१० श्रावण २०८१, बिहीबार

सिंचाईमा अर्बौ खर्च, सुविधा नहुँदा रोपाइँ प्रभावित



मुकेश टेंर्रा/धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा कृषि क्षेत्रमा सिचाई व्यवस्थापनका लागि करिब डेढ अर्ब रुपैयाँ छुट्यायो । सिंचाई कार्यक्रम अन्तरगत भौतिक पुर्वाधार विकास मन्त्रालय मार्फत् दुई सय ४१ वटा सिंचाई योजना निर्माण गर्न एक अर्ब ३१ करोड ८९ लाख रुपैयाँ चालु आर्थिक वर्षमा छुट्याएको थियो । त्यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगत सिंचाईका लागि आठ करोड ६६ लाख तीन हजार रुपैयाँ छुट्याएको थियो । कृषि मन्त्रालयले मुख्यमन्त्री कृषि कार्यक्रम अन्तरगत तीन करोड ९९ लाख ९६ हजार र केरा, ओखर, मुङ र सुन्तला खेती विस्तार तथा सिचाई व्यवस्थाका लागि चार करोड ६६ लाख सात हजार रुपैयाँ छुट्याएको थियो ।

सिंचाईका नाममा ८८ वटै स्थानीय तह र संघीय सरकारले पनि बजेट विनियोजन गरी खर्च गरेका छन् । यसअघिका सरकारहरुले पनि सुदूरपश्चिममा सिचाई व्यवस्था गर्न थुप्रै रकम खर्च गरेका छन् ।
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि मुख्यमन्त्री कृषि कार्यक्रम सहित कृषि क्षेत्रमा छुट्याएको बजेट लगभग खर्च भइसकेको छ । यस अन्तरगत विभिन्न सिंचाई आयोजना निर्माण र अनुदान वितरण कार्यक्रम पुरा भइसकेको जनाइएको छ । तर असारको मध्येसम्म आइपुग्दा आकाशे पानीको भरमा खेती गर्न बाध्य किसानले न सिचाई सुविधा पाएका छन्, न त आम किसानले रोपाइँ गर्न पाएका छन्, न आवश्यक मलखाद नै ।
सुदूरपश्चिम प्रदेशको ४५ दशमलव ७८ प्रतिशत खेती योग्य जमीनमा सिंचाई सुविधा पुगेको छैन । सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयका अनुसार सुदुरपश्चिममा जम्मा धान खेती हुने जग्गा मध्ये ५४.२२ प्रतिशतमा मात्र सिचाई सुबिधा पुगेको दावी गरेको छ । तर सिचाई सुविधा पुगेको क्षेत्रमा समेत बाह्रै महिना सिंचाई हुँदैन । सुदुरपश्चिम प्रदेशमा एक लाख ८१ हजार ९६ हेक्टरमा धानको खेती हुदै आएको मन्त्रालयले जनाएको छ ।

सिंचाई सुविधाको अभावमा सुदूरपश्चिमका तराइँका जिल्ला कैलाली र कञ्चपुरका किसानले आकाशे पानीको भरमा धान खेती गर्नु परेको छ । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर हेर्ने कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख गोकुलप्रसाद बोहराका अनुसार नदीको छेउछाउ र सिंचाइ सुविधा पुगेको कैलालीको १० प्रतिशत र कञ्चनपुरको २० प्रतिशत धान रोपाई भएको छ । कञ्चनपुरमा ४७ हजार पाँच सय ६७ हेक्टर र कैलालीमा ७१ हजार पाँच सयमा धान खेती गरिदै आएको छ । कुल खेतीयोग्य जमिनमध्ये १५ प्रतिशतमा मात्र धान रोपाई भएको छ । सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयले सुदूरपश्चिम प्रदेशमा असारको दोस्रो सातासम्म करिब ३५ प्रतिशतमा धान रोपाई भएको दावी गरेको छ । तर भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सुदूरपश्चिममा अहिलेसम्म २२ दशमलब ५ प्रतिशत मात्रै धान रोपाई भएको जनाएको छ ।
यस बर्ष नेपालमा ढिलो गरी मनसुन भित्रिएकाले अहिलेसम्म २२ दशमलब ५ प्रतिशत धान रोपाई सम्पन्न भएको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका बरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताए । उनका अनुसार सबै भन्दा बढि बझाङ जिल्लामा र सबै भन्दाँ कम कैलाली र कञ्चनपुरमा रोपाई सम्पन्न भएको छ ।
सुदूरपश्चिममा धानको उत्पादन औसतमा बार्षिक ६ लाख ४८ हजार मेट्रिक टन अनुमान छ । सुदूरपश्चिममा धानको उत्पादकत्व प्रति हेक्टर करिब ३.३ देखि ३.५ मेट्रिक टनसम्म छ । अपर्याप्त सिंचाई सुविधाका कारण अधिकांश क्षेत्रमा आकाशे पानीको भरमा धान खेती हुने गरेको उनले बताए ।


यस बर्ष पनि सुदुरपश्चिम प्रदेशमा धान रोपाई समयमै सम्पन्न नहुने देखिएको छ । समयमा रोपाईं हुन नसक्दा र विभिन्न कारणले धानको उत्पादन बढ्न नसक्दा वर्षेनी भारतबाट ठूलो मात्रामा यस प्रदेशमा चामल आयात हुँदै आएको छ ।
बढ्दो जनसंख्या र परम्परागत खेती प्रणालीका कारण उत्पादन बढ्न नसकेको बेला वर्षेनी खेतीपातीको समयमा हुने सिंचाई, मल र ईन्धनको अभावले झनै समस्या बढिरहेको छ ।
रोपाइँ गर्ने समय आधा घर्किसक्दा समेत पानी नभएर रोपाइँ गर्न नसकेका किसानहरु विउ छिप्पिन थालेको र सिंचाई नहुँदा बल्लतल्ल राखेको विउ सुक्न थालेको चिन्तामा छन् । बर्दगोरिया गाउँपालिका–४ का किसान राम सिंहले लगाएको धानको विउ सुक्न थालेको छ । धान रोपाई गर्ने समयमा पानी नपर्दा वीउ खेतमै सुक्न लागेको उनले बताए । गत वर्ष यो समयसम्म उनले धान रोपीसकेका थिए । ‘गत वर्ष त केही दिन ढिलो भए पनि असारको मध्यसम्म धान रोपिसकेको थिए, तर यो वर्ष अहिलेसम्म पानी नपर्दा धान कसरी रोप्ने भन्ने चिन्ता छ’ किसान सिंहले भने, ‘बोरिङ्गबाट पनि पानी नै आउन छोडेको छ । यो बेला धेरै जनाको खेत रोपेर हरियो भएको देख्न सकिन्थो अहिले त सबै जमिन बाझै छ ।’
घोडाघोडी नगरपालिका–५ का किसान किरण चौधरीले आकासे पानिको भर पर्दा अहिलेसम्म रोपाई सुरु नै गर्न सेको छैनन् । उनले पनि रोपाई भन्दा पनि धानको विउ सुक्न लागेकोमा चिन्ता परेको छ ।

रोपाइँ दिवसको नारा नारामै सीमित


सुदूरपश्चिम प्रदेशको राष्ट्रिय धान दिवसको नारा ‘धान खेतीमा प्रविधि र यान्त्रिकरण, चामल आयातमा न्यूनीकरण’ थियो ।
तर सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले धान दिवसको अवसरमा कैलालीको गोदावरी नगरपालिका–८, मझगाउँमा आयोजना गरेको रोपाइँ कार्यक्रममा कुनै पनि किसिमको प्रविधि र यान्त्रहरु प्रयोग भएन । प्रदेशमा कृषि मन्त्री विनिता चौधरी, प्रदेश सांसद्हरु, जनप्रतिनिधिहरु, कृषि मन्त्रालयका कर्मचारीहरु सहभागी भएको कार्यक्रममा नारा विपरित गोरु जोतेर हिलो बनाइयो । सहभागीले हातैले धान रोपे । हिलो बनाउन पानीका लागि मात्रै पम्पसेट प्रयोग गरियो ।
सुदूरपश्चिममा आयोजना गरिएका प्रायः रोपाइँ कार्यक्रममा परम्परागत शैली अपनाइएपछि १६ औं राष्ट्रिय धान दिवसको नारा नै ओझेलमा परेको छ । चालु आर्थिक् वर्षमा प्रदेश कृषि मन्त्रालयले मुख्यमन्त्री कृषि कार्यक्रम अन्तरगतको यान्त्रीकरण शिर्षकमा सात करोड रुपैयाँ खर्च गरेको छ ।

तर मन्त्रालयकै कार्यक्रममा यान्त्र उपकरण प्रयोग नहुँदा धान दिवस औपचारिकतामा सीमित भएको छ । रोपाइँ दिवस धुमधामले मनाइएपनि किसानले समयमा रोपाइँ गर्न नपाउँदा धान दिवस औपचारिकता र भाषणमा मात्रै सीमित नभएर सामाजिक सञ्जाल फेसबुकमा समेत धान दिवसबारे विभिन्न टीका टिप्पणी भएका छन् । फेसबुकमा मन्त्री, सांसद्, जनप्रतिनिधि, नेता, कर्मचारी र नागरिक अगुवाहरुले धान दिवसमा रोपाइँ गर्नु भन्दा सिंचाई, मलखाद, विउ, उपकरण व्यवस्था गर्नमा लाग्नुपर्ने विषय प्रसस्त पढ्न पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार