एक हजार क्विन्टल आलुको “पहाड”
लक्ष्मीराज पाध्याय/बाजुरा । बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ७, ढम्कने । आलु भरिएका बोराको चाङ । आलुको पहाड हेर्ने मानिसको भीड । ढम्कनेमा जारी आलु मेलामा आलुको पहाड प्रायः दर्शकको आकर्षण बनेको छ ।
आलुको व्यवसायिक तथा अर्गानिक खेती प्रवद्र्धनका लागि बडिमालिका नगरपालिका वडा नम्बर ७ ढम्कनेमा पहिलो आलु मेला आयोजना भएको छ । स्थानीय उत्पादन आलुको ३२ प्रकारका परिकार तथा आलुको मालामा सजिएका महिलाले मेलालाई झन् आकर्षक बनाएका छन् ।
ढम्कने बाजुरा जिल्लाकै आलु पकेट क्षेत्र मानिन्छ । यहा“का प्रायः परिवारको मुख्य बाली नै आलु मानिन्छ । स्थानीय किसान बसन्त रोकाया भन्छन्– हाम्रो मुख्य उत्पादन नै आलु हो । तर, नजिक बजार छैन । टाढा लग्न समस्या छ । बजार नपाएर ठूलो परिमाणमा आलु कुहिएर जाने गरेको छ ।
ढम्कनेको आलु बिक्रीका लागि नजकिको बजार करिब चार किलोमिटरको पैदल दूरीमा रहेको छ । आलु उत्पादक किसान भन्छन्– बजार नभएर किसानले उत्पादनको उचित मूल्य नै पाउन सकेका छैनन् ।
स्थानीय आलुको बजार प्रवद्र्धनको उद्देश्यले आलु मेलाको आयोजना गरिएको ढम्कनेस्थित कृषि सहकारी संस्थाका अध्यक्ष नरबहादुर रोकायाले बताए । उनले भने– बजार क्षेत्रबाट टाढा रहेको आलु पकेट क्षेत्रमा नै आलु मेला आयोजना गर्दा यसको प्रसारप्रसार सहयोग पुग्ने विश्वास लिएका छौं ।
ढम्कनेमा प्रचुर मात्रामा आलु उत्पादन हुने भए पनि त्यहा“ सिंचाईंको उचित प्रबन्ध छैन । प्रायः जग्गा पाखो छ । स्थानीय लोकेन्द्र रोकायाले भने– सिंचार्ई कुलो नभएकाले आकासे पानीको भर गर्नु परिरहेको छ । छ महिनासम्म जग्गा बाझै हुन्छ । बा“की समयामा आलुखेती हुने गरेको छ ।
स्थानीयका अनुसार ढम्कनेमा कार्तिक महिनामा कोदो, मकै, आलु, फापर, मुला लगायतका बाली भित्राएपछि केहीले मकै बाली लगाउने गरेका छन् । भने फागुनमा आलु खेती गर्ने गरिएको छ । त्यस्तै, केहीले गहुँ बाली लगाउने गरेको भए पनि उत्पादन खासै नहुने भएकाले प्रायः किसानले आलु खेती नै लगाउने गरेका छन् ।
ढम्कने आलु मेला सु्दूरपश्चिम प्रदेशमै पहिलो आयोजना मानिएको छ । कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मिनप्रसाद जोशीले कृषि क्षेत्रको विकासका लागि मेला आयोजना गरेर प्रचारप्रसारमा जोड दिइएको छ ।
वडा नम्बर ७ का अध्यक्ष धर्मराज पाध्यायले आलु उत्पादन क्षेत्र र उत्पादित आलु बजारीकरणका लागि सबैको सुझाव संकलन तथा आलुको पहिचानका लागि मेला आयोजना गरिएको बताए ।
ढम्कनेमा संचालन गरिएको आलु मेला आयोजनामा कृषि ज्ञान केन्द्र बाजुरा, बडिमालिका नगरपालिका तथा क्षेत्रीय कृषि निर्देशनालय दिपायलको सहयोग रहेको छ ।
आलु मेलाको सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनिता चौधरीले उद्घाटन गरेकी थिइन् ।