१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेशमा मद्यपान तथा धुम्रपान गर्नेको संख्या अधिक– अध्ययन



शेरबहादुर ऐर/धनगढी । सुदूरपश्चिम प्रदेशमा धुम्रपान तथा मद्यपान सेवनकर्ताहरू देशका अन्य प्रदेशभन्दा तुलनात्मक रुपमा अधिक रहेको एक अध्ययनले देखाएको छ ।
नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको आर्थिक र प्राविधिक सहयोगमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको नेपालमा नसर्ने रोग सम्बन्धि जोखिम तत्वको सर्भेक्षण (स्टेप्स सर्वेक्षण–२०१९) ले सुदूरपश्चिम प्रदेशमा धुम्रपान तथा मद्यपान गर्नेहरूको संख्या अधिक रहेको देखाएको छ ।
नेपालमा धुम्रपान गर्नेको संख्या १७ दशमलव एक प्रतिशत रहेको छ भने सुदूरपश्चिम प्रदेशमा धुम्रपान गर्नेको संख्या २६ दशमलव छ प्रतिशत रहेको छ ।
त्यस्तै, सुर्तिजन्य पदार्थ (धुवा सहित वा धुवारहित) सेवन गर्नेको संख्या नेपालमा २८ दशमलव नौ प्रतिशत रहेको छ भने सुदूरपश्चिम प्रदेशमा यो संख्या ३३ दशमलव आठ प्रतिशत रहेको छ ।
त्यस्तै, नेपालमा मद्यपान गर्नेको संख्या २३ दशमलव नौ प्रतिशत रहेको छ भने सुदूरपश्चिम प्रदेशमा मद्यपान गर्नेको संख्या ३१ दशमलव सात प्रतिशत रहेको अध्ययनमा उल्लेख छ ।
परिषदले आईतबार धनगढीमा प्रदेशमा नसर्ने रोग सम्बन्धि जोखिम तत्वको सर्भेक्षण सार्वजनिक गरेको छ ।
सो अवसरमा परिषदका अनुसन्धान अधिकृत सरोज भट्टले भने– सुदूरपश्चिम प्रदेशमा धुम्रपान, मद्यपान र नुन सेवन गर्नेको संख्या अरु प्रदेशको तुलनामा निकै अधिक रहेको छ । यसले नसर्ने रोगीको संख्या बृद्धि गर्न मद्दत गरिरहेको छ ।
सुदूरपश्चिम प्रदेशमा प्रतिदिन नौ दशमलव एक ग्राम नुन सेवन गर्ने गरेको उल्लेख छ । विश्व स्वास्थ्य संगठनको भने प्रति दिन पा“च ग्रामभन्दा कम नुन सेवन गर्न सुझाव रहेको छ ।
परिषदले १५ देखि ६९ वर्ष उमेर समुहका व्यक्तिहरूलाई लक्षित गरेर सर्वेक्षण गरेको जनाएको छ । फेब्रुअरीदेखि मे २०१९ सम्म गरिएको सर्वेक्षणमा देशभरीबाट पा“च हजार पा“च सय ९३ जना सहभागी रहेका थिए । सो सर्वेक्षणमा सुदूरपश्चिम प्रदेशका ३७ वडाका आठ सय २९ जना सहभागी रहेको जनाइएको छ ।
सो सर्वेक्षण अनुसार प्रदेशमा अत्याधिक मद्यपान सेवन गर्नेको संख्या छ दशमलव नौ प्रतिशत रहेको छ । भने पिउन अयोग्य मानिने मदिरा सेवन गर्नेको संख्या ६० दशमलव नौ प्रतिशत रहेको छ ।
परिषदका अनुसन्धान अधिकृत भट्टले भने– मदिरा, सुर्तिजन्य पदार्थ, धुम्रपान तथा नुन सेवनका आधारमा प्रदेशमा ४० वर्षदेखि ६९ वर्ष उमेर समुहका लागि आगामी १० वर्षभित्र मुटुरोगको जोखिम ३० प्रतिशत बृद्धि हुने देखिन्छ । हाल सुदूरपश्चिम प्रदेशमा मुटुरोगको समस्या भएको जनसंख्या नौ दशमलव आठ प्रतिशत रहेको छ ।
सो सर्वेक्षणले सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशको तुलनामा फलफूल तथा तरकारीको कम सेवन गर्ने गरिएको देखाएको छ । विश्व स्वास्थ्य संगठनले प्रतिदिन प्रतिव्यक्तिले चार सय २० ग्राम तरकारी तथा फलफूल खानु पर्ने मापदण्ड बनाएको छ । तर, सुदूरपश्चिम प्रदेशमा दैनिक एक जनाले औसतमा एक सय २२ ग्राम मात्र फलफूल र तरकारी सेवन गरिरहेको अध्ययनको नतिजाले देखाएको छ ।
त्यस्तै, प्रदेशमा आवश्यक शारीरिक गतिविधि नगर्नेको संख्या अधिक रहेको रहेको छ । अध्ययन अनुसार जम्मा नौ दशमलव चार प्रतिशतले मात्र आवश्यक शारीरिक गतिविधि, अभ्यास गर्ने गरेका छन् ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशमा प्रति एक सय व्यक्तिमध्ये दुई जनामा उच्च रक्तचापको समस्या रहेको पाइएको छ । नेपालमा उच्च रक्तचापका विरामी सबैभन्दा बढि गण्डकी प्रदेशमा रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार