१० श्रावण २०८१, बिहीबार

लुम्बिनी भ्रमणको निम्तो



धनगढी । प्रदेश नम्बर ५ को सरकारले सुदूरपश्चिम प्रदेशबासीलाई लुम्बिनी घुम्न आउन निम्तो दिएको छ ।
लुम्बिनी भ्रमण वर्ष २०७६ प्रचारप्रसार उपसमितिले आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै भगवान बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि सुदूरपश्चिमबासीलाई आमन्त्रण गरेको छ ।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टलाई प्रदेश ५ सरकारको तर्फबाट भ्रमणको निम्तो लिएर आएको प्रचारप्रसार उपसमितिका सचिवालय सदस्य प्रदीप आचार्यले बताए ।
‘सुदूरपश्चिम प्रदेशका पर्यटकीय स्थलमा आउने पर्यटकलाई लुम्बिनी पु¥याउने र लुम्बिनी आउने पर्यटकलाई सुदूरपश्चिमका पर्यटकीय स्थल घुम्ने वातावरण बनाउनका लागि प्रदेश–प्रदेशबीच सहकार्य र समन्वयका लागि पनि यो अभियान थालनी गरिएको छ’ सचिवालय सदस्य आचार्यले भने ।
बुद्धको जन्मभूमि लुम्बिनी, कपिलवस्तुको तिलौराकोट, मावली तथा ससुराली देवदह, बुद्धको अस्तुधातु रहेको नवलपरासीको रामग्राम, बुद्धस्थलहरू गोटिहवा, सगरहवा, कुदान, अरौेराकोट, सिसहनिया लगायतका पर्यटकीय स्थलमा घुम्न आउने पर्यटकको संख्या २५ लाख पु¥याउने उद्देश्य सहित प्रदेश ५ सरकारले २०७६ साललाई लुम्बिनी भ्रमण वर्ष मनाउने घोषणा गरेको छ ।
लुम्बिनीमा पर्यटकको आगमन बढाउने र बसाई लम्बाउने अवधारणाका साथ प्रदेश सरकारले प्रवद्र्धनात्मक कार्यक्रम थालेको प्रदेश ५ पर्यटन मन्त्रालयका शाखा अधिकृत केशव सुनारले जानकारी दिए ।
प्रदेश ५ का पहाडी जिल्लामा हिल स्टेसन बनाउने र लुम्बिनी भ्रमणपछि ती स्थानमा विश्रामको वातावरण मिलाउने तयारी सरकारको छ ।
सोही अवसरमा सुदूुरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भट्टले लुम्बिनी भ्रमण वर्ष सफल पार्नका लागि सुदूरपश्चिम प्रदेश सरकारले पूर्ण रुपमा सहयोग गर्ने बताइन् ।
उनले प्रदेश ५ का बासिन्दाले सुदूरपश्चिमबासीले लुम्बिनी भ्रमण गर्ने गरी नीति ल्याउन लागेको बताइन् । पर्यटन अभियन्ता, व्यवसायी र सरोकारवालासँग छलफल गरेर छिट्टै नै प्रदेश सरकारले पर्यटन नीति ल्याउन लागेको उनले बताइन् । प्रदेश ५ सरकारले गरेका राम्रा कामहरूको अनुसरण गर्दै सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभित्रका पर्यटकीय स्थलहरूको प्रवद्र्धनका लागि काम गर्ने मन्त्री भट्टले बताइन् ।
‘पहिले प्रदेश घुमौं, त्यसपछि अरु प्रदेश घुमौं, त्यसपछि देशभर घुमौं र अनिमात्रै विदेश घुमँैं’ उनले भनिन्– ‘यसका लागि सुदूरपश्चिम प्रदेश सरकारले अभियान नै चलाउने छ ।’
उनले सुदूरपश्चिम प्रदेश सुन्दर रहेको चर्चा गर्दै पर्यटन प्रवद्र्धनका लागि सबै पक्षका बीचमा समन्वय र सहकार्यको खाँचो रहेको बताइन् । उनले सुदूरपश्चिम सरकारका तर्फबाट यसै वर्ष लुम्बिनी घुम्न आउने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा व्यवसायी गोपी हमाल, दिनेश भण्डारी तथा अभियन्ता रमणचन्द्र श्रेष्ठले लुम्बिनी क्षेत्रमा आउने पर्यटकलाई सुदूरपश्चिम प्रदेशमा भ्रमणका लागि समन्वय गर्नुपर्ने बताए ।
लुम्बीनी भ्रमण वर्ष २०७६ सालको वैशाख बुद्ध पूर्णिमाका दिन शुरू भएर चैत्र शुक्ल पूर्णिमाका दिन समापन हुनेछ ।
कार्यक्रमका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चार करोड १९ लाख ६० हजार रुपैया विनियोजन गरेको छ । लुम्बिनी र प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पूरातात्विक महत्वका क्षेत्रको पहिचान, संरक्षण र सम्बद्र्धन गर्दै पर्यटन व्यवसायमा समेत टेवा पु¥याउने उद्देश्यले भ्रमण वर्ष मनाउन लागिएको हो ।
प्रदेशको समृद्धिका लागि सरकारले कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासलाई प्रमुख आधारका रूपमा योजनाबद्ध रूपले कार्यक्रम अघि बढाएको प्रचार प्रसार समितिका सदस्य अमृत गिरीले बताए ।
पर्यटन क्षेत्रको विकासमा लुम्बिनी भ्रमण वर्ष महत्वपूर्ण हुने प्रदेश ५ सरकारको विश्वास छ । भ्रमण वर्षमा मुख्यतया लुम्बिनी क्षेत्र तथा बुद्ध सर्किटसँग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देवदह, अरौराकोट, सगरहवा, सिसहनियालगायतका क्षेत्रलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिने उपसमिति सदस्य सीपी खनालले जानकारी दिए ।
लुम्बिनी क्षेत्र तथा बुद्ध सर्किटसँग सम्बन्धित स्थानहरूको साथै नजोडिएका तर भारत हुँदै लुम्बिनी क्षेत्रमा पर्यटक भ्रमण गर्ने प्रमुख नाका बेलहियामा समेत विभिन्न कार्यक्रम गरिने उपसमिति सदस्य रुद्रहरि कुँवरले बताए ।
यस्तै, गौतमबुद्धको जीवनीसँग सम्बन्धित सडक प्रदर्शनी होटल तथा पर्यटन व्यवसायीमार्फत् सातवटै प्रदेश र भारतको कुशीनगर, बोधगया एवं लुम्बिनीको सीमा क्षेत्रमा समेत प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिने छ ।
भ्रमण वर्षमा मायादेवी प्रसूति मार्ग घोषणा तथा प्रसूति उत्सव, लुम्बिनी फूड फेस्टिबल, सुजाता खीर उत्सव, लुम्बिनी मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फूलमून डे उत्सव, धार्मिक यात्रा, त्रिपिटक वाचन, लुम्बिनी पिस म्याराथन लगायतका कार्यक्रम गरिने छ ।
२२ फागुनमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार