१० श्रावण २०८१, बिहीबार

मानसिक रोगी बढ्दै



धनगढी । कैलालीमा पछिल्ला वर्षहरूमा मानसिक रोगीहरूको संख्यामा निरन्तर बृद्धि आइरहेको छ । जिल्ला जनस्वासथ्य कार्यालय कैलालीका अनुसार जिल्लामा सात हजार २७ जना मानसिक स्वास्थ्य समस्या भएका विरामी रहेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा जिल्लामा दुई हजार सात सय एक जना मानसिक रोगी रहेका थिए ।
त्यस्तै, आर्थिक वर्ष २०७३/०७४ मा दुई हजार तीन सय ३४ जना र २०७४/०७५ मा एक हजार नौ सय सय ९२ जना नयाँ मानसिक रोगी थपिएका थिए ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख टंकप्रसाद चापागाईंका अनुसार जिल्लामा रहेका ३७ वटा स्वास्थ्य चौकी, चार वटा प्राथमिक स्वास्थ्य केन्द्र, दुई वटा अस्पताल (टीकापुर र मालाखेती), १७ वटा सरकारी निकायमा दर्ता भएका निजी अस्पताल र सामुदायिक सहरी स्वास्थ्य केन्द्रमा मानसिक रोगीको उपचार भइरहेको छ ।
तथ्यांकअनुसार कैलालीमा रहेका मानसिक रोगीमध्ये सबैभन्दा बढी डिप्रेशनका विरामी देखिएका छन् । हाल कैलालीमा एक हजार सात सय ८७ जना डिप्रेसनबाट पीडित रहेका छन् ।
त्यस्तै, एक हजार छ सय ७५ जनामा चिन्तारोग, पाँच सय दुई जनामा मृर्गीरोग, र दुई सय ४८ जनामा कडा खालको मानसिक असन्तुलन रहेको पाइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख चापागाईंका अनुसार सेती अञ्चल अस्पतालमा उपचारका लागि आउने मानसिक रोगीको संख्या समेत जोड्दा कैलालीमा मानसिक रोगीको संख्यामा अझ बृद्धि हुने छ ।
त्यस्तै, धेरै बिरामी भारतका विभिन्न शहरमा गएर उपचार गराउने गरेको तथा विभिन्न कारणले कतिपय बिरामी उपचारमा नै आउने गरेका छैनन् ।
त्यस्तै, कैलाली जिल्लामा मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नेपालको कार्यक्रम लागू भएको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा एक सय ७४ जना, जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ७९ जना, उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक सय ३१ जना, चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा ८१ जना र मालाखेती अस्पतालमा दुई सय ६७ जना मानसिक स्वास्थ्य समस्याको उपचार गराई सकेका छन् ।
परामर्श केन्द्रका मानसिक स्वास्थ्य संयोजक बिष्णुप्रसाद प्रजापतिका अनुसार स्वास्थ्य संस्थामा जचाउन आउने विरामीमा डिप्रेशन र चिन्ताको विरामी बढी रहेको बताए । त्यस्तै, मानसिक असन्तुलन, मृर्गीरोगको बिरामी पनि कैलालीमा धेरै रहेको संयोजक प्रजापतिले बताए ।
धेरैजसो बिरामी सीमावर्ती भारती अस्पतालमा गएर जचाउने, जनचेतना अभावका कारण घरमै लुकाउने प्रवृत्ति रहेकोले पनि धेरै विरामी अझैं उपचारवाट वञ्चित रहेको उनको ठम्याई छ ।
मानसिक स्वास्थ्य स्वावलम्वन समूह जिल्ला सञ्जाल कैलालीका अध्यक्ष ईश्वरा विक मानसिक बिरामीलाई समयमै औषधोपचार गराउन सके निको बनाउन सकिने बताउँछिन् ।
सन् २००७ मा विश्व स्वास्थ्य संगठनले गरेको अध्ययन अनुसन्धान अनुसार विश्वमा मानसिक रोगका विरामी २५ देखि ३० प्रतिशत रहेका छन् ।
त्यस्तै, नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी संस्था तथा स्वास्थ्यकर्मीहरूको भनाई अनुसार २० देखि २५ प्रतिशत जनतामा कुनै न कुनै प्रकारको मानसिक समस्या रहने गरेको छ ।
२०६८ सालमा गरिएको जनगणना अनुसार कैलालीमा सात लाख ७५ हजार जनसंख्या रहेको छ । यो जनसंख्यालाई आधारमा कैलालीमा एक लाख ५५ हजार जनामा कुनै न कुनै मानसिक समस्या हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार