१० श्रावण २०८१, बिहीबार

गरिमा र सिन्दुरी धान लगाएका किसानको चिन्ता– परिवारलाई के खुवाउने ?



वीरेन्द्र शाह/कात्तिक । यतिवेला किसानहरूलाई मुख्य बालीका रुपमा रहेको धान भित्राउने चटारो छ । बडा दशैं लगत्तै कैलालीमा धान काट्ने, चुट्ने र भित्राउन किसानहरू व्यस्त रहेका छन् । धान भित्राईसकेका किसानहरू अर्को खेतीको लागि तयारीमा जुटेका छन् । तर गरिमा र सिन्दुरी जातको धान लगाएका किसान अब परिवारलाई के खुवाउने ? भन्ने चिन्ताले ग्रस्त छन् ।


गरिमा र सिन्दुरी जातको धानमा बाला नलागे पछि किसानहरूमा भोकमरी चिन्ता बढेको छ । गौरिगंगा नगरपालिका वडा नम्बर ९ का किसान बासुदेब गुरागाईले भने– अब यो धानमा कहिले बाला लाग्ने हो ? धानमा बाला लाग्ला भन्ने आशा नै मरिसक्यो । उनले १२ कठ्ठा जमिनमा सिन्दुरी जातको धान लगाएको बताए ।
उनका अनुसार धान रोपेको केही दिनसम्म धानको बोट रामै्र थियो । तर अहिले धानको डा“ठ पनि कुहिन थालेको छ ।
वडा नम्बर ९ का अर्का किसान भर्थरी चौधरीको दुई बिघा जमिनमा लगाएको धानमा पनि बाला लागेको छैन । धान हरियो छ, कतै कतै धानको डाठमा किरा लाग्न थालेका छन् । उनले आफुले पांच वर्षदेखि गरिमा जातको धान लगाएको बताए । उनले भने– पहिला रामै्र उत्पादन भएको थियो । यो वर्ष पनि रामै्र उत्पादन हुने आशामा धान लगाए, तर नक्कली धान परे छ ।
अधिकांस किसानहरूले लगाएको गरिमा र सिन्दुरी जातको धानमा बाला लागेको छैन । गौरीगंगा नगरपालिकाका अधिकाशं किसानहरूले मसुरीयाको एक एग्रोभेटबाट धानको बिउ खरिद गरी रोपेको बताए ।
गरिमा र सिन्दुरी जातको धानमा बाला नलागे खबर बाहिरिएपछि क्षेत्रीय कृषि निर्देशनालय दिपायल, ज्ञान केन्द्र महेन्द्रनगर र गौरीगंगा नगरपालिकाको टोलीले स्थलगत अनुगमन गरेको छ ।
स्थलगत अनुगमनपछि प्रत्येक वडाबाट पीडित किसानहरूको तथ्याङ्क संकलन गर्ने काम भईरहेको गौरीगंगा नगरपालिका कृषि शाखाका प्रमुख सुमन जोशीले बताए ।
सो धानको २०७२ सालमा नेपाल सरकारले प्रमाणिकरण गरेको थियो । जोशीले उत्पादन कम्पनीले गलत गरेको हुनसक्ने चितवनको नार्कको टोलीको अनुमान रहेको बताए ।
गौरीगंगा नगरपालिकामा ८० हेक्टर जमिनमा गरिमा र सिन्दरी धानमा बाला नलाग्ने समस्या रहेको छ । सबै किसानको तथ्याङ्क संकलनपछि नगरपालिका, क्षेत्रीय कृषि निर्देशनालय दिपायल र ज्ञान केन्द्र महेन्द्रनगरबाट केही मात्रामा भए पनि राहत पाउने कृषि शाखाका प्रमुख जोशीले बताए ।
सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले अझैं पूर्ण तथ्यांक नआए पनि अहिलेसम्मको तथ्यांक अनुसार नौ सय ५२ जना किसानको दुई करोड ४० लाख रुपैया बराबरको क्षती भएको जनाएको छ ।
दुई सय ७२ हेक्टरमा लगाएको गरिमा धानको बीउले उत्पादन नदिएको प्रारम्भिक अध्ययनबाट देखिएको मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले बताए । उनले एकिन क्षतीको विवरण संकलन हुन बाकी रहेकोे बताए ।
मन्त्रालय मातहतको कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीको संयोजकत्वमा तथ्यांक संकलनका लागि समिति गठन भएको थियो । समितिले तथ्यांक मन्त्रालयमा अझै आइनसकेको प्रवक्ता शर्माले बताए ।
प्रदेश सरकारले तथ्यांक संकलनको काम पुरा गरेर संघिय कृषि मन्त्रालयमा क्षतीपूर्तीका लागि सिफारीस गर्ने जनाएको छ ।
संघीय कृषि मन्त्रालय मातहतले क्षतीपुर्तीका लागि सनराईज एग्रीकल्चर प्रालिलाई निर्देशन दिने र क्षतीपुर्ती नदिए कानूनी कारबाही हुने प्रवक्ता शर्माले बताए ।
रेन्वा सिद्ध साईन्स इन्डिया प्रालीले उत्पादन गरेको सो धानको बिउ सनराईज एग्रीकल्चर प्राली दाङले नेपालमा भित्रयाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार