१२ श्रावण २०८१, शनिबार

सिमा विवाद ः नेपाली किसानले अझै आफ्नो जमिन उपभोग गर्न पाएनन्



मुकेश टेंर्रा/पुनर्बास । कञ्चनपुरको पुनर्वास नगरपालिकासंग जोडिएको नेपाल भारत सीमा विवादका कारण नेपाली किसानले अझै पनि आफ्नो जमिन उपभोग गर्न पाएका छैनन् ।


पुनर्वास नगरपालिकाको वडा नम्बर ९ का किसानहरूको सयौं बिघा जमिन सिमा विवादका कारण वर्षौदेखि बाझो अवस्थामा रहेको छ ।
नेपाल भारत सीमानामा रहेका १५४ देखि १९५ नम्बर पिलरसम्मको जमिनमा लामो समयदेखि विवाद रहेको छ । सिमावर्ती गाउ“वस्तीका नेपालीले भारतीय पक्षबाट नेपाली भूमि अतिक्रमण गरी सडक तथा नाली सहितका संरचना निर्माण गर्न थालेपछि चर्को विरोध गर्ने क्रममा भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले गोली चलाउदा आनन्दबजारमा २०७३ फागुन २६ गते गोविन्द गौतमको ज्यान गएको थियो ।
स्थानीय कुवेर नाथले सीमाजाँचका लागि सर्भे टोली आउने आशामा रहे पनि वर्षौ विते पनि अझैं सर्भे नभएको बताए । उनले भने– दुई पटक सर्भे टोली आएको सुनियो, तर पुनर्बासमा सर्भे गर्न कोही पनि आएनन् ।
सीमा विवाद कायम रहेकाले भारतीय सुरक्षा बल (एसएसबी) ले नेपालीहरूलाई आफ्नो भूभागमा जंगली जनावार रोक्न विद्युतीय तारवार गर्न समेत अवरोध गर्दै आएको छ । सिमानामा विद्युतीय तारवार नभएकाले भारतको दुधवा नेशनल पार्कबाट आएका हात्ती, बँदेल लगायतका जंगली जनवारले हरेक वर्ष बालीनालीमा व्यापक क्षती गर्दै आएका छन् ।


पुनर्वास नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नारायणप्रसाद जैशीले सीमा क्षेत्रमा विद्युतीय तारवार लगाउन गाडेका खम्बा समेत एसएसबीले उखेलेर फलिदिएको बताए । उनले तारवार गर्न नपाएपछि हात्ती, बंदेल, बांदर, दुम्सीले धान तथा गहुबाली नष्ट गर्ने गरेको बताए ।
वडाध्यक्ष जैशीले भारतले नेपालको करिब ५० मिटर भित्रसम्मको भूभाग आफ्नो कब्जामा राखेको बताए । भारतले कब्जा गरेको जमीन नेपालीहरुको नाममा लालपुर्जा भए पनि उनीहरूले उपभोग गर्न पाएका छैनन् । उनले १९४ देखि १९५ नम्बरको पिलरसम्मको एक किलोमिटर सीमानामा नेपाली जमीन भारतीय पक्षले कब्जा गरेको दाबी गरे ।
स्थानीयका अनुुसार पुनर्बास नगरपालिकाको वडा नम्बर ८ र ९ नम्बरका बासिन्दाले आफ्नो जमीनमा खेती गर्न पाएका छैनन् ।

प्याराताल पनि भारतीयको कब्जामा


भारतीय पक्षले नेपाली भूभागमा रहेको प्याराताल पनि कब्जा गरेको छ । पांच किलोमिटर लम्बाई र ५० देखि एक सय मिटरको चौडाईको प्याराताल दशगजा क्षेत्रभन्दा भित्र नेपालतिर रहेको भए पनि भारतीय सीमा सुरक्षा बलले तालमा पालेको माछामा आधा हिस्सा लिने गरेको वडाध्यक्ष जैशीले बताए ।
सो तालमा भारतीय पक्षले माछा पाल्न ठेक्का नलाए पनि पुनर्वास नगरपालिकाबाट ठेक्का पाएका ठेकदारबाट नगरपालिकामा बुझाउने रकमको आधा भाग समेत लिने गरेको स्थानीय बासिन्दाहरुले बताए । स्थानीयका अनुसार प्यारातालमा माछा मार्न समेत भारतीय पक्षबाट अनुमति लिनुपर्ने अवस्था रहेको छ ।
वडाध्यक्ष जैशीका अनुसार प्यारातालमा माछापालनका लागि पुनर्वास नगरपालिकाले गत वर्ष २६ हजार रुपैया“मा ठेक्का लगाएको थियो । यस वर्ष ५९ हजार रुपैयांमा ठेक्का लगाएको छ । भारतीय पक्षले हस्तक्षेप गर्ने गरेकाले पनि प्यारातालमा माछा व्यवसायीले ठेक्का लिन नमान्ने भएकाले सस्तो दरमा ठेक्का दिनुपरेको उनले बताए ।
प्राकृतिक रुपमा पानीको मुहान रहेको प्यारातालमा सधैभरि एक नासको पानी रहने गरेको वडा सदस्य आरती नेपालीले बताइन् । उनले मुलबाट पानी आउने हुनाले प्यारातालको पानी गर्मीमा चिसो र जाडोमा तातो हुने गरेको बताइन् । उनले भारतले दुधवा नेशनल पार्कका जनावरलाई पानी खाने स्थान बनाउनका लागि पनि प्यारा ताललाई कब्जा गर्न खोजेको बताइन् ।
वडाध्यक्ष जैशीले प्याराताल आफ्नो भन्दै भारतीय सीमा प्रहरीहरुले तालमा भन्दा ५० मिटर भित्रसम्मको नेपाली जमीन कब्जा गर्न खोजेको आरोप लगाइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार