१० श्रावण २०८१, बिहीबार

सामाजिक विकास मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता



धनगढी । सुदूरपश्चिम प्रदेशमको सामाजिक विकास मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबीच प्रदेशको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षालाई प्रभावकारी रुपमा विकास र विस्तार गर्न सम्झौता भएको छ ।
सामाजिक विकास मन्त्रालयमा आयोजित एक संक्षिप्त कार्यक्रममा मन्त्रालयका सचिव गोगनबहादुर हमालको रोहबरमा बिहीबार धनगढीमा सेती र महाकाली अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (केएएचएस) का रजिष्टारबीच सम्झौता भएको थियो ।
सम्झौतापत्रमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार इन्जिनियर विश्वराज काफ्ले, सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डे र महाकाली अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हरिकुमार श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
सम्झौतापत्रमा भनिएको छ– ‘दुवै संस्थाहरूको सहकार्यमा स्वास्थ्य सेवा र शिक्षामा गुणात्मक सुधारका लागि पहल गरिने छ ।’
‘यस कार्यबाट स्वास्थ्य सेवाका अभावबाट परेको स्वास्थ्यको नकारात्मक अवस्थालाई व्यवस्थापन गरि जनताको स्वस्थ रहने संविधानप्रदत्त अधिकार सुनिश्चिताको लागि सहायक हुनेछ’ सम्झौतापत्रमा अगाडी भनिएको छ ।
केएएचएसले अञ्चल अस्पतालमा शैक्षिक कार्यक्रमको लागि आवश्यक पर्ने सामग्री, भौतिक पूर्वाधार र प्राविधिक सहयोग गर्ने, अस्पताललाई आवश्यक पर्ने जनशक्तिको लागि अस्पतालको माग बमोजिम सञ्चालनमा रहेका शैक्षिक कार्यक्रममा नियमको अधिनभित्र रहि सम्बन्धित विभागमा दुई जना भन्दा नघट्ने गरी कोटा निर्धारण गर्ने, अञ्चल अस्पतालमा पहिलो चरणमा स्थायी सरकारी चिकित्सक शैक्षिक कार्यक्रमहरू शुरू हुनुपूर्व प्रतिष्ठानको नियमानुसार संकाय दिनुपर्ने र पछि अन्य चिकित्सकहरूलाई क्रमशः आवश्यकता अनुसार संकायमा थप गर्दै जाने, संकायमा समावेश चिकित्सकहरूलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियमानुसार शैक्षिक भत्ता उपलब्ध गराउनु पर्ने लगायतका नौ बुँदा उल्लेख रहेका छन् ।
त्यस्तै, अञ्चल अस्पतालहरूले एमडिजिपि, एमडि, एमएस रेजिडेन्ट चिकित्सकहरूलाई अस्पतालका विभिन्न विभागको कार्यमा विशेषज्ञ चिकित्सकको मातहतमा रही निजको शैक्षिक तालिका अनुरूप कार्य गर्ने अवसर प्रदान गर्ने, मिडवाईफ्री, एनेस्थेसिया असिष्टेन्ट लगायतका प्रथम पक्षबाट सञ्चालित स्वास्थ्य शिक्षाको अन्य शैक्षिक कार्यक्रमका छात्रछात्राहरूको लागि प्रयोगात्मक अभ्यासको लागि शिक्षक, चिकित्सक र कार्यरत स्वास्थ्यकर्मी मिडवाइफ तथा नर्सहरूको मातहतमा रहि कार्य गर्ने अवसर प्रदान गर्ने, प्रतिष्ठानबाट सञ्चालन हुने अनुसन्धान कार्यमा दोश्रो पक्षको कर्मचारीहरू समेत सहभागी गर्न सहजिकरण गर्ने लगायतका चार वटा बुँदामा हस्ताक्षर गरेका छन् ।
सम्झौतापत्रमा सम्झौताको मान्य अवधि शैक्षिक कार्यक्रम सञ्चालन भएको अवधिवाट गणना गरि तीन शैक्षिक वर्ष रहने र यसलाई पुनः नविकरण गर्न सकिने जनाइएको छ ।
सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा प्रतिष्ठानका प्राध्यापक डाक्टर रेशमबहादुर राना र अञ्चल अस्पतालका चिकित्सकहरूको सहभागिता रहेको थियो ।
सो अवसरमा मन्त्रालयका सचिव हमालले स्वास्थ्य र शिक्षामा आइपर्ने कठिनाइलाई सहज गर्नको लागि मन्त्रालय कटिबद्ध भएर लागिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार