४ जेष्ठ २०८१, शुक्रबार

सेती प्रादेशिक अस्पतालका मेसुविरुद्ध अख्तियारमा उजुरी



धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेय विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।


अस्पतालमा कानुन विपरित कर्मचारी राखेको, आवासमा मनोमानी गरेको र आर्थिक अनियमिता गरेको आरोपमा अख्तियारको सुदूरपश्चिम प्रदेश कार्यालयमा छानविनको माग सहित कारबाहीका लागि उजुरी परेको जनाइएको छ । धनगढी उपमहानगरपालिकाका जयराज अवस्थीले मेडिकल सुपरीटेन्डेन्ट डाक्टर पाण्डेय र लेखा अधिकृत मदनसिंह महरा विरुद्धमा गत असोज १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।
उजुरीमा धनगढी बाहिरका डाक्टरहरूका लागि प्रर्याप्त आवास नहुदा भाडाको घरमा बस्नु परेको अवस्थामा मेसु पाण्डेयले सरकारी आवासमा ताला लगाएर आफु निजि निवासमा बस्ने गरेको, मनपरी ढंगले अस्पतालका आवास वितरण गर्ने गरेको, अस्पताल हाताभित्र सञ्चालनमा रहेका नीजि मेडिकलहरूलाई हटाउन पटकपटक ताकेता हुदा समेत आर्थिक प्रलोभनमा परेर नहटाएको तथा आर्थिक अनियमितता गरेको लगायतका आरोप लगाइएको छ ।
उजुरीमा अस्पताल सुदृढीकरण निर्देशिका, २०७६ विपरित आफ्ना नातेदार तथा नजिकका मान्छेहरूलाई कर्मचारीका रुपमा भर्ना गरेको समेत आरोप लगाइएको छ । निर्देशिकामा स्पष्ट रुपमा कर्मचारी नियुक्त गर्दा अस्पताल विकास समितीको निर्णय बमोजिम गर्नुपर्ने उल्लेख गरिएको छ । उजुरीमा डाक्टर पाण्डेयले आमा सुरक्षा कार्यक्रम तथा लेखा अधिकृतमा आफ्ना नातागोतालाई सोझैं भर्ना गरेको दाबी गरिएको छ ।
त्यस्तै, भ्रष्टाचारको आरोपमा सात वर्षसम्म पदबाट निलम्बनमा परेका तथा अपहरणको नाटक गरी आफन्तबाटै १५ लाख रुपैया फिरौती मागेका जगत सिंहलाई स्टोर शाखाको जिम्मा दिइएको उजुरीमा उल्लेख छ ।
त्यस्तै, मसलन्द खरिद तथा छपाई, रंगरोगन तथा मर्मतमा ठूलो रकम हिनामिना गरिएको ३० लाख रुपैयाको खानेपानी योजनामा काम पुरा नह“ुुदै भुक्तानी दिएको पनि आरोप लगाइएको छ ।
अख्तियारमा उजुरी दायर भएकोबारे मेडिकल सुपरीटेन्डेन्ट डाक्टर पाण्डेयले आफूले यसबारे पहिले नै खण्डन गरिसकेको बताए । उनले मेडिकल सुपरिटेन्डेन्टलाई कर्मचारी भर्ना गर्ने अधिकार रहेको बताए ।
उनले अस्पताल हातामा रहेका नीजि मेडिकल हटाउन अस्पतालले ३५ दिने सूचना जारी गरिसकेको बताए ।

प्रदेश स्वास्थ्य निर्देशनालयविरुद्ध अख्तियारमा उजुरी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य निर्देशनालय विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । निर्देशनालयले स्वास्थ्य सामग्री खरिदमा आर्थिक अनियमितता गरेको उजुरीमा दाबी गरिएको छ ।
सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै ८८ वटा स्थानीय तहका लागि विभिन्न स्वास्थ्य उपकरण एव सामग्री खरिदमा अनियमितता भएको दाबी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयमा उजुरी परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रवक्ता टोपबहादुर बिष्टले १२ करोड रुपैया मूल्यका स्वास्थ्य सामग्री खरिदमा १२ करोडका समाग्री खरिदमा अनियमिता भएको भन्दै छानबिनका लागि उजुरी आएको बताए ।
उनले उजुरीमाथि छानबिनका लागि सम्बन्धित कार्यालयबाट कागजपत्र झिकाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार