१० श्रावण २०८१, बिहीबार

पशुपंक्षी आयातमा कडाई: स्वास्थ्य परीक्षण प्रमाणपत्र अनिवार्य रुपमा लागू



शेरबहादुर ऐर/धनगढी । भारतबाट नेपालमा पशुपंक्षी तथा पशुपंक्षीजन्य वस्तु आयात गर्दा स्वास्थ्य परीक्षण प्रमाणपत्र पेस गर्नुपर्ने व्यवस्था कडाईका साथ लागू गरिएको छ ।

संघीय कृषि तथा पशुजन्य विकास मन्त्रालयले पशुपंक्षी तथा पशुपंक्षीजन्य सामग्री आयात वा निर्यात गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण कागजपत्र माग गर्न निर्देशन दिएपछि कैलालीको धनगढीस्थित त्रिनगर भन्सार नाकाबाट पशुपंक्षी तथा पशुपंक्षीजन्य बस्तु आयात हुन नसकेको पशु क्वारेन्टाइन कार्यालय, कैलालीले जनाएको छ । मन्त्रालयले गत फागुन ३ गते देशभरका पशु क्वारेन्टाइन कार्यालयलाई परिपत्र गरि “पशु स्वास्थ्य तथा पशु सेवा ऐन” लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।
पशु क्वारेन्टाइन कार्यालय, कैलालीले बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा “मन्त्रालयको परिपत्र अनुसार कार्यालयले कागजपत्र हेरेरमात्र पशुजन्य सामग्रीहरु आयात गर्न अनुमति दिइरहेको” जानकारी दिएको छ ।
कार्यालयका पशु चिकित्सक डाक्टर भरत शाहले भने– हामीले व्यवसायीहरूलाई कागजपत्र माग गर्दा भारतबाट पशुपंक्षीजन्य वस्तु आयातमा प्रतिबन्ध गरियो भनेर गलत प्रचार गरिएको छ, तर आयातकर्ताले आवश्यक कागजपत्र पेस नगरेका कारण चैत १ गतेदेखि अहिलेसम्म कुनै पनि पशुपंक्षीजन्य सामग्री आयात हुन सकेको छैन । उनका अनुसार आयातकर्ताले आवश्यक कागजपत्र पेस नगरेका कारण सिमानाकामा एक दर्जन बढी सवारी साधन रोकिएका छन् ।
उनले मन्त्रालयले पशुपंक्षी तथा पशुपंक्षीजन्य बस्तु आयात गर्दा संक्रामक रोग समेत सर्ने जोखिम हुने भएकाले ऐनको प्रभावकारी कार्यान्वयन गरिएको बताए ।
भारतबाट धनगढीको त्रिनगर भन्सार नाकाबाट गाई, गोरु, खसी, बोका, घोडा, खच्चर, झुपु, झुमा, बंगुर, सु“गुर, खरायो, अंगोरा, माछा तथा माछाको भुरा, पिना, मकै, चना (दाना), भटमास, राईसब्रान, फिड सप्लिमेन्ट आयात हुने गरेको पशु क्वारेन्टाइन कार्यालयको तथ्यांकमा उल्लेख छ ।
चालू आर्थिक वर्ष २०७५÷०७६ को पहिलो आठ महिनामा भारतबाट माछा एक सय ३६ दशमलव नौ मेट्रिक टन, भटमासको पिना सात हजार नौ सय सात दशमलव ६८ मेट्रिक टन, मकै पाँच हजार चार सय ८८ दशमलव ४८ मेट्रिक टन तथा एनिमल फिड सप्लीमेन्ट तीन सय १३ दशमलव नौ मेट्रिक टन आयात भएको छ ।
त्यस्तै, यो अवधिमा भारतबाट राइस ब्रान एक सय ७२ दशमलव ५२ मेट्रिक टन, फिस फिड ९० दशमलव ६६ मेट्रिक टन तथा चना एक सय ५४ दशमलव पा“च मेट्रिक टन आयात भएको क्वारेन्टाइन कार्यालयको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, गत आर्थिक वर्ष २०७४÷०७५ मा भारतबाट गाइ, गोरु ८५, खसी, बोका एक हजार दुई सय १४, घोडा, खच्चर दुई सय ५६, बंगुर सुगुर ९२ र माछाको भुरा एक लाख २० हजार वटा आयात भएका थिए ।
त्यस्तै, माछा सात सय मेट्रिक टन, पिना छ हजार सात सय ५५ मेट्रिक टन, मकै छ हजार छ सय ३७, चना (दाना) दुई सय १७, भटमास दुई हजार सात सय ३६, राइस ब्रान ४० र फिड सप्लीमेन्ट ९१ दशमलव ४६ मेट्रिक टन आयात भएको कार्यालयको तथ्यांकमा उल्ल्ेख छ ।
भारतबाट पशुजन्य बस्तु आयात गर्दा स्वास्थ्य परिक्षणसहितको कागजपत्र बनाउन दिल्ली पुग्नुपर्ने अवस्था रहेको कार्यालयले जनाएको छ । भारतमा छ र नेपालमा आठवटा वटा पशु क्वारेन्टाइन कार्यालय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार