१० श्रावण २०८१, बिहीबार

सुधारिएको चुलोको प्रयोगपछि सहज बन्दै दिनचर्या



धनगढी । कैलारी गाउँपालिका वडा नम्बर ५, छुट्कीपलियाकी जानकी चौधरीको चार वर्षदेखि आँखा पाक्ने समस्या कम भएको छ । चार वर्षअघिसम्म बिहानबेलुका खाना पकाउने वेला सास फुल्ने, खोकी लाग्ने समस्याले हैरान हुने गरेकी जानकीले अहिले यी समस्याबाट पनि छुट्कारा पाएकी छिन् । घरमा सुधारिएको चुलोको प्रयोग हुन थालेपछि उनको स्वास्थ्यमा मात्रै सुधार आएको छैन, दाउरा र समयमा पनि कम लाग्न थालेको छ ।
“अहिले खाना पकाउने वेला आँखा पोल्ने, स्वाँ स्वाँ हुने जस्तो समस्या भोग्नु परेको छैन” हँसिलो अनुहार लगाउँदै उनी भन्छिन्– घरबाहिर धुँवा बाहिर फाल्ने चुलोमा खाना पकाउन थालेपछि यस्ता समस्या कम भएका छन् । उनीबेला परम्परागत चुलोमा खाना पकाउँदा घरभरि धुँवा भरिन्थ्यो । आँखा राता हुन्थे । सास फुलेर आउथ्यो । खोकी लागेर हैरान भइन्थ्यो ।

फाइल तस्बिर

परम्परागत चुलोको प्रयोगले गृहणीलाई मात्रै नभएर घरका बालबालिका, बृद्धबृद्धा समेतमा स्वास–प्रस्वास, आँखा पोल्ने लगायतका समस्या रहने गरेका थिए । “घरमा खाना पाक्न थालेपछि कि त घरबाट बाहिर निस्किनु पथ्र्यौ, कि सहेर बस्नु पर्दथ्यो’ कैलारी गाउँपालिका वडा नम्बर ५, पवेराका बृद्ध टिंगुराम थारुले भने– अहिले यस्ता समस्या हटेका छन् । सुधारिएको चुलोको प्रयोगपछि घर सफा छ । परिवारमा बिरामी हुनेको संख्या पनि घटेको छ । बालबालिकालाई पढ्न लेख्न पनि सजिलो भएको छ ।
सुधारिएको चुलो प्रयोगपछि निकै सहज भएको पवेराकै रञ्जिता चौधरीको पनि अनुभव छ । ‘पहिले खाना पकाउँदा धुँवा भरिएर घरको छाना कालो हुन्थ्यो, सेता कपडा काला हुन्थे । बिजुलीको वल्वसमेत कालो भएर उज्यालो कम दिन्थ्यो’ रञ्जिता भन्छिन्– अहिले त्यस्तो छैन । सुधारिएको चुलो प्रयोग गर्न थालेपछि आँखा पोल्ने र दुख्ने, टाउको दुख्ने, जिउ चिलाउने, घाँटी बस्ने, स्वास फुल्ने जस्ता समस्या कम भएका छन् । बालबालिकालाई राती पढ्न पनि सजिलो भएको छ ।
कैलारी गाउँपालिका वडा नम्बर ५ गोब्रैलाकी गृहणी रमा चौधरीले सुधारिएको चुलो प्रयोगपछि दाउराको खपत कम भएको बताइन् । सुधारिएको चुलोले खाना पकाउदा निस्कने धुँवा चिम्नीले बाहिर फाल्ने भएकाले घर सफा हुने गरेको उनको अनुभव छ ।
कैलाली गाउँपालिका वडा नम्बर ५ का एक हजार एक सय बढि घरपरिवारले सुधारिएको चुलो जडान गरेका छन् । गाउँपालिकाका अनुसार सो वडाका चार सय ८३ परिवारले सुधारिएको चुलो सहित बायोग्यास पनि प्रयोग गरेका छन् । त्यस्तै, पाँच परिवारले सुधारिएको चुलो सहित एलपी ग्यास समेत प्रयोग गरिरहेका छन् ।
कैलारी गाउापालिकाका नायवसुब्बा बलराम चौधरीले वडा नम्बर १ र ३ मा पनि सुधारिएको चुलो जडान गर्ने अभियान शुरु भएको जानकारी दिए । नायवसुब्बा बलरामका अनुसार गत आर्थिक वर्षमा कैलारी गाउँपालिकालाई पूर्ण सरसफाईयुक्त घोषणा गर्न कार्यादेश आएदेखि पूर्ण सरसफाई अभियान अघि बढाइएको छ । उनले आउँदो आर्थिक वर्षसम्म गाउँपालिकाका प्रत्येक घरमा सुधारिएको चुलो लगायत सरसफाईका सबै मापदण्ड पुरा गरी पुरै गाउँपालिकालाई पूर्ण सरसफाईयुक्त घोषणा गरिने बताए । “कैलारी गाउँपालिकाको वडा नम्बर ५ (तत्कालीन पवेरा गाविस) खुला दिसामुक्त घोषणा गर्ने र पूर्ण सरसफाईयुक्त घोषणा गर्ने पहिलो गाविस थियो’ नायव सुब्बा बलरामले भने– जिल्लामा कैलारी गाउँपालिकालाई नै पहिलो पूर्ण सरसफाई स्थानीय तह बनाउने अभियानमा हामी अगाडी बढेका छौं ।
सरसफाई कार्यक्रम अन्तरगत प्रत्येक घरमा चर्पी बनाई प्रयोग गराउने, धारामा फर्स बनाउने, सामान तथा भाँडाकुाडा राख्ने खड बनाउने, घर परिपरि बोटबिरुवा रोप्ने, खाल्डाखुल्डी पुर्ने, खाना खानु अघि र खाइसकेपछि हात धुन सिकाउने, बालबालिकाहरुलाई समेत चर्पीमा दिसापिसाब गर्न प्रोत्साहित गर्ने जस्ता स्वस्थ बानी विकास गर्ने कार्यक्रम चलिरहेको नायव सुब्बा बलरामले बताए । उनले भने– कैलारीलाई पूर्ण सरसफाईसंगै घरभित्रको धुवामुक्त बनाउने योजनामा हामी छौ ।
सुधारिएको चुलोको प्रयोगले मानिसलाई धुवाजन्य रोगबाट मुक्त गराउनुका साथै दाउरा बचत गरी कार्वन उत्सर्जन कम हुन गई वातावरण समेत स्वच्छ राख्न मद्दत गरेको छ । यसले जलवायु परिवर्तन न्यूनिकरणमा मद्दत पुगेको प्राविधिकहरु बताउछन् ।
बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका ईञ्जिनियर दिनेश त्रिपाठीका अनुसार सुधारिएको चुलोमा कार्बन समेत जल्ने भएकाले यसले कार्बन उत्सर्जनमा समेत कमी ल्याई जलवायु परिवर्तनमा मद्दत पुर्‍याउछ । अन्य बैकल्पिक तथा नविकरणीय उर्जाको तुलनामा सुधारिएको चुलो बनाउन निकै सस्तो हुने गरेको छ । सुदूरपश्चिम प्रदेशमा सुधारिएको चुलोको अवधारणा ल्याएका कैलाली कञ्चनपुर ग्रामीण विद्युतीकरण छाता संघठनका जिल्ला कार्यक्रम संयोजक भरत शाहीका अनुसार सुधारिएको चुलो बनाउन सातदेखि आठ सय रुपैयाँ खर्च लाग्छ ।
नेपाल सरकारले मुलुकलाई नै घरभित्रको धुावा मुक्त घोषणा गर्ने लक्ष लिएको छ । त्यसका लागि सरकारले ‘वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र/राष्ट्रिय ग्रामीण तथा नविकरणीय उर्जा कार्यक्रम/जैविक उर्जा सह ईकाई’ गठन गरी देशैभर वायोग्यास, सुधारिएको चुलो प्रगोय गराई घरलाई धुावा मुक्त बनाउने अभियान नै चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार