२० बैशाख २०८१, बिहीबार

धानमा लाग्ने किरा धपाउन “हरेरी”



धनगढी । वर्षे बाली धानमा किरा लाग्नु स्वाभाविक हो । पश्चिम नेपालका थारु समुदायमा यी किराहरूलाई धपाउन आफ्नै मौलिक प्रचन छ ।


सुदूरपश्चिम प्रदेश र ५ नम्बर प्रदेशका तराईका जिल्लामा बसोबास गर्ने थारु समुदायले हरेक वर्ष भदौ महिनामा “हरेरी” पुजा गरेर धानमा लाग्ने गुभिया, गाँधी, फट्यांग्रा लगायतका किरा धपाउन सो पुजा गर्ने गरेका छन् । प्रत्येक गाउँमा आफ्नै अनुकुलमा सो पुजा गर्ने गरिएको छ ।
धनगढी हसनपुरका देशबन्ध्या गुर्वा मोतीराम चौधरीका अनुसार सात मुखे दियालोमा बत्ति बालेर मुरहा, सुच्चा, पाँच पाण्डव, जोगेठ्वा, रक्सा, कालिका, पूर्वेनी भवानी, बघेस्री, राज रजवार र जम्जुट्वा गरी १० देउताको पूजा गरिन्छ । यसरी पुजा शुरु गरेको रातभर थारु समुदायका प्रत्येक घरका किसानले भल्मन्साको घरमा दियालो बालेर जाग्राम बस्छन् । पुजा गर्न प्रयोग गरेको दुध भोलि पल्ट खेतभरि छर्किन्छन् । यसरी पुजा गर्दा धान बालीमा किरा नलाग्ने विश्वास छ ।


यही पुजालाई धनगढीमा महोत्सवको रुपमा मनाउने क्रम बढेको छ । धनगढी वडा नम्बर ५, जाईंका किसानहरूले सोमबारदेखि गाउँको देउथानमा महोत्सव लगाएका छन् । उनीहरूले विगत केही वर्षदेखि त्यहाँ महोत्सव आयोजना गर्दै आएका छन् ।
चार दिनसम्म चल्ने महोत्सवमा थारु समुदायको पहिचान झल्किने नाच, गीत, खानाका परिकार, पोषाक, गहना लगायतको प्रस्तुती हुने हरेरी महोत्सव मूल आयोजक समितिका संयोजक तथा जाईं गाउ“का भल्मन्सा कुलविर चौधरीले बताए ।
जाईंमा सोमबारदेखि शुरु भएको हरेरी महोत्सव उद्घाटन गर्दै संघीय सांसद नारदमुनी रानाले टीकापुरमा हुने थरुहट सम्मेलनले सामाजिक एकता र सामाजिक सद्भावको सन्देश दिने बताए । उनले भदौं ७, ८ र ९ गते हुन गइरहेको थरुहट सम्मेलनले सामाजिक एकता र सामाजिक सद्भाव कायम गर्ने विश्वास लिएको बताएका हुन् ।


सांसद रानाले समाज र देश बनाउनका लागि सबैमा सामाजिक एकता, सामाजिक सद्भाव र राष्ट्रिय भावना एक हुन जरुरी रहेको बताए । “देश बनाउन सामाजिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय भावना एक हुन जरुरी छ” सांसद रानाले भने– थारु र पहाडी समुदाय एक ढिक्का भए मात्र देशको विकास सम्भव छ ।
कार्यक्रममा सांसद रानाले धनगढी बजारलाई मेगा सिटी बनाउनका लागि डिपीआर तयार गरिने र दुई बर्षभित्र मेगा सिटीको रुपमा अभियान थालनी गर्ने बताए । उनले जाईंस्थित थारु देउथानको स्तरोन्नती तथा विकासका लागिे सक्दो सहयोग गर्ने विश्वास दिलाए ।
कार्यक्रममा प्रदेश सांसद दिल्लीराज पन्त र चुनकुमारी चौधरी, वडा नम्बर ५ का अध्यक्ष हरिसिंह पातली लगायत मन्तब्य व्यक्र गरेका थिए । वक्ताहरूले हरेरी महोत्सव थारुहरूको संस्कृति तथा पहिचान जोडिएकोले संरक्षण सम्वद्र्धन गर्न आवश्यक रहेको बताए ।


थारु समुदायमा महत्वपूर्ण मानिने हरेरी पूजा राज्यको उदासीनता, आधुनिक संस्कृति, संस्कारले गर्दा संरक्षण एवं सम्वद्र्धन हुन नसकी दिन प्रतिदिन लोप भइरहेकाले यस पूजाको संरक्षण एवं सम्वद्र्धन गर्नका लागि सबैको कर्तव्य, जिम्मेवारी र दायित्व जिम्मेवारी हुन् भन्ने उद्देश्यले यस पर्वलाई महोत्सवको रुप मनाइएको संयोजक कुलबिरले बताए ।
“भाषा संस्कृति, कला, भेष हमार पहिचान : हरेरी महोत्सव मनैना सक्कु किसानक अभियान” भन्ने नाराका साथ महोत्सव भदौ २ गते देखि ५ गतेसम्म तीन दिन सञ्चालन हुने जनाइएको छ । महोत्सवमा मुख्य आकर्षणको रुपमा थारु समुदायको लोपोन्मुख मुंग्रहवा नाच, लाठी नाच, साखिया नाच, एकल नृत्य, मगर जातिको भुमे, मारुनी नाचलगायतका विभिन्न सांस्कृतिक परम्परा झल्काउने नाच रहने हरेरी महोत्सव मूल आयोजक समितिका सचिव रामप्रसाद चौधरीले जानकारी दिए ।


त्यसैगरी, महोत्सवमा विभिन्न थारु समुदायका खानाका परिकार जस्तै ढिक्री, अण्डीको चामलको भात तथा रोटी, गँगटा तथा घोंगीको तरकारी, खाना, परिकार आकर्षणका रुपमा स्टलमा राखिएको सचिव चौधरीले बताए ।
थारुको सामूहिक रुपमा गरिने चार पूजा धुरिया पूजा, हरेरी पूजा, लवांगी पूजा, निकासी पूजा मध्ये हरेरी पूजा एक महत्वपूर्ण पूजा हो । तराईमा बसोबास गर्दै आएका संस्कृतिका धनी थारु समुदायले सामूहिक रुपमा गर्दे आएको हरेरी पूजालाई धनगढी जाइँका थारु समुदाय भने २०७३ देखि हरेरी महोत्सव मनाउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार