२ जेष्ठ २०८१, बुधबार

वित्तीय साक्षरता कक्षाले सिकायो, खर्च व्यवस्थापन सीप



धनगढी । घोडाघोडी नगरपालिका वडा नम्बर ४ रामपुरकी पूजा धामीका अहिले रकम खर्च गर्दा निकै सचेत बन्ने गरेकी छन् । उनका श्रीमानले खाडी मुलुक कतारमा रोजगारी गरेर पठाएको रकम खर्च गर्दा निकै विचार पुर्‍याउने गर्छिन् । भन्छिन्– “कतारबाट श्रीमानले पठाएको रकम शुरुशुरुमा त जथाभावी खर्च गर्थे, बचत नै हुँदैनथ्यो, तर अहिले म निकै सतर्क हुने गरेकी छु । खाडी मुलुकमा धेरै दु:खकष्ट गरेर श्रीमानले पठाएको रकम जथाभावी खर्च गर्नुुुहुँदैन भन्नेमा सचेत देखिएकी पूजाले खर्च व्यवस्थापन पनि राम्रैसँग गरिरहेकी छन् ।”
घोडाघोडी नगरपालिकाको वडा नम्बर ४ रामपुरबाट रोजगारीका लागि विभिन्न मुलुक गएका परिवारका सदस्यहरूलाई सहभागी बनाएर हेल्भेटासको साझेदारीमा सञ्चार प्रतिष्ठान नेपाल, कैलालीले सञ्चालन गरेको सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत वित्तीय साक्षरता कक्षाले पूजा जस्तै थुपै्र महिलालाई रेमिटान्सको सदुपयोग गर्ने सीप र बानी विकास गरेको छ ।
रामपुरकै मीना थापा पनि अहिले श्रीमानले विदेशबाट पठाएको रकम खर्च गर्दा निकै विचार पुर्‍याउँछिन् । उनका श्रीमान दुई वर्षदेसख मलेसियामा रोजगारी गरिरहेका छन् । मीना वित्तीय साक्षरता कक्षाकी नियमित सहभागी हुन् ।
रामपुरकै हरिनादेवी साउँद पनि अहिले आफूले फजुल खर्च नियन्त्रण गरिरहेको बताउँछिन् । “शुरुशुरुमा श्रीमानले पठाएको रकम जथाभावी खर्च हुने गथ्र्यो”, हरिनादेवीले भनिन्– “आजभोलि चाही विचार गरेर मात्रै खर्च गर्छु । उनी स्मरण गर्छिन्– “शुरुशुरुमा छोराछोरीका लागि बढि खर्च गर्दथे । छिमेकीले कुनै सामान किनेको देखेपछि आफूलाई आवश्यक नभए पनि किनिहाल्थे ।”
हरिनादेवीका छिमेकी डम्मरादेवी साउँदले आफूहरूले वित्तीय साक्षरता कक्षामा सहभागी बनेपछि ऋण लिँदा ध्यान दिनुपर्ने कुरा र फजुल खर्च नियन्त्रण गर्ने उपायबारे जानकारी पाएको बताइन् । डम्मरादेवीका छोरा वैदेशिक रोजगारमा छन् ।
वित्तीय साक्षरता कक्षामा सहभागी बनेका महिलामध्ये धेरै जसो अहिले सानोतिनो व्यापार, तरकारी खेती लगायतका काममा संलग्न भएका छन् ।
वैदेशिक रोजगारमा गएका श्रीमानले घरमा रका पठाउने बित्तिकै महंगो मोबाइल फोन किनेको बताउने टीकापुर नगरपालिका वडा नम्बर ३, कटानपूरकी रमिता चौधरीले आजभोलि भने फजुल खर्च एकदमै नियन्त्रण गरेको बताइन् । “शुरुमा रकम भएपछि खर्च गर्ने त हो” भन्ने सोचका आधारमा जथाभावी खर्च गर्ने गरेको बताउँदै उनले भनिन्– “वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि मात्रै मैले पैसाको मुल्य थाहा पाए । रमिताले श्रीमानले पठाएको रकम बचत गरेर केही समयपछि बंगुरपालन गर्ने सोच बनाएको बताइन् ।”
कटानपुरकै सरस्वती विकको सोच र खर्च गर्ने व्यवहारमा पनि वित्तीय साक्षरता कक्षाले ठूलै परिवर्तन ल्याएको छ । “शुरुमा त श्रीमानले रकम पठाउन थालेपछि आफ्नो जग्गा हुँदाहुँदै पनि तरकारी समेत किनेर खाने गरेकी थिए” उनी भन्छिन्– “अहिले आफ्नो बारीमा फलाएको तरकारी बिक्री समेत गरिरहेकी छु ।”
सामी परियोजनाले वैदेशिक रोजगारीमा गएकाहरूका घरपरिवारका सदस्यहरूले कमाएको पैंसा फजुल खर्चमै सक्न थालेपछि खर्च नियन्त्रण गर्न र पैंसालाई सही ठाउँमा लगानी गर्न कैलाली जिल्लाका सबै स्थानीय तहमा वित्तीय साक्षरता कक्षा सञ्चालन गरेको कार्यक्रम संयोजक एकीन्द्र तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार