१ जेष्ठ २०८१, मंगलवार

डेंगु र स्क्रब टाईफसले भयावह रुप लिंदै



धनगढी । सुदूरपश्चिम प्रदेशमा डेंगु र स्क्रब टाईफसको संक्रमण भयावह बन्दै गएको छ । प्रदेशका बाजुराबाहेक अरु सबै आठ जिल्लामा डेंगुको संक्रमण देखिएको छ भने अछाम र बाजुराबाहेक अरु जिल्लामा स्क्रबटाइफस देखिएको छ ।


सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जारी गरेको जानकारी अनुसार आइतबारसम्म सुदूरपश्चिम प्रदेशमा ४५ जनामा डेंगु र ७४ जनामा स्क्रब टाईफस देखापरेको छ ।
सुदूरपश्चिम प्रदेशमा शनिबारसम्म स्क्रब टाइफसका विरामी ५३ जना थिए भने यो संख्या २१ जनाले बढेर आइतबार ७४ जना स्क्रब टाइफसका विरामी पुगेका छन् ।
मन्त्रालयका अनुसार कैलालीमा २०, कञ्चनपुरमा आठ, दार्चुलामा आठ, डोटीमा दुई, डडेल्धुरामा तीन, बझाङमा एक, बैतडीमा एक र अछाममा दुई जनालाई डेंगुको संक्रमण भएको छ ।
त्यसैगरी, डडेल्धुरामा ३५, बैतडीमा ११, कैलालीमा १९, डोटीमा तीन तथा कञ्चनपुर, दार्चुला र बझाङमा दुई÷दुई जनामा स्क्रब टाईफस देखिएको छ ।
डेंगुबाट डोटीका एक जनाको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको भने धनगढीमा स्क्रबटाईफसबाट एक जनाको मृत्यु भएको छ ।
यसैबीच, मानव अधिकार संरक्षण मञ्च (मासम) ले सरकारले डेंगु तथा स्क्रबटाइफस रोकथामका लागि गम्भीरता देखाउन नसकेको आरोप लगाएको छ ।
मासमका सु्दूरपश्चिम प्रदेश अध्यक्ष डिल्लीराज जोशीले शनिबार एक विज्ञप्ती जारी गर्दै तत्काल आवश्यक सबै उपाय अवलम्बन गरी नागरिकको जीउज्यानको रक्षार्थ संवेदनशील भई निःशूल्क तथा सहजरुपमा स्वस्थ्य परीक्षण, उपचार र औषधिको ब्यबस्था गर्न माग गरेका छन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले डेंगु नियन्त्रणको लागि औषधि छर्किने, पानी जम्ने ठाउ“मा लामखुट्टे नष्ट गर्ने, अस्पतालहरूमा ज्वरो आएका बिरामीलाई छुट्टै राखेर उपचार गर्न ज्वरो क्लिनिक सञ्चालन र भारतीय सीमानाकाहरूमा स्वास्थ्य परीक्षण डेस्क राखेर महामारी नियन्त्रणको काम भइरहेको जनाएको छ ।


मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले स्थानीय तहहरूसंगको समन्वयमा औषधि छर्किने र सफा पानी जम्ने ठाउ“ खोजेर नष्ट गर्ने अभियान सञ्चालन भइरहेको बताए । उनले सफा पानी जम्ने ठाउ“ खोजेर नष्ट गर्ने अभियानमा स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको बताए ।
उनले ज्वरो आउने व्यक्तिलाई छुट्टै राखेर उपचार गर्न अस्पतालहरूमा ज्वरो क्लिनिक सञ्चालनका लागि समेत अस्पतालहरूलाई परिपत्र भइसकेको जानकारी दिए ।
त्यस्तै, भारतीय सीमानाकाहरू त्रिनगर, गड्डाचौकी र खक्रौलामा स्वास्थ्य परीक्षण डेस्क राखेर स्वास्थ्य परीक्षणका लागि सम्बन्धित स्थानीय तहलाई पत्रचार भइसकेको बताए ।
धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा अधिकृत कुम्भ शर्माले दुई महिनादेखि बन्द गरेको त्रिनगर भन्सार नाकामा राखिएको हेल्थ डेस्क आइतबारदेखि पुनः सञ्चालनमा आएको बताए । उनले डेस्कमा खटाइएका स्वास्थ्यकर्मी तालीममा गएपछि बन्द भएको र पुनः सोही स्वास्थ्यकर्मीलाई डेस्कमा पठाएर आइतबारबाट पुनः भारतबाट नेपाल आउनेहरूको स्वास्थ्य परीक्षण गर्न थालेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार