२५ आश्विन २०८१, शुक्रबार

प्रधानमन्त्रीलाई धन्यवाद्



धनगढी । सुदूरपश्चिम प्रदेश सभाले सम्बोधन गरेको भन्दै प्रधानमन्त्री केपी शर्माओलीलाई धन्यवाद् दिने प्रस्ताव पास गरेको छ ।
प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेश सभामा फागुन ८ गते सम्बोधन गरेपछि प्रदेशका नागरिकमा उत्साह थपिएको भन्दै प्रदेश सभाले धन्यवाद् प्रस्ताव पास गरेको हो । प्रदेश सभाको सोमबार बसेको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश संसदीय दलका प्रमुख सचेतक तारा लामातामाङले प्रधानमन्त्री ओलीलाई धन्यवाद् दिने प्रस्ताव पास गरियोस् भनि पेश गरेका थिए । उनको प्रस्तावलाई नेकपाका प्रदेश सांसद् विरमान चौधरीले समर्थन गरेका थिए ।
प्रदेश सभाको बैठकमा उपस्थित सत्तारुढ नेकपाका सांसद्ले प्रस्तावमा स्वीकृत गर्नका लागि हुन्छ भनेका थिए भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टीका सांसद्हरुले हुन्छ र हुन्न केही पनि भनेनन् ।
यसैगरी, सुदूरपश्चिम प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा जाने भएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको सोमबारको बैठकले सो विधेयक दफावार छलफलका लागि अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा पठाउने निर्णय गरेको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले दफावार छलफलका लागि सो विधेयकलाई प्राकृतिक स्रोत समितिमा पठाइयोस भनि प्रस्ताव पेश गरेकी थिइन् । सभामुख अर्जुनबहादुर थापाले सो विधेयकमाथि संसद सचिवालयमा उजुरी नपरेको जानकारी दिदै मन्त्री भट्टलाई प्रस्ताव पेश गर्ने समय दिएका थिए ।
प्रदेश सभाको अर्को बैठक फागुन १६ गते बिहान साढे ११ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार