१० श्रावण २०८१, बिहीबार

स्वास्थ्य क्षेत्रमा नयाँ कार्यक्रम– मन्त्री सोडारी



धनगढी । प्रदेश सातका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले सरकारले स्वास्थ्य क्षेत्रमा नयाँ कार्यक्रम ल्याएको दाबी गरेका छन् । सरकारले आगामी आर्थिक वर्षका लागि नीति र कार्यक्रम तथा बजेट वक्तव्य मार्फत स्वास्थ्य क्षेत्रमा नौला कार्यक्रम र प्रयास अघि सारिएको उनले बताएका छन् ।
मन्त्री सोडारीले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा ‘एयरलिफ्टिङ’ सेवादेखि दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने कार्यक्रम घोषणा गरिएको बताए ।
बिहीबार धनगढीमा सामाजिक विकास मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा शाखाको आयोजनामा भएको ‘महिला तथा बाल स्वास्थ्य सुदृढीकरणका लागि योग आयुर्वेद’ सम्बन्धी अन्तरक्रियामा मन्त्री सोडारीले भने– प्रदेशका बाजुरा, बझाङ, दार्चुला जस्ता दुर्गम जिल्लाका विकट क्षेत्रमा आवश्यक परेको अवस्थामा एयरलिफ्टिङ सेवा समेत उपलब्ध हुने छ ।
मन्त्री सोडारीले बाजुरा, बझाङ, दार्चुला जस्ता दुर्गम जिल्लाका विकट स्थानमा अहिले पनि सर्वसाधारण स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेको चर्चा गरे । उनले भने– यस्ता विकट क्षेत्रमा आकस्मिक स्वास्थ्य उपचार सेवा आवश्यक पर्दा सरकारले बिरामीलाई एयरलिफ्ट सेवा समेत प्रदान गर्ने छ । सरकारले बजेटमार्फत जटिल प्रकृतिका प्रसुति, दुर्घटना र सर्पदंशका बिरामीलाई तत्काल स्वास्थ्य उपचार सेवा पुर्‍याउन ‘एयर लिफ्टिङ’ को व्यवस्था गरेको छ ।
उनले सरकारले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन स्वरुप वार्षिक एकमुष्ट दश हजार रुपैयाँ उपलब्ध गराउने निर्णय अर्को नौलो प्रयास भएको बताए । प्रदेश सरकारले महिला स्वास्थ्य स्वयंसेविकालाई अल्पकालिन बजेटमार्फत एकमुष्ट तीन हजार रुपैयाँ प्रदान गरेको थियो । प्रदेश सरकारले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रोत्साहन भत्ताका लागि आगामी आर्थिक वर्षको बजेटमा छ करोड तीन लाख ७० हजार रुपैयाँ विनियोजन गरेको छ ।
बजेटमा प्रसुति सेवालाई प्रभावकारी बनाई मातृशिशु स्वास्थ्यमा सुधार ल्याउन आगामी आर्थिक वर्षभित्रै ४५ वटा स्थानीय तहमा प्रसुति केन्द्र भवनको निर्माण गर्न ११ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै, पहाडी सात वटा जिल्लाका १६ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा अत्याधुनिक उपकरण सहितको एम्बुलेन्स सञ्चालनको लागि छ करोड ४० लाख रुपैयाँ छुट्याइएको छ ।
बजेटमा जटिल प्रकृतिका प्रसुति, दुर्घटना र सर्पदंशका बिरामीका लागि ‘एयर लिफ्टिङ’ सेवाका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।
मन्त्री सोडारीले बजेटमा स्वास्थ्य सेवाका क्षेत्रका ल्याइएका कार्यक्रमबारे चर्चा गर्दै स्वास्थ्य सेवाको पहुँच अभिवृद्धिको लागि सहरी स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य इकाई भवन निर्माणमा तीन करोड १० लाख, थारु समुदायमा देखिएको सिकलसेल एनिमिया रोग नियन्त्रण एवं रोकथामको लागि सामुदायिक अस्पतालमा नि:शुल्क उपचारको व्यवस्था गर्न एक करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको बताए ।
मन्त्री सोडारीले आयुर्वेद स्वास्थ्य सेवालाई महत्त्वका साथ अगाडि बढाउन तथा नागरिकलाई स्वस्थ बनाउन गाउँगाउँमा योग अभियान विस्तार गरिने बताए ।
त्यस्तै, स्थानीय तहबाट सञ्चालन हुँदै आएको आधारभूत स्वास्थ्य सेवा प्रभावकारी बनाउन थप कार्यक्रम विस्तारको लागि रकम विनियोजन गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
बजेटमा विपद तथा महामारी रोग नियन्त्रण, निवारण र व्यवस्थापनको लागि आवश्यक स्रोतको व्यवस्थापन, छिमेकी मुलुक भारतमा काम गरेर स्वदेश फर्किने नेपाली कामदारको स्वास्थ्य जाँच र परामर्शको लागि कञ्चनपुरको गड्डाचौकी तथा कैलालीको त्रिनगर र खक्रौला नाकामा हेल्थडेस्क स्थापना गरी सञ्चालनमा ल्याइने उल्ल्ेख छ ।
प्रदेशका सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न कम्तिामा १५ देखि २५ सैयाको सुविधासम्पन्न अस्पताल निर्माण गर्न स्थानीय तहलाई उत्प्रेरित गर्नुको साथै नेपाल सरकारसँग निरन्तर समन्वय गरिने, प्रदेशस्थित सबै किसिमका स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, औषधी तथा स्वास्थ्य सेवाको मापदण्ड र व्यवस्थापनको प्रभावकारिता बढाउन अनुगमन र मूल्यांकन पद्धति कडाइका साथ लागु गरिने बजेटमा समावेश छ ।
त्यस्तै, महामारी तथा विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणको लागि प्रदेश सरकारले औषधी र उपकरण सहितको स्वास्थ्य इकाई गठन गरी विपद् व्यवस्थापन कार्य द्रुत गतिमा सञ्चालन गर्न आवश्यक स्रोतको व्यवस्थापन गरेको जनाएको छ ।
प्रदेश सरकारले प्रदेश स्तरीय सुविधासम्पन्न अस्पताल, ट्रमा सेन्टर र स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको लागि आवश्यक प्रक्रिया अगाडि बढाउने, प्रदेशको माग धान्न सक्ने क्षमताको अक्सिजन प्लान्टको स्थापना गर्ने, सबै सार्वजनिक स्थल र सवारी साधनमा धुम्रपान र मदिरा सेवन निषेध गर्ने, मदिरा र सुर्तीजन्य पदार्थको उत्पादन, आयात तथा बिक्रि वितरणलाई व्यवस्थित गर्ने, अति दुर्गम र अस्पतालको पहुँचभन्दा टाढा रहेका क्षेत्रमा विशेषज्ञ चिकित्सकबाट सल्यक्रिया गर्ने गरी स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम पनि बजेटमा समेटेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल, अञ्चल अस्पताल र उपक्षेत्रीय अस्पतालबाट प्रदान गरिने बिशेषज्ञ सेवा सहितका अन्य सेवाहरुलाई थप व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउन आवश्यक बजेटको व्यवस्था गरेको, प्राथमिक स्वास्थ्य केन्द्र स्तरमा एआरटि सेवा, सर्पदंस उपचार सेवा बिस्तार र स्वास्थ्य चौकीहरुमा समेत माग र आवश्यकताका आधारमा प्रयोगशाला सेवा बिस्तार गरिने बजेटमा उल्लेख छ ।
प्रदेश स्तरमा प्रादेशिक पञ्चकर्म तथा योगकेन्द्र निर्माण, प्रादेशिक स्तरको हर्बल गार्डेन, प्रादेशिक आयुर्वेद प्रतिष्ठान स्थापना र प्रदेश स्तरीय योग कन्फरेन्स हल पूर्वाधार निर्माणको कार्य प्राथमिकताका साथ अगाडि बढाइने जनाईएको छ ।
कार्यक्रममा आयुर्वेदिक डाक्टर चेतराज जोशीले योग र आयुर्वेदसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा योग क्षेत्रमा अगुवा, नौ वटै जिल्लाका आयुर्वेद स्वास्थ्यकर्मी र मन्त्रालयका कर्मचारी समेत ७५ जनाको उपस्थिति रहेको कविराज दिक्षाभण्डारीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार