१२ श्रावण २०८१, शनिबार

धनगढीका अधिकांश पसल दर्ता विना सञ्चालनमा



धनगढी/ धनगढी उपमहानगरपालिकाका अधिकांश पसलहरू दर्ता विना सञ्चालन भइरहेको एक अनुगमनले देखाएको छ ।
उपमहानगरपालिकाको बजार अनुगमन शाखाले बुधबार धनगढीको कैलालीपुलदेखि रातोपुल हुँदै बेहडीसम्म ८० वटा पसलको अनुगमन गर्दा ७० पसल स्थानीय तहमा दर्ता नभई सञ्चालन भएको भेटिएको हो । बजार अनुगमन शाखा अधिकृत योगेन्द्रबहादुर चन्दका अनुसार अनुगमनको क्रममा ती पसलहरू अन्य कार्यालयमा दर्ता भए पनि स्थानीय तहमा दर्ता भएका छैनन् ।
उनले वाणिज्य कार्यालय लगायतमा दर्ता भए पनि स्थानीय तहमा अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान रहेको बताए । उनले एक साताभित्रै पसलहरू उपमहानगरपालिका वा वडा कार्यालयमा भई दर्ता गराउन पसल सञ्चालकहरूलाई सूचित गरिएको बताए ।
त्यसैगरी, सुर्तिजन्य पदार्थ नियमन ऐन २०६८ मा सुर्तिजन्य पदार्थको ¥यापरमा ७५ प्रतिशत सन्देशमुलक सामग्री राख्नुपर्ने प्रावधान रहे पनि त्यस्तो नभएको पाइएको अनुगमन शाखा अधिकृत चन्दले बताए । उनले त्यस्तो सामग्री बेचविखन नगर्न व्यवसायीहरूलाई एक हप्ताको समय दिइएको बताए ।
एक हप्ताभित्र त्यस्तो सामाग्री नहटाउने पसललाई कारबाही गरिने बताए । उनले खास गरेर गुट्काहरूको प्याकेटमा ऐन पालना नगरेको पाइएकाले शुक्रबार गुट्का उत्पादन गर्ने उद्योगहरूलाई उपमहानगरपालिकाको कार्यालयमा बोलाएर ऐन पालना गर्न निर्देशन दिइने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार