको आयव्यय विवरण साधारण सभाबाट पारित गरेको दाबी गरिएको छ ।
सो नालामा अहिले पुल निर्माणका लागि पहिलेको काठेपुल भत्काउने कार्य सुरु भएको छ । कोषमा रकम बचत देखिदा राज्यलाई कर तिर्नुपर्ने भएकाले गत आर्थिक वर्ष नै व्ययको भौचर बनाएको बन समितिका अध्यक्ष डिल्लीराज जोशीले साधारण सभामा जानकारी गराएको उपभोक्ताले दाबी गरेका छन् ।
सुनपाल सामुदायिक वन समितिका सचिव शेरबहादुर जेठाराले सो रकमको गत वर्ष नै कर तिरेको दाबी गरे । उनले विभिन्न कारणले रकम खर्च नभएकोले अहिले ओजुवा नाला पुल निर्माणका लागि उपभोक्ता समिति गठन गरिएको बताए । उनले सामुदायिक बनको खातामा सो पुल निर्माणको २५ लाख रुपैया सुरक्षित रहेको बताए ।
सबडिभिजन वन कार्यालय मसुरियाका सहायक वन अधिकृत सच्चिदानन्द सिंहले साुदायिक बनले नियम अनुसारको कर तिर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार