सांस्कृतिक सम्मिलनः “यहीको घर हरेर जन्मघरको तिर्सना मेटाउँछु”
धनगढी । आफू जन्मेको अछामको घर जस्तै घर देख्दा कैलाली जानकी गाउँपालिका वडा नम्बर ९, अमरावतीका ७६ वर्षीय रविलाल थापा मख्ख परे ।
“हाम्रा पालाका घरहरू हराएर जान्छन् कि भन्ने चिन्ता लाग्छ, यहाँ तराई, कैलालीमा पहाड (अछाम) कै परम्परागत जस्तै घर देख्दा निकै खुसी लाग्यो” बृद्ध रविलालले भने– सानै उमेरमा कैलाली झरे । पटपटक पहाड जान पनि सकिदैन । अब यही घर हेरेर आफू जन्मे हुर्केको घरको तिर्सना मेटाउछु ।
बृद्ध रविवाल थापा मात्रै होइन अवरावतीकै ५१ वर्षीया सविना चौधरी पनि आफु हुर्के बढेको जस्तै घर देख्दा निकै खुसी भइन् । रविलाल र सविना जानकी गाउँपालिका वडा नम्बर ९, अमरावतीमा रहेको नेपाल जातीय संग्रहालयमा निर्माण भएका थारु र पहाडी समुुदायका परम्परागत घर हेरेर मख्ख भएका थिए ।
जातीय संग्रहालयका अध्यक्ष तथा पूर्व सांसद गरिमा शाहका अनुसार सो संग्राहलयमा सुदूरपश्चिम प्रदेशका विभिन्न समुदायका परम्परागत तथा मौलिक घर, संस्कृति, परम्परा, भेषभूषा तथा रहनसहनका सामग्री राखिएका छन् ।
उनले भनिन्– हाम्रा पुर्खाले प्रयोग गर्र्दै आएका कतिपय चीजविज हराउँदै जान थालेपछि तिनको संरक्षण गर्ने उद्देश्यले संग्रहालय स्थापना गरिएको छ । संग्रहालयमा अहिले थारु र पहाडी समूदायका परम्परागत घर तथा मौलिक संस्कृति झल्काउने सामग्री राखेका छौ । अब क्रमिक रुपमा मगर, राजी लगायतका जातजातिका घरहरू बनाउछौ । उनले संग्रहालयमा सुदूरपश्चिम प्रदेशका पर्यटकीय र धार्मिक क्षेत्रलाई पनि समेटिने बताइन् ।
२०७१ सालमा शुरु भएको संग्रहालयले शनिबार र आइतबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको उपस्थितिमा विभिन्न जातजातिका सांस्कृतिक झाँकीहरू प्रदर्शन गर्दै सांस्कृतिक सम्मिलन सञ्चालन गरेको छ ।
सम्मिलनको उद्घाटन गरेका प्रदेशका मुख्यमन्त्री भट्टले संग्रहालयको उद्देश्य निकै राम्रो रहेको र सुदूरपश्चिमको झल्को देखिएको बताए ।
मुख्यमन्त्रीसंगै रहेका प्रदेशका पर्यटन उद्योग तथा वन वातावरण राज्मन्त्री प्रकाशबहादुर रावलले जातीय संग्रहालयलाई प्रदेश सरकारको गौरवको योजनाका रुपमा अघि बढाउने बताए ।
दुई बिघा क्षेत्रफलमा रहेको संग्रहालय कर्णाली पुल, टीकापुर पार्क, घोडाघोडी ताल हेर्न आउने पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्य बन्ने पूर्व सभासद सुकदैया चौधरीको विश्वास छ ।
जातीय संग्रहालय कर्णाली पुलबाट छ किलोमिटर दक्षिणमा रहेको छ । संग्रहालय बनाउन नेपाल पर्यटन वोर्ड, पुरात्व विभाग लगायतका सरकारी क्षेत्रबाट समेत सहयोग प्राप्त भएको जनाइएको छ । 




