११ श्रावण २०८१, शुक्रबार

पाँच वडाद्वारा युएन हेविट्याटलाई काम गर्न रोक



बाजुरा/ युएन हेविट्याटले बाजुराको एक स्थानीय तहमा कर्मचारी भर्नामा मनोमानी गरेको भन्दै पाँच वडाले काम गर्न रोक लगाउने भएका छन् ।
बडिमालिका नगरपालिकाका लागि सहजकर्ता छनोट गर्दा राजनीतिक आस्थालाई हेरिएको भन्दै नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध पाँच वडाअध्यक्षले कार्यक्रम गर्न नदिने बताएका हुन् ।
संस्थाले यस वर्षदेखि जिल्लाको बडिमालिका र बुढीगंगा नगरपालिकामा पूर्ण सरसफाइ तथा स्वच्छता अभियानमा कार्यक्रम सञ्चालन सम्झौता गरेको छ । कार्यक्रम सञ्चालनका नाममा नेपाली कांग्रेस निकट कार्यकर्ता भर्ति गर्न खोजेको आरोप लगाउदै पाँच वडाअध्यक्षले कार्यक्रम वहिष्कार गर्ने घोषणा गरेका हुन् ।
उक्त कार्यक्रमका लागि नगरपालिकाले लिएको परीक्षामा सहभागी नभएकालाई वैकल्पिकमा राखेको, अन्तर्वार्ता सकिएपछि आफू निकट व्यक्तिलाई पुनः बोलाएर नियुक्ति दिएको जस्ता आरोप वडाध्यक्षहरूले लगाएका छन् ।
बडिमालिका नगरपालिका वडा २, ३, ४, ७ र ९ का वडाध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै संस्थालाई काम गर्न नदिने उल्लेख गरेका छन् ।
वडाअध्यक्षहरू डम्मर महत, वीरबहादुर रावल, धर्मराज पाध्याय, सुरेन्द्र नाथ र विनोद कुमार विकले कार्यक्रम रोक्ने बताउदै अनियमितताका विषयमा जानकारी गराउन प्रेस विज्ञप्ति जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार