३ माघ २०८१, बिहीबार

दूध तथा दुग्ध पदार्थको स्वच्छता सम्बन्धी निर्देशिकाबारे अन्तरक्रिया



धनगढी । ‘दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर सम्बन्धी निर्देशिका– २०७५’ बारे सरोकारवालाबीच बुधबार धनगढीमा अन्तरक्रिया कार्यक्रम (उपभोक्ता भेला, प्रचार कार्यक्रम) भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीको आयोजनामा भएको अन्तरक्रियामा निर्देशिकामा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तरसम्बन्धी उल्लेख भएका दूध उत्पादन, दूध संकलन, चिस्यान केन्द्र, डेरी उद्योग, दुग्धस्थल र भौतिक पूर्वाधार, पानीको व्यवस्थापन, उद्योगमा फोहर व्यवस्थापन, कामदारको व्यक्तिगत सरसफाई, दूध प्रशोधन तथा प्रशोधन प्रक्रिया, प्याकेजिङ र लेवलिङ, स्वच्छता तथा गुणस्तर व्यवस्थापन, भण्डारण तथा विक्रीवितरण, दूध ढुवानी, नियमन र उद्योग अनुगमनबारे छलफल भएको थियो ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख बरिष्ठ खाद्य अनुसन्धान अधिकृत सुमन धितालले दूधमा स्वच्छता एवं गुणस्तर कायम राख्न सरसफाईमा विशेष ध्यान दिनुपर्ने बताए ।
“दूध दुहुने भाँडो सफा र सुख्खा हुनुका साथै दूध दुहेर अर्काे भाँडोमा खन्याएपछि दुहेको भाडो तुरुन्तै तातो पानी वा साबुन/डिटरजेन्ट पानीले सफा गरी सफा स्थानमा घोप्टो पारेर राख्नुपर्छ” उनले भने– “दूध दुहेपछि संकलन केन्द्र तथा चिस्यान केन्द्र वा प्रशोधन कारखानामा बढीमा दुई घण्टाभित्र पुर्‍याउनुपर्छ । बिहानको दूध बिहानै र बेलुकाको दूध बेलुका नै संकलन केन्द्रमा पुर्‍याउनुपर्छ ।”
उनले दूध दुहुने भाँडो हातले सजिलै सफा गर्ने खालको ठूलो मुख भएको र स्टेनलेस स्टील वा आल्मुनियमबाट बनेको हुनुपर्ने बताए । उनले दूध उत्पादन गर्दा असल पशुपालन, असल चिकित्सा तथा असल सरसफाई अबलम्बन गर्नुपर्नेमा जोड दिए ।
उनले चिस्यान केन्द्रमा संकलन भएको दूधमा पानीलगायत अन्य बाह्य पदार्थ मिसावट भएको दूध खरिद तथा विक्रीवितरण गर्न नहुने, गुणस्तर बिग्रेको वा स्वाद बिग्रेको, फाटेको वा बिगौती दूध खरिद गर्न नहुने बताए । उनले रोगी पशुको दूध वा बिगौती दूध वा स्वच्छता एवं गुणस्तर तोकिए बमोजिम नभएको दूध फिर्ता गर्नुपर्ने बताए ।वरिष्ठ खाद्य अनुसन्धान अधिकृत धितालले उद्योग व्यवस्थापनले दूधमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले हुन सक्ने सम्भावित जोखिमका कारक तत्त्वहरूलाई न्यूनीकरण गर्न पानी तथा वातावरणीय पक्षको उचित व्यवस्थापन गर्नुपर्ने बताए । उनले दुग्ध उद्योगमा चरा, मुसा, कुकुर, बिरालाजस्ता जनावरको प्रवेशमा प्रभावकारी ढंगले रोकथाम गर्नुपर्ने बताए । “चिस्यान केन्द्रबाट प्रशोधन उद्योगसम्म स्टेनलेश स्टील इन्सुलेटेड ट्यांकर वा रेफ्रिजिरेटरसहितको ट्यांकरमा तथा १० डिग्री सेल्सियस तापक्रम नबढाई दूध ढुवानी गर्नुपर्छ” उनले भने– “दुग्ध प्रशोधन उद्योगले निर्देशिकाको अनुसूची–८ अनुसारका गुणस्तर मापदण्ड र सम्भावित मिसावटको परीक्षण गरी स्वच्छता र गुणस्तर सुनिश्चित गरेर मात्र दूध दरिद तथा विक्री गर्नुपर्छ ।”
कार्यक्रमको उद्घाटन गर्दै सुदूरपश्चिम डेरी एसोसिएसनका अध्यक्ष भूपेन्द्र थापाले दूधको स्वच्छता एवं गुणस्तरमा ध्यान दिन दुग्ध व्यवसायीहरूलाई आग्रह गरे ।
कार्यक्रममा दुग्ध डेरी सञ्चालक तथा सरोकारवाला निकाय, संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार