२० बैशाख २०८१, बिहीबार

स्थानीय तह निर्वाचनको एक वर्ष, निर्वाचित जनप्रतिनिधिहरूले विजयपछि के भनेका थिए ?



धनगढीसहित प्रदेश नम्बर ७ का सबै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हालेको आज एक वर्ष पुरा भएको छ । स्थानीय तहको निर्वाचनमा सहभागी बनेका राजनीतिक दल तथा उम्मेदवारहरूले जनतासमक्ष थुप्रै प्रतिवद्धता तथा योजना प्रस्तुत गरेका थिए ।
निर्वाचित भइसकेपछि विजयर्‍याली तथा अन्य अवसरमा जनप्रतिनिधिहरूले जनतासमक्ष थुप्रै प्रतिवद्धता व्यक्त गरेका थिए । स्थानीय तह निर्वाचनको एक वर्ष पुगेको अवसरमा निर्वाचित जनप्रतिनिधिले चुनावताका र पछि जनतासमक्ष प्रस्तुत गरेका योजना तथा प्रतिवद्धता के कति पुरा भए ?, ती प्रतिवद्धता पूरा गर्न के कस्ता प्रयास गरिरहेका छन् ?, जनताले जनप्रतिनिधिका कामकारबाहीप्रति कसरी मूल्यांकन गरिरहेका छन् ? इअनुमोदनले शृंखलावद्ध रूपमा स्थानीय तहको एक वर्षको लेखाजोखा प्रस्तुत गर्ने जमर्को गरेको छ । प्रस्तुत छ– गत वर्ष स्थानीय निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिहरूले जनतासमक्ष प्रस्तुत गरेका प्रतिवद्धताहरू जस्ताको तस्तै :
पाँच वर्षभित्र अधिकांस समस्या सम्बोधन गर्छौ– मेयर वडविजयी र्‍यालीमा धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख (मेयर) नृपबहादुर वडले आगामी पाँच वर्षभित्र उपमहानगरपालिकाका अधिकांस समस्या समाधान हुने ढंगबाट काम गरिने दोहोर्‍याए ।
उनले मत माग्ने क्रममा जनतासामु गरिएका प्रतिवद्धता पुरा गर्नेमा आफू सधैं सजग रहेको बताए । उनले उपमहानगरपालिकाभित्रका प्रमुख समस्याको छिटो सम्बोधनका लागि आफूहरू प्रयत्नशील रहने बताए । उनले भने– धनगढी उपमहानगरपालिकाका धेरै वस्ती डुबान र नदी कटानका समस्याबाट पीडित छन् । हरेक वर्ष दोहोरिने यस्ता समस्याको सम्बोधनका लागि योजनावद्ध ढंगबाट काम गर्नेछौं ।
उनले जनताको चाहना, भावना र आकांक्षा अनुसार आर्थिक, सामाजिक विकास कार्यलाई अघि बढाइने बताए । नवनिर्वाचित मेयर वडले सम्पूर्ण उपमहानगरबासी मतदातालाई धन्यवाद दिदै आफूमाथि देखाएको विश्वासमा अलिकति पनि कमी हुन नदिने दृढता व्यक्त गरे ।

योजनावद्ध ढंगले विकास गछौं– उपमेयर मिश्रविजयी र्‍यालीमा धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित उपमेयर सुशीला मिश्र भट्टले महिला, दलित, आदिवासी जनजाति, अल्पसंख्यक, विपन्न लगायतका सीमान्तकृत वर्ग समुदायको आर्थिक उत्थानका लागि विशेष विकासका योजना लागू गर्न आफू कटिबद्ध रहेको बताइन् ।
उपमेयर मिश्रले जनताका चाहना र आवश्यकतालाई दृष्टिगत गरी तथा विज्ञहरूको साथ लिएर काम गरिने बताइन् ।
गुरुयोजनासहित काम गर्नेछौं– नगर प्रमुख चौधरी
भजनी नगरपालिकाका नगरप्रमुख शेरबहादुर चौधरीले सीमान्तकृत वर्ग समुदायको हकअधिकार र सेवा सुविधाका लागि गुरुयोजनासहित काम गर्ने बताएका छन् ।
भजनीमा भएको एक कार्यक्रममा नगरप्रमुख चौधरीले सीमान्तकृत समुदायको खाद्य, भूमिअधिकार र सामाजिक न्यायका सवालमा आफू सधैं सजग रहेको बताए ।
फाया नेपालद्वारा आयोजित कार्यक्रममा सहभागीहरूले जल, जमिन, जंगल र प्राकृतिक स्रोतसाधनमा सीमान्तकृत समुदाय, दलित, जनजाति, मुक्तकमैया, मुक्त हलियालगायतको अधिकार सुनिश्चित गर्नुपर्ने माग गरेका थिए ।
कार्यक्रममा पूर्व सभासद हरि श्रीपाइली, डिसीएका क्षेत्रीय संयोजक डाक्टर पूर्णबहादुर नेपाली, भूमिअधिकार मञ्चका केन्द्रीय सदस्य भुन्टे राजी, दलित महिला सञ्जालका धनमाया सुनार, भूमिअधिकार संघर्ष समितिका अध्यक्ष खुसीराम चौधरी, फाया नेपालका कार्यक्रम संयोजक लक्ष्मीभक्त जोशीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

पूर्वाधार विकासमा प्राथमिकता– घोडाघोडी नगरप्रमुख
घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले नगरको विकासका लागि पूर्वाधार विकासमा ध्यान दिने बताएका छन् ।
उनले बाटोघाटो, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत र सञ्चारको विकासका साथै रोजगारी सिर्जना गर्न गुरुयोजना तयार पारिने बताए ।
उनले स्थानीय तहको विकासका लागि विनियोजित बजेट सम्बन्धित शीर्षकमा नै खर्च गरिने बताए ।
उनले सरोकारवाला निकायसँग छलफल गरी सुखड बजार व्यवस्थापन गर्ने मार्गचित्र तयार गरिने बताए ।

 

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको एक वर्ष पुग्यो– प्रतिवद्धता र निर्णय : कति पूरा भए, कति थन्किए ?

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार