१० श्रावण २०८१, बिहीबार

भीसा कार्ड प्रयोगकर्ताहरूलाई सास्ती



शेरबहादुर ऐर/धनगढी । बझाङका शैलेशबहादुर बोहरा औषधी उपचारका लागि धनगढी आइपुगे । उनीसंग राष्ट्रिय बाणिज्य बैंकले दिएको भिसा कार्ड थियो । उनी पैसा निकाल्न बैंकको एटिएम काउण्टरमा पुगे, तर उनको भीसाकार्डले काम गरेन । उनको मोबाइलमा बैंकको सन्देश आयो– तपाईंको भीसा कार्ड सेवा बन्द भएको छ । बैंकको म्यासेज पढेर उनी हतप्रभ बने ।


‘मैले थोरै पैसा मात्र बोकेको थिए । भीसाकार्ड भएकोले चेक पनि ल्याइन” उनले भने– तर, बैंकले एकाएक भीसाकार्ड सेवा बन्द भएको सन्देश पठायो ।
शैलेश मात्रै होइनन्, राष्ट्रिय वाणिज्य बैंकको भिसा कार्ड प्रयोगकर्ताहरू सबैले अहिले सास्ती बेहोर्नु परेको छ । धनगढीका दीपक ओलीले भने– रकम निकाल्न म बैंकको एटिएम काउण्टरमा गए । एटिएम मेसिनमा कार्ड हाल्दा पो बन्द भएको जानकारी पाए । विदाको दिन थियो । भीसकार्डले काम नगरेपछि रित्तै हात फर्किए ।
बैंक तथा वित्तीय संस्थाद्वारा जारी हुने सबै प्रकारका भिसा कार्ड ‘इएमभी चिप’ मा आधारित बनाउने भनेपछि राष्ट्रिय वाणिज्य बैंकले भिसा कार्ड सेवा बन्द गरेको जनाएको छ । कार्ड प्रयोगकर्ताहरूको गुनासो छ– कार्ड बन्द गरिएको बारे बैंकले पूर्व जानकारी गराएन । बैंकले पहिले जानकारी गराएको भए अरु विकल्प अपनाउथ्यौं । कार्ड प्रयोगकर्ता ओलीका अनुासर बैंकले जेठ १५ गते चिप कार्डबारे मोबाइलमा सन्देश पठाएको थियो ।
राष्ट्रिय वाणिज्य बैंक धनगढी शाखाका प्रबन्धक हरिशचन्द्र भट्टले एक महिनाअघिनै बैंकले भिसा कार्ड बन्द गरिएको बताए । शाखा प्रबन्धक भट्टले सामान्य खाताबाहेक सैनिक, पेन्सन लगायत अन्य खातावालाको कार्डले काम गरिरहेको बताए ।
उनका अनुसार धनगढी शाखाले तीन हजार आठ सय २९ जनालाई कार्ड वितरण गरेको छ । देशभरी राष्ट्रिय वाणिज्य बैंकका तीन लाख भीसाकार्ड प्रयोगकर्ताहरू रहेका छन् । प्रवन्धक भट्टले धनगढीमा असार मसान्तभित्र चिप्स आइपुग्ने बताए । उनले भने– पुरानो कार्ड बन्द नगरी नया“ कार्ड (चिप्स प्रविधि) बनाउन सकिदैन ।
तर, बैंकले भिसा कार्ड बन्द गरेको एक महिना पुग्नै लाग्दा समेत चिप्स कार्डको व्यवस्था गर्न नसकेको सेवाग्राहीहरूले गुनासो गरेका छन् ।
‘इएमभी चिप्समा आधारित कार्डमा डाटा नक्कल एवं चोरी गर्न नमिल्ने भएकाले यस किसिमको कार्डलाई सुरक्षित र भरपर्दो मानिन्छ’ राष्ट्रिय बाणिज्य बैंकका धनगढी शाखा प्रबन्धक भट्टले भने– नेपालका बैंक तथा वित्तीय संस्थाद्वारा म्याग्नेटिक स्ट्रिप कार्ड (एमएससी) प्रयोग गरेका कारण विगतका दिनमा भोग्दै आएका चोरी एवं छलिका घटनालाई निरुत्साहित गर्न तथा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा उल्लेख भएअनुसार एमएसी कार्डलाई विस्थापित गरी इएमभी चिप कार्डको अनिवार्यतालाई दृष्टिगत गरी सो प्रविधि ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार