१० श्रावण २०८१, बिहीबार

तल्लो सोराडमा चितुवाको त्रास



बैतडी । बैतडीको तल्लो सोराडमा चितुवाको त्रास बढेको छ । राति बाहिर जान त परको कुरा, दिनमा घरमा एक्लै बस्न पनि डर लाग्ने स्थानीयबासिन्दा बताउँछन् । सात वर्ष यता मात्रै तल्लो सोराड क्षेत्रमा चितुवाको आक्रमणबाट २३ जनाको ज्यान गइसकेको छ भने दजर्नौं घाइते भएका छन् । तर चितुवा नियन्त्रणको लागि सम्बन्धित निकायले चासो नदिँदा स्थानीयबासिन्दा त्रासमा दिन बिताउन बाध्य छन् ।
बैतडी जिल्लालाई चितुवा प्रभावित जिल्ला भनेर भन्ने गरिन्छ । विशेषगरी तल्लो स्वराडमा पर्ने मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका लगायतका स्थानीय तहमा अहिले चितुवाको त्रास कायमै छ ।
मेलौली नगरपालिकाको वडा नम्बर ८ र ९ मा मात्रै अहिलेसम्म झन्डै एक दर्जनको चितुवाको कारण ज्यान गइसकेको छ । त्यति नै संख्यामा घाइते भएका छन् । घाइतेहरूलाई राहत त परको कुरा, जिल्ला वन कार्यालयले उनीहरूको तथ्यांक समेत संकलन गर्न सकेको छैन् । आफूजस्ता धेरै घाइते र चितुवा पीडित परिवारले राहत समेत नपाएको मेलौली नगरपालिका–९, असुरकी ४२ वर्षीया कुन्धादेवी भट्टले बताइन् ।
राज्यसँग सुरक्षाको लागि पटक–पटक हारगुहार गरे पनि कुनै चासो नदिएको स्थानीयबासिन्दाको गुनासो छ । चितुवाको आक्रमण बढ्न थालेपछि बालबालिका विद्यालय जानबाट वञ्चित हुनुका साथै स्थानीय वासिन्दाको दैनिक कामकाज समेत प्रभावित हुने गरेको छ । एक्लै जंगलमा घाँस दाउरा गर्न जान नसक्ने स्थानीय वासिन्दा बताउँछन् ।
२०७३ साल भदौ महिनामा चितुवा वस्तीमा पसेर आतंक मच्चाउन थालेपछि स्थानीय वासिन्दाले सुरक्षाको माग गरे । चितुवाले लगातार तल्लोसोराडको उदयदेवमा दुई बालिकाको ज्यान लिएपछि १५ जना प्रहरी हतियार सहित चितुवा मार्ने भनेर परिचालन गरिए । तर चितुवा मार्न त के देख्न समेत सकेनन् । अन्त्यमा टोली त्यसै फर्कियो ।
अघिल्लो वर्ष पनि चितुवाले आतंक मच्चाएपछि नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनरक्षकको टोली खटिए । तर, त्यो टोली पनि केही गर्न सकेन ।
चितुवा प्रभावित क्षेत्रमा बिजुली नहुँदा समस्या भएको गुनासो आएपछि जिल्ला वन कार्यालयले दुई सयभन्दा बढी सोलार सेट वितरण गर्‍यो । तर त्यो पनि पहुँचको भरमा वितरण भयो भनेर धेरै चितुवा पीडितले गुनासो गरे ।
चितुवा नियन्त्रणको लागि स्थानीयबासिन्दाले पटक–पटक स्थानीय सरकारलाई गुहारेका छन् । तर सुनुवाई भएको छैन । उल्टै जनप्रतिनिधिले देउताको कारण चितुवा लागेको भनेर पन्छिने गरेको मेलौली नगरपालिका–८ का शम्भु बिष्टले दु:ख व्यक्त गरे । चितुवा नियन्त्रणलाई चुनावी एजेण्डा बनाएर जनप्रतिनिधिले चुनाव जितिसकेपछि वास्ता नगरेको स्थानीयबासिन्दाको गुनासो छ ।
त्यसो त चितुवा नियन्त्रणका लागि काम नभएका पनि होइनन् । केही दिनअघि मात्रै जंगलमा १५ वटा स्वचालित क्यामेरा लगाई चितुवाको फोटो खिचेको र यसबारे अध्ययन भैरहेको अनुसन्धानकर्ता धीरेन्द्रबहादुर चन्दले बताए । त्यस क्षेत्रमा मान्छेमाथि चितुवाले किन आक्रमण गर्दैछ भन्ने विषयमा आफूले अनुसन्धान गरिरहेको र यसको चाँडै नै सामाधानको उपाय खोजेर चितुवा न्यूनिकरण गर्न सकिने उनले बताए ।
चितुवा प्रभावित क्षेत्रमा न्यूनिकरणको लागि दीर्घकालिन उपाय अवलम्बन गर्नुपर्ने अनुसन्धानकर्ता चन्दले बताए । कस्तो प्रकृतिको चितुवा छ भनेर पत्ता लगाउने उद्देश्यले वनमा क्यामेरा जडान गर्ने काम भएको उनले बताए । ‘स्वचालित क्यामेरा जडान गरिएको ३ दिनमा एउटा चितुवा क्यामेरामा कैद भएको छ’ उनले भने, ‘यस क्षेत्रमा साँच्चिकै चितुवा रहेको छ भन्ने प्रमाणित भएको छ ।’
पटक–पटक चितुवाले मानिसमाथि आक्रमण गरेको हुनाले त्यो चितुवा नरभंक्षी हुन सक्ने चन्दको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार