२२ बैशाख २०८१, शनिबार

सुदूरपश्चिममा दुई हजार मेगावाट बढि विद्युतको सम्भावना



मुकेश टेंर्रा/धनगढी । सुदूरपश्चिम प्रदेशमा दुई हजार मेगावाट भन्दा विद्युत उत्पादनका लागि सम्भाव्यता अध्ययन भएको छ ।


नेपाल सरकार, प्रदेश सरकार र जलविद्युत प्रवद्र्धकहरूले विभिन्न चरणमा गरेको अध्ययन अनुसार सुदूरपश्चिम प्रदेशमा दुई हजार ३३ दशमलव ३९ मेगावाट विद्युतको सम्भावना देखिएको जनाइएको छ ।
विभिन्न चरणमा गरिएको अध्ययनले सुदूरपश्चिम प्रदेशमा जलस्रोतबाट एक हजार आठ सय २९ दशमलव ६४ मेगावाट जलविद्युत उत्पादनको सम्भावना देखिएको छ । त्यस्तै, सुदूरपश्चिममा सौर्य उर्जाबाट दुई सय तीन दशमलव ७५ मेगावाट विद्युत उत्पादनको सम्भावना रहेको देखिएको छ ।
सुदूरपश्चिम प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयले गत आर्थिक वर्ष २०७५/०७६ मा गरेको उर्जा सम्बन्धी अध्ययनमा सौर्य उर्जाबाट बझाङमा ३५ दशमलव ४२ मेगावाट, कैलालीमा ३२ दशमलव आठ, दार्चुलामा २४ दशमलव १७ र बाजुरामा २३ दशमलव ७५ मेगावाट विद्युत उत्पादनको सम्भावना रहेको छ ।

त्यस्तै, डोटीमा २१ दशमलव ६७, अछाममा १८ दशमलव ३३, बैतडीमा १६ दशमलव २५, डडेल्धुरामा १६ दशमलव २५ र कञ्चनपुरमा १५ दशमलव ८३ मेगावाट सौर्य उर्जा उत्पादन गर्न सकिने जनाइएको छ ।
अध्ययनका अनुसार प्रदेशका प्रत्येक जिल्लाको कुल भुभाग मध्ये सून्य दशमलव पाँच प्रतिशत जमीनमा सोलार प्यानल राख्दा सो क्षमतामा विद्युत उत्पादन हुने देखिएको हो । सो क्षमताको सौर्य विद्युत उत्पादनका लागि नौ सय ९० हेक्टर जमीन आवश्यक पर्ने अध्ययनले देखाएको छ ।
त्यसैगरी, विभिन्न समयमा जलविद्युत उत्पादन तथा सर्भेका लागि विद्युत विकास विभागले निजी क्षेत्रलाई अनुमति दिएका, विभागले अध्ययन गरी बास्केटमा राखेका, अध्ययन गरेका र अध्ययन गरिरहेको तथा उत्पादन शुरु गरेका आयोजनाबाट सुदूरपश्चिममा एक हजार आठ सय २९ दशमलव ६४ मेगावाट जलविद्युत उत्पादन हुने जनाइएको छ ।
विद्युत विकास विभागले गत ६ गते वेवसाइटमा प्रकाशित गरेको आयोजनाका सूचि अनुसार सुदूरपश्चिम प्रदेशका तीन वटा आयोजनाबाट ४१ दशमलव ८३ मेगावाट जलविद्युत उत्पादन भइरहेको छ । त्यस्तै, एक सय ७४ मेगावाट क्षमताका १३ वटा आयोजनाको उत्पादन अनुमति र छ सय ५४ मेगावाट क्षमताका १३ वटा आयोजनाको सर्भे अनुमति दिइएको विभागले जनाएको छ ।
त्यस्तै, १२ वटा आयोजनाहरुलाई नेपाल सरकारले बास्केट परियोजनाको सूचिमा राखेको छ ।
डडेल्धुराको बगरकोटस्थित दुई दशमलव ५२ मेगावाटको डोटीगाड परियोजनाको अध्ययन पुरा भएको छ भने एक सय ९५ दशमलव दुई मेगावाट क्षमताका पाँच आयोजनाको अध्ययन भइरहेको छ ।
प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालयले गरेको विद्युत म्यापिङमा बझाङ लगायत चार जिल्लाको सीमानामा पर्ने सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती, दार्चुलाको पाँच मेगावाटको रुग्रुगाड र बाजुराको पांच मेगावाटको बुढीगंगा र अछामको साढे चार मेगावाटको बड्डीगाडी परियोजना समेत अनुमति लिएर निर्माणको चरणमा रहेको जनाइएको छ ।


म्यापिङ अनुसार सबैभन्दा बढि बझाङमा १४ वटा आयोजनाबाट एक हजार तीन सय ६१ मेगावाट विद्युत उत्पादन हुने देखिएको छ । भने दार्चुलामा १६ वटा आयोजनाबाट तीन सय ६४ मेगावाट उत्पादन हुने देखिएको छ ।
त्यस्तै, बैतडीमा दुई आयोजनाबाट छ, अछाममा तीन आयोजनाबाट २८ दशमलव ५९, बाजुरामा ३७ दशमलव ११, डडेल्धुरामा तीन वटा आयोजनाबाट ११ दशमलव ३१ र डोटीमा पाँच आयोजनाबाट २१ दशमलव ३८ मेगावाट जलविद्युतको सम्भावना रहेको विद्युत विकास विभागले जनाएको छ ।
कैलाली र कञ्चनपुर जिल्लामा जलविद्युतको सम्भाव्यता अध्ययन भएको छैन । तर कैलालीको जानकी गाउंपालिका वडा नम्बर ९, कटासेमा रानी जमरा कुलरिया सिंचाई आयोजनाले चार दशमलव ७१ मेगावाट क्षमता जलविद्युत निर्माणको गरिरहेको छ ।
आयोजनाका कार्यकारी निर्देशक मधुकर रानाले यसै वर्ष निर्माण कार्य पुरा भएर विद्युत उत्पादन गरी लम्की सवस्टेशनबाट राष्ट्रिय प्रसारण ग्रीडमा जोडिने बताए । उनले पावरहाउसको फाउण्डेशन हाल्ने, आवश्यक इलेक्ट्रो र हाइड्रो मेकानिकल सामान, टर्वाइन भारतबाट ल्याउने लगायत ३० प्रतिशत काम पुरा भइसकेको जानकारी दिए ।
विद्युत उत्पादनका यी सम्भाव्यना मध्ये दाचुर्लाको चमेलिया जलविद्युत आयोजनाबाट ३० र नौगाड जलविद्युत आयोजनाबाट आठ दशमलव पांच तथा डोटीको कापडीगाड जलविद्युत आयोजनाबाट तीन दशमलव ३३ गरी हाल ४१ दशमलव ८३ मेगावाट विद्युत उत्पादन भइरहेको छ ।
भौतिक पुर्वाधार विकास मन्त्रालयको प्रगति विवरण प्रस्तुत गर्दै मन्त्रालयका सचिव इन्द्रदेव भट्टले सुदूरपश्चिम प्रदेशमा जलविद्युत सम्भावना कम रहेको जिल्लामा सौर्य उर्जाको सम्भावना बढि देखिएको बताए । उनले प्रदेशका सबै जिल्लामा प्राकृतिक रुपमा उर्जाको वितरण समान रहेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार