आजदेखि हात्तीपाइले रोग विरुद्ध औषधी खुवाइँदै
धनगढी । सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा आज (बुधबार) देखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने भएको छ ।
कैलाली र कञ्चनपुरको कुल जनसंख्यामध्ये १३ लाख ५२ हजार सात सय १७ जनसंख्यालाई यस वर्ष हात्तीपाईले रोगविरुद्धको औषधी सेवन गराउने लक्ष्य रहेको सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कैलालीको नौ लाख २१ हजार एक सय २५ जनसंख्या रहेकामा आठ लाख ३९ हजार सात सय १७ र कञ्चनपुरको पा“च लाख १३ हजारलाई औषधी खुवाईने कार्यक्रम रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कैलाली स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा सन् २०१८ मा आठ सय ५२ हाईड्रोसिल र एक सय ३८ जनामा हात्तीपाईले फेला परेको थियो ।
आजदेखि सञ्चालन हुने हात्तीपाइले रोगबिरुद्धको अभियानको सम्पूर्ण तयारी पूरा भएको सु्दूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए । प्रदेशको निर्देशनालयको कार्यालयमा प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई औषधी सेवन गराएर अभियानको शुभारम्भ गरिने डाक्टर अवस्थीले बताए ।
उनले यस वर्ष हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानको स्वरुप परिवर्तन गरिएको बताए । ‘विगतमा स्वयंंसेविकाबाट तीन दिनसम्म औषधि खुवाउने अभियान सञ्चालन हुने गरेको थियो’ प्रदेश स्वास्थ्य निर्देशक डाक्टर अवस्थीले भने– तर यो वर्ष नया“ स्वरुपमा अर्थात् स्वास्थ्यकर्मीहरुबाटै हात्तीपाइलेको औषधि खुवाइने छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार यस वर्ष स्थानीय तहबाट अभियान सञ्चालन गरिने छ । स्वास्थ्य निर्देशनालयका अनुसार आजदेखि सञ्चालन हुने अभियान स्थानीय तहले १५ दिनसम्म सञ्चालन हुने छ ।
हात्तीपाइले रोगविरुद्धको औषधी हरेक वर्ष एक पटक गरी चारदेखि छ वर्षसम्म खुवाउनुपर्ने हुन्छ । सुदूरपश्चिम प्रदेशले यस वर्ष दुई जिल्लामा अभियानको निरन्तरता दिएको छ भने अन्य सात जिल्लामा भने यस वर्ष अभियान सञ्चालन नहुने निर्देशनालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको नौ वटै जिल्लामा सरकारले सन् २०१३ देखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरेको थियो । औषधि खुवाउने कार्यक्रम पाँचौ चरण पुरा गरी छैठौं चरणमा प्रवेश गरिरहेको अवस्थामा सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा कार्यक्रमको उपलब्धी निराशाजनक देखिएको निर्देशनालयले जनाएको छ ।
सरकारले सन् २०२० सम्म हात्तीपाइले रोगलाई जनस्वास्थ्यको समस्याबाट निवारण गर्ने लक्ष्यसहित सन् २००३ देखि पर्सा जिल्लाबाट सो रोग विरुद्धको औषधि सेवन कार्यक्रम सञ्चालन गरेको थियो ।
सरकारले सन् २०१८ भित्र हात्तीपाइलेको संक्रमण दर एक प्रतिशतभन्दा कम गर्ने लक्ष्य सहित विविध कार्यक्रम गरिरहेको छ ।
हात्तीपाईले विरुद्धको औषधी दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी आमा, सिकिस्त बिरामी (जसले दैनिक क्रियाकलाप गर्न सक्दैनन, ओछ्यानमा परेका, कडा रोग जस्तै, क्यान्सर, मुटु रोगी, कलेजो रोगी, मृगौला रोगी, फोक्सोको दीर्घ रोगी, मिर्गि (छारे रोग) का रोगी, २४ घण्टा भित्रमा ज्वरो आएको, कडा कुपोषण भएका पा“च वर्ष मुनिका बालवालिकाहरूले सेवन गर्न नहुने स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।