५ जेष्ठ २०८१, शनिबार

बझाङलाई मदिरा निषेधित जिल्ला बनाउने निर्णय



बझाङ । प्रदेश सातको पहाडी जिल्ला बझाङलाई मदिरा निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरिएको छ । शुक्रबारदेखि शुरु भएको जिल्ला समन्वय समितिको दोस्रो जिल्ला सभाको दोस्रो बैठकले जिल्लाका सबै गाउँपालिका तथा नगरपालिकामा मदिरा पूर्णरूपमा निषेध गर्ने निर्णय गरेको जनाइएको छ ।
जिल्ला सभाको दोस्रो बैठकमा जिल्लाभरि मदिरा ओसारपसार तथा बिक्रीवितरण गर्ने कार्यलाई असोज १ गतेदेखि पूर्णरूपमा बन्द गर्ने निर्णय भएको छ । बैठमा जिल्लामा मदिरा नियन्त्रण वा निषेध गर्ने भन्नेबारे व्यापक छलफल भएको सहभागीहरूले बताए । छलफलका क्रममा अधिकांस गाउँपालिका अध्यक्षहरूले मदिरा निषेध गर्नुभन्दा पनि नियन्त्रण गर्ने पक्षमा धारणा राखेको भए पनि अधिकांस उपाध्यक्षहरूले निषेधको पक्षमा अडान राखेका थिए ।
जयपृथ्वी नगरपालिकाका उपप्रमुख जुना जाग्रीले मदिराका कारण समाजमा विकृति, विसंगति निकै बृद्धि भएकाले निषेध गर्नुपर्ने बताइन् ।
बझाङमा पटकपटक मदिरा निषेध गर्नका लागि प्रयास भएपनि सम्भव भएको छैन । आर्थिक वर्ष २०६६/०६७ सालको जिल्ला परिषदले बझाङलाई मदिरा निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरे पनि व्यापारीहरूको आन्दोलनपछि सो सनर्णय कार्यान्वयन हुनसकेको थिएन ।
नागरिक समाज तथा महिलाहरूको व्यापक दवावबाट मदिरा निषेध गर्ने निर्णय भए पनि कार्यान्वयनमा समस्या देखापरेपछि पुन: खुल्ला भएको थियो ।
केदारस्यू गाउँपालिकाका अध्यक्ष ईन्द्र भण्डारीले यस पटक पनि हचुवाका भरमा निर्णय भएको बताए । उनले भने– आउदा चार वर्ष विकास निर्माण कार्यमा ध्यान दिने कि जाडरक्सीका पछाडि लागेर समय व्यतित गर्ने ?
प्रतिनिधि सभा सदस्य आशा विकले लामो समयदेखि बझाङमा मदिरा निषेधको आवाज उठिरहेको भए पनि बल्ल जिल्ला सभाले निर्णय गरेको बताईन् । उनले भनिन्– मदिराका कारण सबैभन्दा महिलाले पीडा भोग्नु परिरहेकोले यो निर्णय पूर्णरूपमा कार्यान्वयन हुनु पर्दछ ।
बझाङ जिल्लामा हुने अपराधिक घटनाहरूमध्ये ९८ प्रतिशत मदिराकै कारण हुने गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । बझाङमा जाडरक्सीका कारण हरेक वर्ष १० देखि २० जनाको मृत्यु हुने गरेको र महिला हिंसा, बलात्कारका घटनामा समेत बृद्धि भएको प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार