२२ बैशाख २०८१, शनिबार

सुदूरपश्चिममा माछा उत्पादन : आन्तरिक उत्पादनले ४२ प्रतिशत मात्रै धान्ने



धनगढी । सुदूरपश्चिम प्रदेशमा अहिले पनि माछाको मागको करिब ४२ प्रतिशतमात्रै आन्तरिक उत्पादनले धान्ने गरेको छ । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा प्राकृतिक तथा मानव निर्मित तालमा माछा पालन गरिन्छ भने प्रदेशका बाँकी पहाडी जिल्लामा नदी तथा खोला तथा प्राकृतिक तालबाट संकलन गरिने गरिएको छ ।
कैलालीको गेटामा रहेको मत्स्य विकास केन्द्रका अनुसार कैलाली र कञ्चनपुरमा वार्षिक दुई हजार मेट्रिक टन माछा उत्पादन हुने गरेको छ । कैलाली र कञ्चनपुरमा मात्रै वार्षिक चार हजार आठ सय मेट्रिक टन माछा खपत हुने गरेको छ । केन्द्रका अनुसार प्रदेश भरी वार्षिक करिब १० हजार मेट्रिक टन माछा खपत हुने गरेको छ ।
मत्स्य विकास केन्द्रका अनुसार कैलाली र कञ्चनपुरमा एक हजार ५० जना किसानले एक हजार सात सय ५० हेक्टर जमिनमा रहेको पोखरीमा माछापालन गर्दै आएका छन् । तीमध्ये एक हजार तीन सय हेक्टर प्राकृतिक र दुई सय ५० हेक्टर कृत्रिम ताल रहेका छन् । कृत्रिम तालमा प्रति हेक्टर वार्षिक तीन मेट्रिक टन र प्राकृतिक तालमा प्रति हेक्टर एक मेट्रिक टन माछा उत्पादन हुने गरेको छ ।
मत्स्य विकास केन्द्रका वरिष्ठ मत्स्य विकास अधिकृत दीपक भूषालका अनुसार कैलाली र कञ्चनपुरमा ग्रासकार्प, सिल्भरकार्प, विगेटकार्प, रौ, नैनी र भाकुर जातका माछा बढी पालन हुने गरेको छ ।
उनका अनुसार दश वर्षको अवधिमा कैलाली र कञ्चनपुरमा माछापालन व्यवसाय निकै फस्टाएको छ । उनले भने– “एक दशक अघिसम्म यी दुई जिल्लामा करिब ९० प्रतिशत भारतबाट आयात हुने माछा खपत हुने गरेका थिए । तर, यो दश वर्षको अवधिमा आन्तरिक उत्पादनले माछाको मागको करिब ४२ प्रतिशत आपूर्ति हुन थालेको छ ।
विभिन्न प्रजातिका माछाका भूरा उत्पादन गरेर मत्स्यपालक किसानलाई बिक्रीवितरण गर्दै आएको मत्स्य विकास केन्द्र गेटामा पछिल्ला वर्षहरूमा लक्ष्यभन्दा निकै बढी परिमाणमा भूरा उत्पादन भइरहेको छ । वरिष्ठ मत्स्य विकास अधिकृत भूषालका केन्द्रमा ह्याचलिङ, फ्राई, फिंगरलिङ र एडभान्स फिंगरलिङ साइजका माछाका भूरा उत्पादन गरी बिक्रीवितरण हुने गरेका छन् ।
केन्द्रका अनुसार गत आर्थिक वर्ष २०७४/०७५ मा एक करोड ४० लाख ह्याचलिङ उत्पादन गर्ने लक्ष्य रहेकोमा एक करोड ९० लाख ७० हजार उत्पादन भएको थियो ।
त्यस्तै, २० लाख फ्राई उत्पादन गर्ने लक्ष्य रहेकोमा २० लाख २३ हजार उत्पादन भएको थियो भने २५ लाख फिंगरलिङ उत्पादन गर्ने लक्ष्य राखिएकोमा २७ लाख ८५ हजार उत्पादन भएको थियो । त्यस्तै, गत आर्थिक वर्षमा केन्द्रले एडभान्स फिंगर एक लाख गोटा बिक्री गरेको थियो ।
त्यस्तै, चालू आर्थिक वर्षको साउन र भदौ महिनामा एक करोड दुई लाख ५० हजार ह्याचलिङ, सात लाख ९५ हजार फ्राई, ११ लाख ५० हजार फिंगर तथा तीन लाख ७० हजार एडभान्स फिंगर उत्पादन गरि बिक्रीवितरण भइसकेको छ ।
मत्स्य विकास केन्द्रले गत आर्थिक वर्ष माछाको भूरा विक्रीबाट ३९ लाख पाँच सय रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । चालू आर्थिक वर्षको साउन र भदौ महिनाको अवधिमा भूरा बिक्रीबाट १७ लाख रुपैयाँ राजश्य संकलन गरेको छ ।
वरिष्ठ मत्स्य विकास अधिकृत भुषालका अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिनामा भएको भूरा बिक्री क्रम जारी रहेमा चालू आर्थिक वर्षमा ५० लाख रुपैयाँ बढी राजश्व संकलन हुने अनुमान रहेको छ । मत्स्य विकास केन्द्रले पुस, माघ र फागुन महिना बाहेक नौ महिना भरी माछाका भूरा विक्रीवितरण गर्ने गरेको छ ।
सो केन्द्रबाट तराईका कैलाली र कञ्चनपुर जिल्लामा सबैभन्दा बढी भूरा विक्री भइरहेको छ । भने फाटफुट रूपमा डडेल्धुरा, डोटी र अछाममा पनि भूरा आपूर्ति हुने गरेको छ । त्यस्तै, प्रदेश पाँचका बाँके र बर्दिया जिल्लामा पनि मत्स्य विकास केन्द्र, गेटाबाट समेत माछाका भूरा बिक्री हुने गरेको छ ।
पछिल्ला वर्षहरूमा कैलाली, कञ्चनपुरमा माछापालन व्यवसाय निकै फस्टाएको तथ्यांकले देखाएको छ । माछा पालनमा कम झंझट हुने, कम कामदार आवश्यक पर्ने, माछामा प्राय: रोग नलाग्ने भएकोले माछापालन फस्टाएको किसानहरूको भनाई रहेको छ ।
माछापालनमा किसानलाई प्रोत्साहित गर्न मत्स्य पालन केन्द्र, गेटाले ३६ वटा पोखरीमध्ये १८ मा भूरा उत्पादन, १२ मा माउको व्यवस्थापन, तीनमा शुद्ध नश्ल व्यवस्थापन र एक पोखरीमा खाने माछा उत्पादन गरिरहेको जनाएको छ । मत्स्य विकास केन्द्रले भूरा उत्पादनका लागि २० बिघा जमिनमा पोखरी निर्माण गरेको छ ।
कैलाली र कञ्चनपुरमा चालू आर्थिक वर्षमा ८० करोड रुपैयाँको माछा बिक्री हुने अनुमान गरिएको छ । वरिष्ठ मत्स्य विकास अधिकृत भुषालका अनुसार गत आर्थिक वर्षमा कैलाली र कञ्चनपुरमा ५५ करोड रुपैयाँको माछा बिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार