१० श्रावण २०८१, बिहीबार

स्थानीय र प्रदेशका अधिकार संघमा केन्द्रीत गर्ने मानसिकता बढ्यो– पूर्व प्रम प्रचण्ड



धनगढी । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय र प्रदेश सरकारलाई दिएको अधिकार कटौति गरेर संघमा केन्द्रीत गर्ने ट्रेण्ड शुरु भएको बताएका छन् ।


सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार धनगढीमा आयोजना गरेको वित्तीय सम्मेलन उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री दाहालले प्रदेश र स्थानीय तहको अधिकार नजानिदो रुपमा संघमै केन्द्रित गर्ने मानसिकताले आफूलाई छटपटी भइरहेको बताए । उनले संवैधानिक रुपमा स्थानीय र प्रदेश सरकारले पाएका अधिकारलाई संघमै केन्द्रित गरिदा प्रतिगामी तत्वहरुले चलखेल गर्ने मौका पाइरहेको चर्चा गरे ।
उनले पुरानो मानसिकताका कर्मचारीहरुले संघीयता व्यवस्था पचाउन नसक्दा संविधानले प्रदेश र स्थानीय तहमा प्रत्यायोजन गरेको अधिकार प्रदेश र स्थानीय सरकारले नपाएको बताए ।
अध्यक्ष दाहालले जिल्लामा रहेको कार्यालय पनि अर्को जिल्लामा सर्दा नागरिकलाई सेवा पाउन गाह्रो भएको बताए । उनले सबैलाई सहज रुपमा पुग्ने गरी सेवा केन्द्रहरु विस्तार गर्न आवश्यक रहेको बताए ।
विगतमा पछाडि पारिएका प्रदेशलाई विशेषाधिकार, रिजर्भेन वा क्षतिपूर्तिको रुपमा विशेष कार्यक्रम दिएर अगाडि ल्याउनुपर्ने बताए । उनले समान रुपमा कार्यक्रम दिंदा अगाडि बढेको क्षेत्र अगाडि भइरहने र पछाडि परेको क्षेत्र पछाडि भइरहने बताए । सबैलाई समान हैसियतमा पु¥याउन सुदूरपश्चिम र कर्णाली प्रदेश जस्तालाई विशेष कार्यक्रम दिन आवश्यक रहेको उनले बताए । यसका लागि आवाज उठाउन आवश्यक रहेको बताउँदै अध्यक्ष दाहालले पार्टीको तर्फबाट आफूले पहल गरिरहेको जनाए ।
अध्यक्ष दाहालले मुनाफा कमाउने वातावरण नभएपछि कसैले पनि लगानी गर्न नचाहनु स्वाभाविक रहेको बताउँदै लगानीको वातावरण तयार गर्नुपर्ने बताए । पुँजि जहिले पनि ओरालेतिर वग्ने गरेको बताउँदै उनले देशमा लगानीको वातारण नभएका विदेशतिर बग्न सक्ने बताए । उनले नीजि क्षेत्रलाई लगानी गर्न प्रोत्साहन गर्नका लागि समयमा कानुन र सुरक्षाको व्यवस्था गरी नाफा कमाउन सक्ने वातावरण बनाउनुपर्ने बताए । देशभित्रै रहेका बैंक तथा वित्तीय संस्थाहरुको पुँजि देशभित्रै लगानी गर्न वातावरणका लागि समेत पहल गरिने अध्यक्ष दाहालले बताए ।
उनले नेपाल भारत र चिनबीचको त्रिदेशीय व्यापार मार्गको रुपमा गौरीफण्टा–चैनपुर–ताक्ला कोट राजमार्ग बनाउन पहल शुरु भएको बताए । “गौरीफण्टा–चैनपुर–ताक्ला कोट राजमार्ग निर्माणका लागि हाम्रो ध्यान केन्द्रित भएको छ” उनले भने– यसका लागि सरकारले काम शुरु गरिसकेको छ ,
अध्यक्ष दाहालले चीनलाई जोड्ने उरै नाका खोल्नका लागि पनि सरकारले पहल शुरु गरेको बताए । धनगढी–अत्तरिया औद्योगिक करिडोर, सेती लोकमार्ग, महाकाली लोकमार्ग, खुटिया–दिपायल द्रतमार्ग, दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माणका लागि समेत प्रक्रिया शुरु भइरहेको उनले बताए । आफू प्रधानमन्त्री हुँदा अगाडि बढाएको डुडेझाडी र छेला–दैजी विशेष आर्थिक क्षेत्रको काम पनि भइरहेको अध्यक्ष दाहालले बताए । सुदूरपश्चिम प्रदेशबाट लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएकाले उनले आफ्नै कार्यकालमा विशेष आर्थिक क्षेत्र बनाउने विश्वास व्यक्त गर्दै उनले त्यसमा आफूले सहयोग गर्ने प्रतिवद्धता जनाए ।


उद्योग मन्त्री भट्टले हरैया विशेष आर्थिक क्षेत्र हराएको जस्तो भएको बताउँदै मन्त्रालयमा त्यसका फाइल खोजी पुनः अगाडि बढाउने बताए । उनले छेला–दैजी विशेष आर्थिक क्षेत्रको डिपिआरका लागि अध्ययन भइरहेको बताए । डुडेझाडी क्षेत्रका लागि आवेदनहरु परिरहेको बताउँदै उद्योग मन्त्री भट्टले केही महिनामै घोषणा गरिने बताए ।
उनले धनगढी–अत्तरिया औद्योगिक करिडोरलाई यसै वर्ष अगाडि बढाइने बताए । उनले २१ वटा ग्राम तथा नगर उद्योग सञ्चालनका लागि तयारी भएको बताउँदै स्थानीय तहहरुलाई त्यसका लागि डिपिआर बनाएर तत्काल मन्त्रालयमा पठाउन आग्रह गरे । उनले दोस्रो चौमासिकमा बजेट विनियोजन गरिने जनाए ।
उद्योगहरुका लागि विजुली आपूर्तिका लागि पश्चिमसेती जलविद्युत आयोजना तत्काल अगाडि बढाउन आवश्यक रहेको उद्योग मन्त्री भट्टले बताए । दोधारा चाँदनी सख्खा बन्दरगाहको लागि स्थान निर्धारण भइसकेको बताउँदै उनले आफ्नै कार्यकालमा कार्यान्वयन हुने बताए । त्यसका लागि दुई देशीय सचिवहरुको छलफल समेत भइसकेको उद्योग मन्त्री भट्टले जनाए ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले युवाका लागि रोजगारी सृजना गरिने बताए ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले कृषि, उर्जा, पर्यटन र जडिबुटीलाई विशेष प्राथमिकताका साथ अगाडि बढाएको बताए । उनले निजी क्षेत्रलाई सुदूरपश्चिममा लगानी गर्न आग्रह गर्दै उनले लगानीका लागि सुरक्षा, कानुन, सडक लगायतका भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।


नागरिकलाई सेवा दिनुका साथै विकास गर्न पनि आवश्यक रहेको बताउँदै मुख्यमन्त्री भट्टले विकासका लागि वित्तीय आवश्यकता पर्ने बताए । उनले लगानीकर्तालाई उद्योग स्थापना गर्न जमिन पाउन गाह्रो रहेको समेत बताए । लगानीकर्ताका लागि सुरक्षा गर्न प्रदेश प्रहरी गठनको प्रक्रिया अगाडि बढाइने मुख्यमन्त्री भट्टले बताए । उनले शान्ति, सुरक्षा र लगानी भित्र्याउनका लागि नीतिगत रुपमा प्रदेश सरकार अगाडि बढेको बताए ।
मुख्यमन्त्री भट्टले मुलुकमा वित्तीय रुपमा समेत समावेशिता आवश्यक रहेको बताए । उनले संघीय सरकारले न्युन बजेट दिंदा विकासको काम गर्न नसकिरहेको बताउँदै पछाडि पारिएको प्रदेशलाई विशेष रकम उलपब्ध लगाउन आग्रह गरे ।
मुख्यमन्त्री भट्टले परिणाममुखी बजेट खर्च गर्न आवश्यक रहेको बताउँदै कम कर्मचारी र कम संरचना बावजुद पनि सन्तोषजनक खर्च गर्न सफल भएको बताए । उनले योजना आयोग नरहेकै कारण कुनै पनि काम नरोकिएको बताउँदै योजना व्यवस्थित गर्न योजना आयोग समेत गठनको तयारी रहेको बताए ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलले प्रदेश सरकारले आयोजना गरेको वित्तीय सम्मेलनलाई सकारात्मक रुपले लिएको बताए । प्रदेश सरकारले आयोजना गर्न लागेको वित्तीय सम्मेलनमा यो प्रदेशमा लगानी गर्न ईच्छुक लगानीकर्ताहरुलाई कस्ता खालका सुविधा दिन सकिन्छ भन्ने बारेमा प्रदेश सरकार लाग्नु जरुरी रहेको डा. रण बहादुर रावलले बताए ।
‘प्रदेशमा आधुनिक बैंकिङ प्रणाली लागू गर्नको लागि सम्मेलन कोसेढुङ्गा सावित हुने सुदूरपश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयको अठोट रहेको आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बताए । आर्थिक समृद्धिका लागि वित्तीय पहुँच अनिवार्य भएकाले सम्मेलनले बचत परिचालन गरी पूँजी निर्माण गर्ने, सम्भाव्य योजनामा कर्जा लगानी अभिवृद्धि गर्ने, उर्जा क्षेत्रमा लगानीको वातावरण सिर्जना गर्न सहयोग पुग्ने उनले बताए ।
सम्मेलनमा प्रदेश सरकार, बैंक, वित्तीय संस्था, विमा कम्पनी, निजी क्षेत्रबाट कार्यपत्र प्रस्तुत भएका थिए । सम्मेलनले शुक्रबार नै धनगढी घोषणा पत्र जारी गरेको छ ।

उत्कृष्ट बैंक तथा वित्तीय संस्था सम्मानित


आर्थिक मामिला तथा योजना मन्त्रालयले सुदूरपश्चिम प्रदेशमा उत्कृष्ट काम गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई सम्मान गरेको छ ।
मन्त्रालयले सुदूरपश्चिममा पहिलो शाखा स्थापना गर्ने ‘क’ वर्गको बैंक अफ काठमाण्डु, सुदूरपश्चिममा सबै भन्दा बढि शाखा विस्तार गर्ने ‘क’ वर्गको एनआइृसी एसिया बैंक, ‘ख’ वर्गको कञ्चन विकास बैंक, सुदूरपश्चिम प्रदेशको पहिलो महालक्ष्मी विकास बैंक, ‘ग’ वर्गको मञ्जु श्री फाइनान्स, एनआरएन लघुवित्तीय संस्था, नवजीवन सहकारी संस्था, एसिएन लाईफ इन्सुरेन्सलाई सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार