१० श्रावण २०८१, बिहीबार

औंलोका रोगी बढ्दै



धनगढी । कैलालीमा आयातित औंलो रोगका बिरामी बढ्दै गएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय धनगढीले दिएको तथ्यांकअनुसार चार वर्षमा स्थानीय भन्दा आयातित औंलोका बिरामी बढ्दै गएको देखिएको छ । स्थानीय औंलोका बिरामी घट्दै गएपनि बर्सेनि आयातित औंलोका बिरामी बढ्दै गएको कैलाली जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।
कैलालीमा आर्थिक वर्ष २०७५/७६ को हालसम्म ८२ जना औंलोका बिरामी फेला परेका छन् । सो मध्ये आयातित औंलोका बिरामी ६१ जना रहेका छन् भने २१ जना स्थानीय औंलोका बिरामी रहेको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०७४/७५ मा तीन सय औंलोका बिरामी रहेकोमा दुई सय पाँच आयातित र ९५ जना स्थानीय, आर्थिक वर्ष २०७३/७४ मा दुई सय ७१ बिरामी रहेकोमा एक सय ७० आयातित र एक सय एक स्थानीय, आर्थिक वर्ष ०७२/७३ मा दुई सय विरामी रहेकोमा एक सय २३ आयातित र ७७ स्थानीय, आर्थिक वर्ष ०७१/७२ मा दुई सय ६८ बिरामी रहेकोमा एक सय ६७ आयातित र एक सय एक स्थानीय औंलोका बिरामी फेला परेको तथ्यांकले देखाएको छ ।
संसारमा पाइने औंलो परजीवीमध्ये दुई परजीवीहरू प्लाज्मोडियम फाल्सिपेरम र प्लाज्मोडियम भाइभेक्स जातका परजीवी मात्र नेपालमा पाइन्छ । प्लाज्मोडियम फाल्सिपेरम र प्लाज्मोडियम भाइभेक्स जातका परजीवी मात्र नेपालमा पाइन्छ । यी दुईमध्ये प्लाज्मोडियम फाल्सिपेरमले गराउने औंलो रोग बढी कडा र खतरनाक मानिन्छ ।
कैलालीमा प्लाज्मोडियम भाइभेक्सका बिरामी बढी रहेपनि प्लाज्मोडियम फाल्सिपेरमका बिरामी घट्दै गएको छ । कैलालीमा आर्थिक वर्ष २०७५/७६ को हालसम्म तीन जना प्लाज्मोडियम फाल्सिपेरम बिरामी फेला परेका छन् । आर्थिक वर्ष ०७४/७५ मा १७, आर्थिक वर्ष ०७३/७४ मा २०, आर्थिक वर्ष ०७२/७३ मा १७ र आर्थिक वर्ष ०७१/७२ मा २५ जना प्लाज्मोडियम फाल्सिपेरम औंलो बिरामी फेला परेका थिए ।
कैलाली जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा साविकका २६ वडा औंलोको उच्च जोखिम क्षेत्र र ७९ वडा मध्यम रहेका छन् ।
सन २०२२ भित्र जिल्लामा शुन्य औंलोका बिरामी बनाउने लक्ष्य र नेपाल सरकारले सन् २०२५ भित्र नेपाललाई औंलोमुक्त राष्ट्रको रूपमा पुर्‍याउने उद्देश्यका साथ विभिन्न क्रियाकलाप गर्दै आएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले जिल्लामा जनचेतना मुलक कार्यक्रम, किटनाशक झुल वितरण तथा छिडकाउ गर्ने, स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि, औषधि तथा सामग्रीहरूको नियमित आपूर्ति लगायतका क्रियाकलाप गरिरहेको जनाएको छ ।

रगत परीक्षण गरौं– स्वास्थ्यकर्मी
भारतको बरेलीमा औंलोका कारण ५४ जनाको मृत्यु भएपछि कैलाली कञ्चनपुरमा सर्तकता अपनाइएको छ ।
कैलाली र कञ्चनपुर क्षेत्र सीमा नजिक भएकाले औंलोको जोखिम बढ्ने देखिएपछि स्वास्थ्यकर्मीहरूले स्थानीयहरूलाई सचेत रहन आग्रह गरेका छन् ।
शुक्रबार जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले आक्समिक बैठक बसेर जिल्लाको सीमा नजिक ‘हेल्थ डेस्क’ स्थापना गर्ने निर्णय गरेको छ । कैलालीको धनगढीस्थित गौरीफण्टा नाका र टीकापुरको खक्रौला नाकाका साथै कञ्चनपुरको गड्डा चौकीमा सो हेल्थ डेस्क राखिने छ ।
भारतबाट नेपाल आउने नेपालीहरूको रगत परीक्षण गरी औंलो भएको/नभएको पहिचान गर्ने छ । जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले “यदि कसैमा औंलो देखिए त्यही औषधि उपचार गरेर ठिक गरी पठाइनेछ ।”
यस्तै, बैठकले रोगलाई फैलन नदिन लक्षण देखिएका व्यक्तिहरूलाई उपचारको पहुँचमा ल्याउने, स्थानीय सञ्चारमाध्यमबाट सूचना प्रवाह गर्ने, बढी भिड रहेका क्षेत्रमा जनचेतनामूलक पर्चा पम्पलेट वितरण गरिने लगायतका निर्णय गरेको छ । बैठकले
कार्यक्रममा सहभागित प्रदेशको स्वास्थ्य निर्देशनालयका क्षेत्रीय निर्देशक डाक्टर गुणराज अवस्थीले औंलोको जोखिम बढ्न नदिन सबै स्वास्थ्यकर्मीहरूलाई सर्तक रहन आग्रह गरे ।
“अहिले भारतको बरेलीमा देखिएको प्लाज्मोडियम फाल्सिपेरम औंलो यस प्रदेशमा प्रवेश भएमा नियन्त्रण गर्न चुनौति देखिने छ” उनले भने, “यसको नियन्त्रणका लागि विशेष त सीमा क्षेत्रमै रोगको पहिचान गरी नियन्त्रण गर्न सक्नुपर्छ ।” उनले यो रोग लामखुट्टेबाट सर्ने भएकाले सबै स्थानीयहरू सचेत हुनुपर्ने बताए ।
घर आँगन सफा राख्ने, राति सुत्दा झुलको प्रयोग गर्ने, घरको वरिपरि पानी जम्न नदिने, लामखुट्टे भगाउन धुपको प्रयोग गर्ने लगायतका क्रियाकलाप गर्न स्थानीयसँग आग्रह गरे । उनले यदि औंलोका कुनै लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य चौकीमा गएर रगत परीक्षण गर्न पनि आग्रह गरे ।
कैलाली जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा भदौ र असोजमा मात्र बरेलीबाट आएका नौ जना औंलोका बिरामी फेला परेका छन् ।
कैलाली जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक महेश चन्दले निजी अस्पतालहरूमा पनि यसबारे जानकारी गराइनुपर्ने सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार