१० श्रावण २०८१, बिहीबार

बालिका कक्षा : छात्राहरूको सिकाई क्षमतामा बृद्धि



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १४, डिगाउँ फूलबारीस्थित जनजागृति माध्यामिक विद्यालय । २०७५ साल असोज १२ गते, शुक्रबार । दिउँसो २ बजेको समय । जनजागृति माविको चार वटा कक्षामा छात्राहरू निकै ध्यानपूर्वक शिक्षकले पढाएको टिपोट गरिरहेका छन् । कक्षामा शिक्षकको स्वरमात्रै गुन्जिरहेको छ ।
झट्ट सुन्दा यो यो कुनै विद्यालयको नियमित कक्षा हो भन्ने भान पर्ला, तर त्यस्तो होइन । जनजागृति माविले “सिमान्तकृत बालिका शिक्षामा सहयोग परियोजना (स्टिम–२)” अन्तर्गत सञ्चालन गरेको ‘बालिका शिक्षा’ कार्यक्रम हो । शिक्षामा बालिकाको पहुँच बृद्धिका लागि सञ्चालित कक्षामा छात्राहरुको मात्र सहभागिता रहने गरेको छ ।
बालिका कक्षामा जनजागृति माध्यामिक विद्यालयका कक्षा ९ र १० का छात्राहरुको सहभागिता रहेको थियो । कक्षा ९ ‘ए’ ब्लकमा ३१ जना र ‘वि’ ब्लकमा ३३ जना छात्रा सहभागी थिए भने कक्षा १० को ‘ए’ ब्लकमा २६ जना र ‘वि’ ब्लकमा २३ जना गरि एक सय १३ जना छात्राहरु बालिका कक्षामा सहभागी थिए ।
बालिका कक्षामा विद्यालयले गणित, विज्ञान, नेपाली र अंग्रेजी विषयका साथै जीवन उपयोगी सीप, प्रजनन् स्वास्थ्य विषयमा अध्यापन गराउने गरेको छ । जनजागृति माविका प्रधानाध्यापक टेकबहादुर क्षेत्रीले भने– हरेक शुक्रबार दिउँसो दुई बजेदेखि चार बजेसम्म र शनिबार बिहान दुई घण्टा यो कक्षा कक्षा सञ्चालन गरिरहेका छौं ।
बालिका कक्षा अन्तर्गत ‘नियमित कक्षामा छात्राहरुले नबुझेको विषय र साताको छ दिनसम्म पढेका कुराहरु पुन: पढाइने गरिएको’ छ । विद्यालयका प्रधानाध्यापक क्षेत्रीले भने– नियमित कक्षामा छात्राहरुले जुन विषय बुझेका हुँदैनन्, बालिका कक्षामा हामीले त्यो विषयमा बुझाउने गरि फेरि अध्यापन गर्छौ ।’ उनले यो कक्षा छात्राहरुको नेतृत्व तथा सीप विकास गर्न केन्द्रीत कक्षा रहेको बताए ।
शिक्षकहरूका अनुसार ‘नियमित कक्षाहरुमा प्राय: छात्राले नबुझेको कुरा सोध्न हिच्किचाउने गर्दछन् । जसले गर्दा उनीहरुको सिकाई उपलब्धी कमजोर हुने गर्दछ ।’


प्रधानाध्यापक क्षेत्रीको अनुभवमा “बालिका कक्षा कक्षा सञ्चालन भएपछि छात्राहरु नियमित कक्षा कोठामा नबुझेका कुरा निर्धक्कसं शिक्षकलाई सोध्ने गरेका” छन् । उनी भन्छन्– यी कक्षाले छात्राहरुमा प्रश्न गर्ने क्षमतामा बृद्धि भइरहेको छ ।
छात्राहरुलाई अध्यापन गराउन विद्यालयले सोही विषयका शिक्षकलाई अत्तिरिक्त समयको थप पारिश्रमिक प्रदान गरिरहेको छ ।
शुक्रबार बालिका कक्षा अवलोकनपछि धनगढी उपमहानगरपालिका, शिक्षा शाखा अधिकृत वीरबहादुर नेपालीले “छात्राहरुको सिकाई उपलब्धी बृद्धिका लागि बालिका कक्षा कार्यक्रम प्रभावकारी रहेको” बताए । उनले जनजागृति माविलाई कक्षा छ देखिनै बालिका कक्षा सञ्चालन गर्न सुझाव दिए ।
जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत योगेन्द्र ओझाले बालिका कक्षा कार्यक्रमलाई दिगो बनाउन जरुरी रहेको बताए । उनले भने– अहिले संघसंस्थाको परियोजनाको सहयोगमा विद्यालयले कार्यक्रमलाई सञ्चालन गरिरहेको छ । तर, भोली यो परियोजना सकिए पनि यसलाई निरन्तरता दिनेबारे अहिलेदेखि नै विद्यालयले तयारी गर्नु आवश्यक छ । जिससका कार्यक्रम अधिकृत ओझाले स्थानीय तहसंग सहकार्य गरेर विद्यालयहरुले यो कार्यक्रमलाई निरन्तरता र दीगो बनाउनु जरुरी रहेको बताए ।
सो परियोजना अन्तर्गत जनजागृति माविका साथै कैलालीका छ वटा स्थानीय तहका ३० वटा विद्यालयमा बालिका कक्षा कार्यक्रम सञ्चालन गरिरहेको परियोजनाका कार्यक्रम संयोजक लक्ष्मण चौधरीले बताए । कार्यक्रम संयोजक चौधरीका अनुसार धनगढी उपमहानगरपालिकाका १४, गौरिगंगा नगरपालिकाका तीन, घोडाघोडी नगरपालिकाका चार, टीकापुर नगरपालिकाका दुई, कैलारी गाउँपालिकाका छ र वर्दगोरिया गाउँपालिकाको एक विद्यालयमा यो कार्यक्रम सञ्चालनमा रहेको छ ।
कार्यक्रमले छात्राहरुको सिकाई उपलब्धी बढाउनसंगै छात्राहरुको नियमित कक्षामा उपस्थिती बृद्धि गर्ने उद्देश्य लिएको छ । यसका लागि परियोजनाले अभिभावक, शिक्षक र विद्यार्थीहरुसंग छलफल, विद्यालयमा भौतिक संरचना निर्माण, स्रोत व्यवस्थापन, शिक्षकहरुको क्षमता अभिवृद्धिका तालिम लगायतका क्रियाकलाप गरिरहेको बताए ।
कार्यक्रम संयोजक चौधरीले परियोजनाले विद्यालयमा अध्ययनरत छात्राहरुको दृष्टिकोण परिवर्तनका लागि समेत टेवा पुर्‍याइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार