सम्पदाकीय : बढी सम्भावना भएका पर्यटकीय गन्तव्यमा ध्यान देऊ
नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष२०२० आउन साढे तीन महिनामात्रै बाँकी छ । सरकारले भ्रमण वर्षलाई लक्षित गरी शुरुमा एक सय र पछि दुई दर्जन बढी गन्तव्य पहिचान गरी तदनुरुपको तयारी गरेको बताउदै आएको छ । भिजिट नेपाल सचिवालयले सुदूरपश्चिम प्रदेशमा खप्तड–रामारोशन–बडिमालिका सांस्कृतिक ट्रेकिङ तथा कर्णाली र्याफ्टिङलाई प्रमुख गन्तव्यका रुपमा राखेको छ । यद्यपि सुदूरपश्चिम प्रदेशमा अन्य थुप्रै सम्भाव्य गन्तव्य रहेका छन्, तर सचिवालयले राखेका यी दुई गन्तव्यमा केन्द्रीत भएर कार्यक्रम सञ्चालन गरिनु बढी फलदायी हुने देखिएको छ । नेपाल सरकारले नेपाल भ्रमण वर्षमा बीस लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ । भ्रमण वर्षलाई उपलब्धीमुलक बनाउन सबै सात प्रदेशमा प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समिति गठन भइसकेका छन् । सुदूरपश्चिम प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समिति गठन भएलगत्तै विभिन्न पक्षबाट व्यापक असन्तुष्टि व्यक्त भएपछि अहिले पुनर्गठन गर्दै समितिलाई पूर्णता दिने प्रक्रिया अघि बढाइएको अवस्था छ ।
मुख्य सवाल नेपाल भ्रमण वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशको पर्यटन क्षेत्रको कुन तहसम्म प्रवद्र्धन गर्ने र फलदायी बनाउने भन्ने नै हो । दुर्भाग्यले अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा नेपाल भ्रमण वर्षका लागि ठोस योजना र कार्यक्रम तर्जुमा हुनसकेको देखिदैन । पर्यटन प्रवद्र्धन समिति गठनमा नै व्यापक असन्तुष्टि व्यक्त भएको सन्दर्भमा नेपाल भ्रमण वर्षले सुदूरपश्चिम प्रदेशमा पर्यटन विकासका लागि अझ बढि चुनौति रहेको स्पष्ट हुन्छ । त्यसै पनि सुदूरपश्चिम प्रदेश पर्यटन विकासका क्षेत्रमा का“चो छ । खप्तड–रामारोशन–बडीमालिका पैदल यात्रा प्रदेशको सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य हो भन्नेमा विमति रहनै सक्दैन । त्यस्तै, कर्णालीमा जलयात्रा अर्को आकर्षण गन्तव्य हो । तर, अहिलेसम्म खप्तड–रामारोशन–बडिमालिका पैदल यात्राका लागि आवश्यक पूर्वाधार निर्माण हुनसकेको देखिदैन । न त सुदूरपश्चिममा पर्यटक भित्राउन र पर्यटकहरूको सुदूरपश्चिम बसाई लम्ब्याउन कुनै ठोस रणनीति र कार्यक्रम समेत बनेको देखिदैन । भाषण र गफगाफका भरमा पर्यटक आगमन हुने कुरा फगत कोरा कल्पना मात्रै हो भन्ने दोहोराईरहनु पर्दैन ।
भ्रमण वर्षलाई लक्षित गरी अहिले सुदूरपश्चिम प्रदेशका पहिचान गरिएका यी दुई गन्तव्यमा नै बढी ध्यान केन्द्रित गर्ने र बढीभन्दा बढी पर्यटक भित्राउन प्रभावकारी कार्यक्रम तथा योजना, प्याकेज बनाउने र व्यापक प्रचारप्रसार गर्नेतर्फ ध्यान केन्द्रीत गरिनु आवश्यक हुन्छ । त्यस्तै, कोरा महत्वाकांक्षाका आधारमा नभएर वस्तुगत आधारमा सुदूरपश्चिममा आउन सक्ने पर्यटकको समेत पहिचान गरेर कार्यक्रम तर्जुमा गरिनु फलदायी हुने छ भन्ने पनि बोध गरिनु पर्दछ । हामीसंग भएका पुर्वाधारको अधिकतम उपयोग गर्ने तथा छोटो समयमा निर्माण हुनसक्ने पूर्वाधार निर्माणलाई तत्काल अघि बढाउनेतर्फ पनि ध्यान दिनु आवश्यक छ । खासगरी यी दुई प्रमुख पर्यटकीय गन्तव्यमा केन्द्रीत भएर संघ र प्रदेश सरकार तथा स्थानीय तहका साथै निजी क्षेत्रको सहभागिता छिट्टै रणनीतिक बैठक गर्ने र ठोस योजना बनाएर अभियानका रुपमा लागू गर्नेतर्फ पहल गरिनु आवश्यक छ ।