१० श्रावण २०८१, बिहीबार

विद्यालय सुधार योजना सम्बन्धी अभिमुखीकरण



धनगढी । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर ९, बंगराकटानस्थित सरस्वती आधारभूत विद्यालयमा सहभागितामूलक विद्यालय सुधार योजना सम्बन्धी अभिमुखीकरण भएको छ ।
राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमको न्यूनतम मापदण्ड निर्धारण गर्न, विद्यालय व्यवस्थापन समिति तथा अभिभावक शिक्षक संघलाई वार्षिक विद्यालय सुधार योजना निर्माण गर्न र प्रारम्भिक कक्षा पढाइसम्बन्धी गतिविधि समावेश गर्न सहयोग गर्न तथा जिल्लामा रहेका सबै विद्यालयहरूलाई प्रारम्भिक कक्षा पढाइसँग सम्बन्धित वार्षिक विद्यालय सुधार योजना समीक्षा र निर्माण गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
कार्यक्रममा विद्यालयको शैक्षिक, आर्थिक, सामाजिक, भौतिक अवस्थाको सुक्ष्म विश्लेषण गरी गुणस्तरीय शिक्षा, प्रारम्भिक कक्षा पढाईमा सुधार, समुदायमा रहेका शिक्षा सरोकारवालाहरूको सक्रिय सहभागिता अनुरूप वार्षिक रूपमा अद्यावधिक, प्रारम्भिक कक्षा पढाइ कार्यक्रमलाई विद्यालय सुधार योजनामार्फत संस्थागत गर्न, प्रारम्भिक कक्षा पढाइसँग सम्बन्धित क्रियाकलापलाई विद्यालय सुधार योजनामा कसरी समावेश गर्ने र प्रारम्भिक कक्षा पढाई सीपको कार्यान्वयनका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सघंको क्षमता विकास लगायतका विषयमा सहभागीहरूलाई अभिमुखीकरण गरिएको थियो ।
विद्यालय सुधार योजनामा कक्षा १ देखि ३ सम्म छापामय वातावरण कक्षा कोठा निर्माण गर्ने, शिक्षक अभिभावकहरूको नियमित अन्तरक्रिया गर्ने, पढाई महोत्सव, पढाई शिविर गर्ने, अभिभावकलाई घरमा पढाई वातावरणलाई प्रवद्र्धन गर्न र नियमिति विद्यालय भ्रमण गरी आफ्ना बालबालिकाको सिकाइ उपलब्धि जानकारी हासिल गर्न शिक्षकले विद्यार्थी केन्द्रित शिक्षण सिकाइलाई प्रवद्र्धन गर्ने संस्कृति विकासका लागि सान्दर्भिक औजार प्रयोग गरी अभिभावक अभिभावक बीच र शिक्षक अभिभावकबीच नियमित छलफल गर्ने योजना रहेको विद्यालयका प्रधानाध्यापक मीरा कर्णले बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सुनिता चौधरीले योजनाले कक्षा एक देखि तीन सम्मका विद्यार्थीहरूको पठन सीपमा पर्याप्त सहयोग पुर्‍याउने बताए । कार्यक्रममा विद्यालयका शिक्षक पशुपति चौधरी, शिक्षक अभिभावक संघका अध्यक्ष केशव पौडेल लगायतकाले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार