४ जेष्ठ २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेशमा विद्युत : डेढ वर्षमा ७० मेगावाट थपिदै



मुकेश टेंर्रा/धनगढी । सुदूरपश्चिम प्रदेश आउँदो डेढ वर्षमा जलविद्युतमा आत्मनिर्भर हुने देखिएको छ । संघीय जलस्राेत, उर्जा तथा सिंचाईं मन्त्रालय अन्तर्गतको विद्युत विकास विभाग र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपाल, (इपान) को प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माणाधीन कालंगा बेसिनका तीन जलविद्युत आयोजनाको निर्माण कार्य आगामी डेढ वर्षभित्र पुरा हुँदैछ भने कैलालीको कर्णाली नदीको रानी जमरा कुलरिया सिंचाईं आयोजना अन्तर्गत बनिरहेको विद्युत आयोजनाबाट एक वर्षभित्र विद्युत उत्पादन हुँदैछ ।


आगामी डेढ वर्षको अवधिमा बझाङको कालंगा बेसिनको ३८ दशमलव ४६ मेगावाटको अपर कालांगा, १५ दशमलव ३३ मेगावाटको कालंगा र १० दशमलव ७० मेगावाटको सानीगाड जलविद्युत आयोजना समेत गरी ६४ दशमलव ४९ मेगावाट जलविद्युत उत्पादन शुरु हुने जनाइएको छ ।
यी तीन जलविद्युत आयोजनाबाट विद्युत उत्पादन भएसंगै सुदूरपश्चिम प्रदेश जलविद्युतमा पूर्ण रुपमा आत्मनिर्भर भएर अरु प्रदेशलाई समेत विद्युत आपूर्ति गर्न सक्षम हुने पनि जनाइएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा ६५ मेगावाट विद्युतको माग रहेको छ । प्रदेशको विद्युत विस्तार नभएको क्षेत्रमा समेत विद्युत विस्तार गर्दा कुल विद्युत माग पाँच मेगावाट मात्रै बढ्ने नेपाल विद्युत प्राधिकरण, प्रादेशिक निर्देशनालय अत्तरियाका निर्देशक सतिशकुमार कर्णले बताए । उनले सुदूरपश्चिम प्रदेशको सबै वस्तीमा विद्युत विस्तारपछि यहाँको कुल माग ७० मेगावाट पुग्ने अनुमान गरिएको बताए ।
हाल सुदूरपश्चिम प्रदेशमा ४२ मेगावाट विद्युत उत्पादन भइरहेको छ । बझाङका तीन आयोजनाबाट विद्युत उत्पादन शुरु भएपछि सुदूरपश्चिमको विद्युत उत्पादन एक सय छ मेगावाट पुग्ने छ । आउँदो एक वर्षभित्र राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिंचाईं आयोजनाबाट उत्पादन हुने चार दशमलव ७१ मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा जोडिने छ । यससंगै सुदूरपश्चिम प्रदेशको जलविद्युत उत्पादन आगामी डेढ वर्षभित्र एक सय ११ मेगावाट पुग्ने जनाइएको छ ।
सुदूरपश्चिम प्रदेशको माग अनुसारको विद्युत आपूर्ति भएर बाँकी रहेको ४१ मेगावाट जलविद्युत राष्ट्रिय प्रसारणमा जोडेर अरु प्रदेशमा सप्लाई हुने जनाइएको छ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का महासचिव आशिष गर्गले सुदूरपश्चिम प्रदेशको जलविद्युत खपत क्षमता निकै कम भएकाले बाँकी जलविद्युत राष्ट्रिय ग्रिडबाट अन्य प्रदेशमा सप्लाई हुने बताए ।
विद्युत विकास विभागबाट २०७२ चैत १४ गते निर्माण अनुमति पाएको प्रवद्र्धकले बझाङका तीन वटै आयोजनाको निर्माण कार्य एकसाथ अगाडि बढाएको छ । कालंगा गाड जलविद्युत आयोजनाका निर्देशक वीरेन्द्र मल्लले यी आयोजनाको काम समग्रमा ७० प्रतिशत पुरा भइसकेको बताए । उनले पाँच/छ महिनाको अन्तरालमा यी तीन वटै आयोजनाको निर्माण कार्य पुरा भएपछि एउटै प्रसारण लाईनबाट विद्युत प्रसारण गर्नुपर्ने भएकाले उत्पादन पनि एकसाथ गरिने बताए ।
यी तीन वटै विद्युत आयोजनाका प्रवद्र्धक समूह एउटै भए पनि छुट्टाछुट्टै तीन वटा कम्पनी स्थापना गरी जलविद्युत आयोजना निर्माण गरिरहेका छन् । सानीगाड हाइड्रो प्रालिले अपर कालंगा, कालंगा हाइड्रो प्रालिले कालंगा र बुंगल हाइड्रो प्रालिले सानीगाड जलविद्युत आयोजना निर्माण गरिरहेका छन् ।
कालंगा जलविद्युत आयोजनाका अधिकारी पुष्प चित्रकारले अपर कालंगाको ५४, कालंगाको ६५ र अपर सानीगाडको ४५ प्रतिशत निर्माण कार्य पुरा भइसकेको बताए ।
उनका अनुसार अपर कालंगा आयोजनामा छ अर्ब ३२ करोड १६ लाख ४० हजार, कालंगा आयोजनामा दुई अर्ब ८० करोड र सानीगाड आयोजनामा एक अर्ब ८१ करोड ५० लाख रुपैयाँको लागत अनुमान गरिएको छ ।
जम्मा १० अर्ब ९३ करोड ६६ लाख ४० हजार रुपैयाँ लगानी हुने यी तीन आयोजनामा ७० प्रतिशत निजी क्षेत्र, २० प्रतिशत नागरिक र १० प्रतिशत स्थानीय नागरिकको शेयर लगानी रहेको उनले बताए । उनका अनु्सार पाँच वर्षभित्र निर्माण कार्य पुरा गरेर व्यवसायिक उत्पादन शुरु गरेको कम्पनीले ३० वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ ।
यसका साथै, आउँदो दुई वर्षमा बझाङको एक मेगावाटको जिउली गाड, दार्चुलाको १० मेगावाटको मकारीगाड, एक मेगावाटको नौगाड, आठ मेगावाटको अपर नौगाड र डोटीको डेढ मेगावाटको गड्डीगाड जलविद्युत आयोजना पनि तिब्र गतिमा निर्माण भइरहेको इपानका महासचिव गर्गले बताए । उनले विद्युत खरिद सम्झौता (पिपिए) गरी बझाङको एक मेगावाटको जडारीगाड र ११ मेगावाटको सानीगाड तथा दार्चुलाको एक मेगावाटको नौगाड र ४० मेगावाटको अपर चमेलिया निर्माणको तयारीमा रहेको बताए ।
विद्युत विकास विभागका उपमहानिर्देशक मनदेवी श्रेष्ठले सुदूरपश्चिम प्रदेशमा एक सय ७४ मेगावाटका आठ आयोजनाहरू निर्माणका लागि नीजि क्षेत्रलाई अनुमति दिइएको बताइन् ।
उपमहानिर्देशक श्रेष्ठले चार हजार एक सय १२ मेगावाट क्षमताका १६ वटा जलविद्युत आयोजनाहरूको सर्भेक्षण भइरहेको बताइन् । निर्माण भइरहेका र पिपिए भई निर्माणको तयारीमा रहेका आयोजनाहरूको निर्माण पुरा भएर उत्पादन शुरु भएपछि सुदूरपश्चिम प्रदेश पनि अन्य प्रदेशको तुलनामा जलविद्युत उत्पादनमा समकक्षी हुने जलस्रोत, उर्जा तथा सिंचाई मन्त्रालयका सिनियर डिभिजनल ईन्जिनियर गोकर्णराज पन्थले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार