अलपत्र खानी
बैतडी । बैतडीमा रहेका फलाम, फस्फोरस, युरेनियम, सुन, शिलाजित, चुनढुङ्गा, सिसा, स्लेट लगायतका खानीको अध्ययन हुन नसक्दा अलपत्र परेका छन् । संघीय, प्रदेश र स्थानीय सरकारले अझैं पनि यी महत्वपूर्ण खानीको सम्भाव्यता अध्ययनमा चासो दिएका छैनन् ।
विज्ञहरूका अनुसार बैतडीको पुरचौडी नगरपालिकामा फलाम तथा फस्फोरस खानी रहेका छन् । त्यस्तै, दोगडाकेदार गाउँपालिकामा चुनढुंगा र फस्फोरस तथा दशरथचन्द नगरपालिकाको ग्वाल्लेकमा सिसा र मौराभीरमा शिलाजित खानी रहेको विहरूले बताउदै आएका छन् ।
त्यस्तै, सिगास गाउपालिकामा खरीढुङ्गा र स्लेट खानी, डिलासैनी गाउपालिकाको चमेलियामा युरेनियम र सुन तथा शिवनाथ गाउपालिका ढुङ्गा खानी रहेको बताइन्छ ।
पुरचौडी नगरपालिकाको मल्लादेहीको कालीढुङ्गा क्षेत्रमा २० वर्षपहिले स्थानीयले उत्खनन् गरेर फलाम निकालेका सयौं खाडल रहेका छन् ।
खानी बन्द भएपछि फलाम उत्खनन गरेर विभिन्न औजार बनाउने चलन समेत हराएको छ । खानीबाट उत्खनन् गरेर निकालिएको फलामबाट बनेका पुरचौडे भदेला (कराई) अहिले पनि देख्न पाइन्छ ।
चमेलिया नदीमा सुन र यूरेनियम रहेको तत्कालीन जिल्ला विकास समिति बैतडीको एक अध्ययन प्रतिवेदनमा उल्लेख छ । विस्तृत खोज अनुसन्धानका लागि सरकारलाई आग्रह गरिएको भए पनि अहिलेसम्म अध्ययन हुन सकेको छैन ।
पुरचौडीको मल्लादेहीमा फलाम निकाल्न प्रयोग भएका चार सय बढी फलाम खानीका खाडल अहिले पनि देख्न सकिन्छ । २० मिटर जति गहिरो फलाम उत्खनन् गरिएका खाडल अहिले घासले भरिएका छन् ।
बैतडीको फलाम खानीका विषयमा अध्ययन गर्न तीन वर्षअघि खानी तथा भू–गर्भविद् सन्तोष ढकाल नेतृत्वको टोली बैतडीको मल्लादेहि पुगेको थियो । खानीको प्रारम्भीक अध्ययनपछि बैतडीमा फलाम खानीको राम्रो संभावना भएको अध्ययन टोलीको निश्कर्ष थियो ।
दोगडाकेदार गाउपालिका र पुरचौडीमा रहेको फस्फोरस खानीको प्रारम्भीक अध्ययन गर्न खानी तथा भूगर्भ विभागका ईन्जिनियर असिमबाबु श्रेष्ठ बैतडी पुगेका छन् ।