१२ श्रावण २०८१, शनिबार

भारतीय पक्षको अर्को बलमिच्याई, कालाकुण्डामा तटबन्ध निर्माण कार्यमा हस्तक्षेप



टीकापुर/भारतीय पक्षले फेरि नेपाली भूभागमा बलमिच्याई गरेको छ । भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ७ कालाकुण्डामा मोहना नदीमा तटबन्ध निर्माणमा हस्तक्षेप गरेको छ ।
राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया कुला सिचाईं आयोजनाले मोहना नदीमा निर्माण गरिरहेको तटबन्धमा भारतीय सीमा सुरक्षा बलले बलपूर्वक रोक लगाएको बताइएको छ । भारतीय सीमा सुरक्षा बलले तटबन्ध भइरहेको सो क्षेत्र आफ्नो भएको दाबी गरिरहेको छ ।
रानी जमरा कुलरिया कुला सिंचाईं आयोजनाले सो क्षेत्रमा सात सय ५० मिटर तटबन्ध गर्न रमन स्काई जेभी निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । निर्माण कम्पनीले सो क्षेत्रमा तटबन्ध निर्माण गरिरहेको छ ।
निर्माण कम्पनीका प्रतिनिधि धिरेन्द्र शाहीले भारतीय सीमा सुरक्षा बलले सो क्षेत्र आफ्नो भएको दाबी गर्दै निर्माण कार्यमा रोक लगाएको बताए । भारतीय पक्षले निर्माण कार्यमा बाधा उत्पन्न गरेपछि करिब ५० मिटर क्षेत्रमा निर्माण कार्य प्रभावित भएको उनले बताए । । ‘भारतीय सीमा सुरक्षा बलले हामीलाई तटबन्ध निर्माणमा रोक लगाएको छ’ निर्माण कम्पनीका प्रतिनिधि शाहीले भने– उनीहरूले अहिले सिमाना तोकेका छन् ।
उनले आयोजनाले दिएको नक्सा अनुसार नै निर्माण कार्य भइरहेकोमा एसएसबीले रोक लगाएको बताए ।
टीकापुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामलाल डगौंराथारुले कालाकुण्डा प्रहरी चौकीको ठीक अगाडि मोहना नदीमा निर्माण भइरहेको तटबन्ध भारतीय पक्षले रोकेको पुष्टि गरे ।
वडाध्यक्ष रामलालका अनुसार सो क्षेत्र नेपाल भारत सीमा स्तम्भ नम्बर १०७ देखि १०९ सम्म पर्छ । ‘१०७ नम्बरको पिल्लर नेपालतर्फ छ भने १०९ नम्बरको पिल्लर भारततर्फ पर्छ’ वडाध्यक्ष रामलालले भने– १०८ नम्बर पिल्लर मोहना नदीमा परेका कारण एसएसबीले सो क्षेत्र आफ्नो भन्ने दाबी गरिरहेको छ ।
केही वर्ष पहिले नदीले १०९ नम्बर पिल्लर बगाएको थियो । भारतले १०७ नम्बर पिल्लर र १०९ नम्बर पिल्लरको सिधै आफनो क्षेत्र भएको दावी गरिरहेको छ । भने नेपालले १०८ नम्बर पिल्लरको खोजी गरेर मात्रै सीमा तोक्नुपर्ने दावी गर्दै आएको छ ।
‘स्पष्ट रूपमा सीमाना छुट्याएर मात्रै भारतले निर्माण कार्य रोक्नुपथ्र्याे’ वडाध्यक्ष रामलालले भने– अन्दाजीको भरमा नदी कटानको जोखिममा रहेको क्षेत्रमा बन्न लागेको तटबन्ध रोक्नु उचित हुँदैन ।
रानी, जमरा, कुलरिया सिचाईं आयोजनाका प्रमुख मोहनकुमार शाक्यले भारतीय पक्षले तटबन्ध निर्माणमा रोक लगाएको बताए । ‘निर्माण कम्पनीलाई तटबन्ध निर्माणमा रोक लगाएको हो, जहाँसम्म गर्न मिल्छ निर्माण गर्छौ’ आयोजना प्रमुख शाक्यले भने–सरोकारवाला निकायले सीमा स्पष्ट पारीदिन आवश्यक छ ।
सो क्षेत्रमा लामो समयदेखि मोहना नदीले धार परिवर्तन गर्ने र सीमा स्तम्भ बगाउने गरेका कारण पनि सीमा विवाद हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार