११ बैशाख २०८१, मंगलवार

धनगढीमा विश्व नेपाली साहित्य महोत्सव आयोजना हुने



धनगढी । आगामी फागुनमा धनगढीमा विश्व नेपाली साहित्य महोत्सव, २०७६ हुने भएको छ ।

नेपाली भाषा, संस्कृतिको उद्गमस्थलका रुपमा रहेको सुदूरपश्चिम प्रदेशको भाषा, साहित्य, कला बाङ्मय, प्राकृतिक सम्पदा सहितका गौरवगाथालाई विश्व सामु परिचित गर्ने लक्ष्यसहित आगामी फागुन ६ गतेदेखि १२ गतेसम्म धनगढीमा विश्व नेपाली साहित्य महोत्सव आयोजना हुने जनाइएको छ ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा हुने साहित्य महोत्सवमा भारत, बर्मा, भूटान, अमेरिका, अष्टे«लिया, क्यानडा, बेलायत, जापान लगायतका मुलुकमा बसोबास गर्ने नेपाल भाषी करिब पाँच सय स्रस्टाहरुको सहभागिता रहने जनाइएको छ ।
विश्व नेपाली साहित्य महोत्सबको तयारी बारे जानकारी दिन तथा सुझाव संकलनका लागि आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक साहित्य समाजका अध्यक्ष रामलाल जोशीले महोत्सवमा राष्ट्रकवि माधव घिमिरे, बाङमय शताब्दी पुरुष सत्यमोहन जोशी, बरिष्ठ कवि बैरागी काइला, डाक्टर ध्रुवचन्द्र गौतम, सरुभक्त, डाक्टर बाशुदेव त्रिपाठी, डाक्टर बानिरा गिरी सहित प्रज्ञा प्रतिष्ठानका कुलपति तथा प्राज्ञहरू र नेपालभरीका सयौं लेखक, कवि साहित्यकारहरूको उपस्थिति रहने बताए ।
महोत्सवमा भारत असमका बरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्री, सिक्किमका पूर्वमुख्यमन्त्री तथा साहित्यकार पवन चामलिङ, डाक्टर पुष्पा शर्मा, डाक्टर कविता लामा, सीपी गिरी, दार्जलिङबाट डाक्टर गीता क्षेत्री, विन्दिया सुब्बा, गुहावटी विश्वविद्यालयका प्राध्यापक डाक्टर खगेन शर्मा, डाक्टर इन्दुप्रभा देवी, अस नेपाली साहित्य सभाका अध्यक्ष दुर्गा खतिवडा, मेघालयका डाक्टर टेकनारायण उपाध्याय, पश्चिम बंगाल विश्वविद्यालका डाक्टर कृष्ण घतानी, सिलगुडीबाट मुक्ति बराल, मिजोरमबाट डाक्टर किङ गुनु घर्ती, बर्माका ठाकुर प्रसाद गुरागाईं सहित विश्वभरीका ३० भन्दा बढी मुलुकका नेपाल भाषि स्रस्टाहरूको उपस्थिति रहने उनले जानकारी दिए ।
महोत्सवमा बरिष्ठ कलाकर्मी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल, करिष्मा मानन्धर, मनिषा कोइराला, नागरिक अगुवा डाक्टर गोविन्द केसी, संविधानविद् डाक्टर भीमार्जुन आचार्य, डाक्टर जयराज आचार्य, डाक्टर भेषबहादुर थापा, डाक्टर रुप खड्का लगायतका बुद्धिजीवी, बरिष्ठ पत्रकारहरूका साथै सयौं लेखक तथा सञ्चारकर्मीको सहभागिता रहने छ ।
विश्व नेपाली साहित्य महोत्सव सफल बनाउन प्राज्ञ यत्रराज उपाध्यायको संयोजकत्वमा एक हजार एक सय ११ सदस्यीय मुल आयोजक समिति गठन गरिएको उहाँले जानकारी दिनु भयो ।
त्यस्तै, साहित्यकार पद्मराज जोशीको संयोजकत्वमा सांस्कृतिक समिति, मदन कुँवरको संयोजकत्वमा अतिथि सत्कार तथा व्यवस्थापन, कलमबहादुर बमको संयोजकत्वमा भोजन तथा आवास व्यवस्थापन, गणेश नेपालीको संयोजकत्वमा अर्थ, बाशुदेव पाण्डेयको संयोजकत्वमा कविता छनौट, श्रेष्ठ प्रिया पत्थरको संयोजकत्वमा गजल छनौट तथा तीर्थराज पाण्डेयको संयोजकत्वमा समन्वय तथा अनुगमन समिति गठन गरिएको छ ।
त्यस्तै, डाक्टर सीपी पाण्डेयको संयोजकत्वमा प्राथमिकत उपचार तथा स्वास्थ्य सेवा, टोपेन्द्र शाहकोृ संयोजकत्वमा युवा विद्यार्थी तथा स्वयंसेवक परिचालन, रुपा स्वारको संयोजकत्वमा स्वागत, मनमोहन स्वारको संयोजकत्वमा सञ्चार तथा महोश्वर पाठकको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ ।
महोत्सव आयोजनामा दुई करोड ४४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजले महोत्सव सफल बनाउन सबैको सहयोगका लागि आग्रह गरेको छ ।

महोत्सव सुदूरपश्चिमलाई विश्वमानचित्रमा स्थापित गर्ने सुअवसर– आयोजक

विश्व नेपाली साहित्य महोत्सव, २०७६ सुदूरपश्चिम प्रदेशको गौरवगाथालाई अझ माथि उठाउन तथा विश्वभरी स्थापित गर्ने सुअवसर भएको आयोजक सुदुरपश्चिमाञ्चल साहित्य समाजले विश्वास व्यक्त गरेको छ ।
“सुदूरपश्चिम (काली, कर्णाली) नेपाली भाषा, कला, संस्कृतिको उद्गमस्थल हो र नेपाली भाषा विश्वभरीका नेपालीको एकताको सुत्र हो” पत्रकार सम्मेलनमा समाजका अध्यक्ष रामलाल जोशीले भने– नेपाली भाषा संसारको एक समृद्ध भाषा हो, तर माउथलोमै हाम्रो भाषा र साहित्यको दृष्टिकोणबाट हामी पुरातन अवस्थामै छौं ।
उनले “हामी हाम्रो भाषा, साहित्य र संस्कृतिप्रति गर्व गर्छौ, तर अरुलाई हाम्रो भाषा र संस्कृतिमा गर्व गर्नसक्ने अवस्था बनाउन सकिरहेका छैनौं” भने ।
कार्यक्रममा मुल आयोजक समिति संयोजक यज्ञराज उपाध्यायले भने– सुदूरपश्चिम भाषा, संस्कृति, कला, लवाईखवाई, रहनसहन, जनजीवन, प्राकृतिक सम्पदाका दृष्टिले सबैभन्दा सुन्दर छ ।
प्राज्ञ उपाध्यायले यो महोत्सव निकै महात्वाकांक्षी आयोजना भएको चर्चा गर्े । भने– यो हामी सबैका लागि साहित्यको महाकुम्भ हो ।
बरिष्ठ पत्रकार चित्राङ्ग थापाले सुदूरपश्चिम संसारको एकान्तकुनाका रुपमा रहेको चर्चा गरे । भने– विश्वभरीका पर्यटकले सुदूर्पश्चिमलाई एकान्त तथा शान्त स्थलका रुपमा लिएका छन् । त्यसैले यसको यो मौलिकतालाई अक्षुण्ण राख्नेतर्फ सधैं संवेदनशील हुनु पर्दछ ।
कार्यक्रममा संचार समिति संयोजक मनमोहन स्वारले विश्व नेपाली साहित्य महोत्सव सुदूरपश्चिमलाई विश्वजगतमा सुन्दर ढंगले स्थापित गर्ने सुअवसर भएको चर्चा गरे ।
कार्यक्रमको सञ्चालन समाजका महासचिव हरिकृष्ण कडायतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार