३ जेष्ठ २०८१, बिहीबार

समिक्षा बैठक तथा अनुगमन भिजिट



धनगढी । सिमान्तकृत बालिकाहरुको शिक्षामा सहयोग परियोजना दोस्रो चरणको जिल्ला सल्लाहकार समिति समिक्षा बैठक तथा अनुगमन भिजिट शुक्रबार भएको छ ।
युके एडको आर्थिक र मर्सिकोर नेपालको प्राविधिक सहयोगमा ब्याकवार्ड सोसाईटी एजुकेसन (बेस) कैलाली साझेदारी संस्थाको बाट सञ्चालन भएको परियोजनाको दोस्रो चरण अन्र्तगत जारी क्रियाकलापहरुको समिक्षा तथा अनुगमन गरिएको थियो ।
धनगढी उपमहानगरपालिकाभित्र परियोजनाअन्र्तगत भएका चार वटा कार्यक्रमहरुको अनुगमन गरिएको थियो ।
धनगढी उपमहानगरपालिका–५ स्थित राष्ट्रिय तुलसीराम माध्यामिक विद्यालयमा परियोजनाअन्र्तगत विद्यालयको शिक्षण सिकाई सुधारका लागि बालिका कक्षासंगै विभिन्न सामाग्री उपलब्ध गराइएको जनाएको छ । परियोजनाअन्र्तगत विद्यालयमा खानेपानीको व्यवस्था, शौचालय निर्माण, कम्प्यूटर ल्याब तथा पुस्तकालयका लागि विभिन्न पुस्तकहरु उपलब्ध गराइएको परियोजनाका कार्यक्रम संयोजक लक्ष्मण चौधरीले बताए ।
अनुगमन टोली विद्यालय पुग्दा बालिका कक्षामा छात्राहरु ध्यानपुर्वक पढीरहेका थिए । विद्यालयमै कक्षा १० मा पढ्दै आएकी दीपा चन्दले भनिन् –‘हामीले कक्षामा नबुझेका कुरा यहाँ सोध्न सक्छौं । हामीले बाहिरी ज्ञान पनि यो कक्षाबाट पाइरहेका छौं ।’
सोही कक्षाकी सपना चौधरीले भनिन् –‘स्वास्थ्य विषय यो कक्षामा पढ्न सहज भएको छ । उनले विद्यालयमा शिक्षकले गृहकार्य नदिएपनि सो कक्षामा प्रोजेक्ट वर्क दिइने गरेको र त्यसले सिंकाइमा पनि सुधार ल्याउने गरेको बताइन् ।
विद्यालयका प्राचार्य गण्शेराज भट्टले परियोजनाका कारण विद्यालयको शिक्षामा सुधार ल्याउन सहज भएको बताए ।
यस्तै, टोलीले विद्यालय बाहिर रहेका युवतीहरुलाई व्यवसायमा लाग्न ऋण प्रवाह गरिरहेको सुदूरपश्चिमाञ्चल बहुउद्देश्यिय सहकारी संस्थाको पनि अवलोकन गरेको थियो । सहकारीले विद्यालय बाहिर रहेका युवतीहरुलाई सिपका आधारमा ऋण प्रवाह गरिरहेको जनाएको छ । सो ऋणका लागि परियोजनाले गल्स ट्रान्जिसन फन्ड सहयोग गरिरहेको छ । सो फन्डबाट हालसम्म सहकारीले एक सय ९९ सयलाई ऋण प्रवाह गरिसकेको जनाएको छ ।
टोलीले सहकारीबाट ऋण लिएर व्यवसाय गरिरहेका धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बीनृ पुजा विष्ट र धनगढी उपमहानगरपालिका वडा नम्बर २ सन्तोषी टोलमा व्यवसाय गरिरहेकी पुजा चौधरीको व्यवसायको पनि अनुगमन गरेको थियो ।
टोलीमा जिल्ला समन्वय समितिकी उपसंयोजक सुन्दरी चौधरी, धनगढी उपमहानगरपालिकाका पदाधिकारी, जिल्ला शिक्षा समन्वय इकाइ, सीप विकास तथा तालिम केन्द्र, गैरसरकारी संस्था महासंघ, कैलाली उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
टोलीले परियोजनाले विद्यालय र वालिकाहरु शिक्षण सिकाइका लागि उदाहरणीय काम गरेको प्रतिक्रियासंगै सहकारीले ऋण प्रवाह गर्दा वडा कार्यालयको सिफारिसको व्यवस्था गर्नुपर्ने, व्यवसायीक पशुपालन तथा कृषिमा लागेका युवतीहरुलाई बाली तथा पशु विमाको ग्यारेण्टी गर्नुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार