४ जेष्ठ २०८१, शुक्रबार

मुक्त हलियाको समस्या समाधान गर्न ध्यानाकर्षण



धनगढी । सुदूरपश्चिम प्रदेशका दलित नेता, अगुवाहरुले मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले बुधबार धनगढीमा आयोजना गरेको मुक्त हलियाका सम्बन्धमा प्रदेशस्तरीय ध्यानाकर्षण कार्यक्रममा प्रदेश सभा सदस्य लगायतका दलित तथा अगुवाहरुले सरकारले मुक्त हलियाको समस्या समाधान गर्न उदासिन भएको बताए । उनीहरुले दलितको समस्या प्याकेजमै समाधान गर्न माग गरेका छन् । मुक्त हलिया लगायत समग्र दलितहरुलाई सरकारले सानो सानो कार्यक्रम मात्रै दिएको गुनासो गरे ।
प्रदेश सांसद् अर्चना गहतराजले दलित सांसद्लाई समेत धनगढीमा डेरा गरी बस्न गाह्रो रहेको बताइन् । प्रदेश सांसद् दुर्गा विकले दलित समुदायलाई सरकारले प्याकेजमा कार्यक्रम दिनुपर्ने र दलित समुदायले पनि विकासमा भूमिका खोज्नुपर्ने र सरकारको भूमिकाको निगरानी गर्नुपर्ने बताइन् ।
प्रदेश सांसद् शान्ति नेपालीले दलित समुदायलाई सरकारले चकलेट बाँडे जस्तै गरी बजेट दिएको बताइन् । कार्यक्रममा प्रदेश सांसद्हरु टेकबहादुर रैका, उमा वादी लगायत नेपाली कांग्रेसका छत्र टेलर, राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय सचिव देवबहादुर विक, नेपाल राष्ट्रिय दलित कल्याण संघ कैलालीका अध्यक्ष चक्रबहादुर विक लगायतका जिल्ला अध्यक्षहरुले मन्तव्य व्यक्त गरेका थिए ।
आयोजक संघका केन्द्रीय अध्यक्ष त्रिलोक चन्द्र विश्वास विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले मुक्त हलिया लगायत दलित समुदायको समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार