११ श्रावण २०८१, शुक्रबार

राज्यमन्त्री रावलद्वारा पदबाट राजिनामा



शेरबहादुर ऐर/धनगढी । सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाशबहादुर रावलले आईतबार पदबाट राजीनामा दिएका छन् ।


राज्यमन्त्री रावलले आफुसहित ३६ जना विरुद्ध परेको उजुरीमा छानविन गर्न सहज होस भनेर मुख्यमन्त्री समक्ष राजीनामा पत्र बुझाएको जनाएका छन् ।
राज्यमन्त्री रावलसहित ३६ जनाविरुद्ध कञ्चनपुरको जनज्योती बहुमुखी क्याम्पसको शेयरमा ठगी तथा कागज किर्ते गरेको आरोपसहित गत साउन ७ गते जिल्ला अदालत कञ्चनपुरमा अदालतमा उजुरी दर्ता भएको थियो । विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि दबाबमा आएर उनले राजीनामा दिएको स्रोतले जनाएको छ ।
मुद्दा दर्ता भएको तीन महिना पुगे पनि उनी अदालतमा हाजिर भएका छैनन् । कञ्चनपुर जिल्ला अदालतका अनुसार मुद्दा दर्ता भएको सात÷आठ दिनमै उनलाई पक्राउ पुर्जी जारी गरिएको थियो । ‘पक्राउ पुर्जी जारी भएको महिनौ पुग्दा समेत उनीसहित अधिकांस व्यक्तिहरु अदालतमा उपस्थिति भएका छैनन्’ अदालत स्रोतले भन्यो । सो अभियागमा भोलानाथ शर्मा, नवराज जोशीसहित १२ जना अदालतमा उपस्थित भइसकेका छन् । ‘अदालतमा उपस्थित भएका अधिकांसलाई धरौटीमा र केही साधारण तारेखमा छुटेका छन्’ अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले भने– हाजिर नभएकालाई अदालत उपस्थित गराउन प्रहरीमा पत्राचार गरेका छौं ।
कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दिनेश आचार्यले प्रदेश सभा सदस्य रावलसहित ३६ जनाविरुद्ध अदालतमा उजुरी परेको बताए । उनले भने– अदालतमा उजुरी परेको छ, तर पक्राउ गर भनेर कुनै पत्र आएको छैन । उनले अदालतले स्वयं पनि पक्राउ गरेर उपस्थित गराउन सक्ने बताए ।
अदालतका श्रेष्तेदार अवस्थीले ‘पक्राउ पुर्जी जारी भइसकेपछि अदालतमा उपस्थित नभएसम्मका लागि फरार मानिने’ बताए ।
कञ्चनपुरको जनज्योती बहुमुखी क्याम्पसको १५ करोड ६७ लाख ५० हजार रुपैया“को सेयरको रकममा ठगी र कागज किर्ते गरेको सो आरोपपत्रमा उल्लेख छ । भीमदत्त नगरपालिकाका ताराप्रसाद जोशी समेत गरी १० जनाले राज्यमन्त्री रावल सहितका ३६ जना विरुद्ध ठगी र कागज किर्ते गरेको सम्बन्धी मुद्दा दर्ता गराएका थिए ।
मुद्दा परेका पर्यटन राज्यमन्त्री प्रकाश रावल, क्याम्पस प्रमुख भोलानाथ शर्मा लगायतका २९ जना क्याम्पसका लगानीकर्ता हुन् भने अन्य सात जना अडिटर, वकिल लगायत रहेका छन् ।
कञ्चनपुर अदालतका अनुसार आर्थिक कारोबार गर्दा बैंक प्रणालीबाट गर्नु पर्ने सो नगरेको, मूल्याङकन नै नगरी आफनो सेयर ५५ लाख कायम गरिएको, पुजि“गत लाभ कर चुक्ता नगरेको, किर्ते कागजपत्र बनाएको, झुटो अडिट रिपोर्ट तयार पारी ठगी गरेको, नया“ सेयर सदस्यलाई प्रमाण पत्र नदिएको जस्ता विभिन्न अभियोग मुद्दामा छन् ।

‘अदालतमा उपस्थित हुन्छु’
राजीनामा दिनुअघि अनुमोदनसंगको कुराकानीमा राज्यमन्त्री रावलले आफू अदालतमा हाजिर हुने प्रतिक्रिया दिएका छन् ।
‘मलाई जानकारी नै नगराई म विरुद्ध झुठो उजुरी दर्ता गरियो’ उनले भने– अदालतमा मुद्दा दर्ता भएपछि उपस्थित त हुनै पर्यो । उनले आफुले अहिलेसम्म अदालतबाट उपस्थित हुनका लागि कुनै पनि पत्र नपाएको पनि बताए ।
‘मलाई उपस्थित हुन भनेर अदालतबाट अहिलेसम्म कुनै पनि पत्र आएको छैन । तर, सञ्चारमाध्यममा म फरार रहेको भनेर सूचना संप्रेषण भइरहेको छ’ उनले भने ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ ‘क’ बाट निर्वाचित प्रदेश सभा सदस्य रावल २०७५ असोज २३ गते प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका थिए ।

दुई जनालाई उच्च अदालतमा
कञ्चनपुर जिल्ला अदालतको निर्णयमा चित्त नबुझेको भन्दै सोही मुद्दामा आरोपित दुई जना उच्च अदालत महेन्द्रनगर पुगेका थिए । ठगी तथा किर्ते मुद्दामा आरोपित भोलानाथ शर्मा र नवराज जोशीले जिल्ला अदालतको निर्णय चित्त नबुझेको भन्दै उच्च अदालत पुगेका थिए ।
भोलानाथलाई जिल्ला अदालतले एक लाख रुपैया र नवराजलाई ३१ हजार धरौटीमा तारेखमा छोडेको थियो । उच्च अदालतले भोलानाथलाई जिल्ला अदालतकै निर्णय सदर गरेको थियो भने नवराजलाई २५ हजार रुपैया धरौटी तोकेको थियो ।

को को विरुद्ध उजुरी
राज्यमन्त्री रावलसँगै काठमाडौं महानगरपालिका वडा नम्बर ५ स्थायी घर भएका क्याम्पस सञ्चालक समितिका अध्यक्ष मनोरथ जोशी, कञ्चनपुरको बेलौरी स्थायी घर भएका क्याम्पस प्रमुख भोलानाथ शर्मा सहितका अन्य ३६ जना शेयर सदस्यले कागज किर्ते तथा ठगि गरेको उल्लेख छ ।
त्यस्तै, पाल्पा घर भई काठमाडौं महानगरपालिका वडा नम्बर ११ बस्ने श्रीधर न्यौपाने, काठमाडौ“ नार्गाजुन–२ बस्ने श्यामराज दली, कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर ९ बस्ने अम्बादत्त जोशी, १८ बस्ने ईन्द्रराज बडु, कृष्णबहादुर शाह, धर्मेन्द्र गिरी, विरेन्द्रसिह साउँदलाई पनि सो मुद्दामा आरोपी बनाइएको छ ।
त्यस्तै भीमदत्त नगरपालिका वडा नम्बर १२ बस्ने भवनी प्रसाद पन्त, वडा नम्बर ३ बस्ने खेमलाल घिमिरे, २ बस्ने माधवप्रसाद जोशी, १८ बस्ने माधवदत्त जोशी, ४ बस्ने माधव जोशी, १८ बस्ने रामप्रसाद घिमिरे, ६ बस्ने शंकरदत्त भट्ट, १० सुरेशचन्द्र भट्ट, २ बस्ने शिवदत्त जोशी र वडानम्बर १८ बस्ने हरिराम चौधरी, कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्बर ९ बस्ने हरिसिंह खाती, भीमदत्त नगरपालिका वडा नम्बर ३ बस्ने मुना बम र वडा नम्बर १८ बस्ने उमा जोशी, बैतडीको साविक रिम गाविस वडा नम्बर ९ का केशवदत्त जोशी तथा भीमदत्त नगरपालिका वडा नम्बर ४ का परमानन्द जोशी विरुद्ध पनि मुद्दा दायर भएको छ ।
यसैगरी भीमदत्तन नगरपालिका वडा नम्बर १५ का प्रजापती नेगी, वडा नम्बर ३ का विशाल जोशी, लमजुङको विचौर गाविस १ का मीनप्रसाद दवाडी, कञ्चनपुरको महाकाली नगरपालिका ९ का गजेन्द्रसिह कार्की, भीमदत्त नगरपालिका २ का हजारीसिंह पुजारा, सप्तरीको वनरझुला ७ का नागेन्द्र प्रसाद चौधरी, पर्वतको पकुवा ४ का गंगाधर पौडेल, गुल्मी तमघासका राजेन्द्र थापा, काभ्रे कुसादेवी २ का दिपाकुमारी होमागाई र काठमाडौं महानगरपालिका ७ का सुरेश ओझा विरुद्ध पनि ठगी र कागजात किर्ते गरेको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार