७ पुष २०८१, आईतवार

डेढ लाख नेपाली भारतको रोजगारीमा



भीमदत्तनगर । प्रदेश सातबाट डेढ लाख बढि नागरिक रोजगारीका लागि भारत गएको पाइएको छ ।
२०६८ सालको जनगणनाअनुसार भारतमा रहेका प्रदेश नम्बर ७ का दुई लाख ६६ हजार छ सय ७३ नागरिकमध्ये करिब ७० प्रतिशत रोजगारीका लागि गएका छन् ।
तथ्यांक कार्यालय कञ्चनपुर र कैलालीका निर्देशक यदुनाथ आचार्यका अनुसार प्रदेश ७ का नौवटै जिल्लाका वासिन्दाको रोजगारीको प्रमुख गन्तव्य नै भारत रहेको छ । तथ्यांकअनुसार प्रदेश सातको कैलालीबाट ५६ हजार, कञ्चनपुरबाट ३१ हजार, अछामबाट २० हजार, दार्चुलाबाट पाँच हजार, बझाङबाट २१ हजार, डोटीबाट २२ हजार, डडेल्धुराबाट १० हजार, बैतडीबाट १९ हजार र बाजुराबाट सात हजार महिला तथा पुरुष रोजगारी गर्न भारत गएका छन् ।
एक लाख ४४ हजार पुरुष रोजगारीका लागि गएका छन् भने संस्थागत रोजगारीका लागि आठ हजारभन्दा बढी गएको तथ्यांक छ । प्रदेश ७ का ३५ हजार नागरिक भारतमा आश्रित रहेको तथ्यांक कार्यालयका निर्देशक आचार्यले बताए ।
कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, बैतडीको झुलाघाट, दार्चुलाको जौलजिवी, दत्तु र खलंगालगायतका नाकाबाट बढी संख्यामा यहााका बासिन्दा रोजगारीका लागि भारत जाने गर्छन् ।
“हामीले रोजगारीका नाममा भारत पलायन हुनेको तथ्यांक राखेका छैनौँ,” आचार्यले भने, “भारत गएर फर्किनेको तथ्यांकमात्रै संकलन गरिएको छ ।” भारत जानेमा ३५ हजार भन्दा बढी महिला रहेका छन् ।
भारत रोजगारीका लागि गएकाहरूको शैक्षिक अवस्था सामान्य रहेको समेत तथ्यांकमा देखिएको छ । भारत गएकामध्ये एक लाख चार हजार जनाले प्राथमिक तहसम्मको मात्रै अध्ययन गरेका छन् भने ३९ हजार निरक्षर र ३५ हजार जनाले अनौपचारिक शिक्षा लिएको देखिएको छ ।
दैनिक १५ सयदेखि दुई हजार नागरिक गड्डाचौकी नाका भएर भारत जाने गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले बताए । “कतिपयलाई भारतको कुन ठाउँमा रोजगारीका लागि जान लागेको भन्ने थाहा हुँदैन,” उनले भने, “यहाँबाट भारतको सिमला, दिल्ली, देहरादुन, बैंग्लोर, हरियाणा, पञ्जावलगायतका ठाउँमा बढी जाने गरेका छन् ।”
त्यसैगरी, प्रदेश नं ७ बाट पाँच हजारभन्दा बढी अध्ययनका लागि भारत गएको तथ्यांक छ । एक हजारभन्दा बढी भारतमा व्यवसाय गर्न गएका छन् । द्वन्द्वका समयमा दुई सय ७१ जना भारत पलायन भएका बताइएको छ ।
बर्खाको खेती सकेर भारत जान लागेका बेल्डाँडी रतनपुरका राजबहादुर सिंह आफू रोजगारीका लागि लामो समय भारत जाने गरेको बताए । “यहाँ त्यत्तिक्कै बसेर के गर्नु”, उनले भने, “तेस्रो मुलुक जान सक्ने आर्थिक अवस्था छैन ।”
सिंहसँगै भारतको सिमलामा स्याउ टिप्न जान लागेका शुक्लाफाँटा नगरपालिकाका रत्न चौधरी विगत आठ वर्षदेखि रोजगारीका लागि जाने गरेको बताए । “खेतीपाती र चाडपर्वका बेला मात्र घर फर्किन्छु,” उनले भने, “अरू समय भारतमा मजदूरी गर्न जानु बाध्यता बनेको छ ।”
भारतसँगै युरोप र तेस्रो मुलुक रोजगारी, अध्ययनलगायत कामका लागि जाने प्रदेश नं ७ का स्थानीयवासीको तथ्यांकसमेत संकलन गरिएको छ । युरोपलगायत तेस्रो मुलुक यहाँबाट हालसम्म २० हजारको संख्यामा नागरिक गएको तथ्यांक छ । चीन, अष्ट्ेरलिया, अमेरिका, बहराइन, क्यानडा, साउदी अरब, कुवेत, दुवईलगायत देशमा प्रदेश नं ७ का बासिन्दा गएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार