४ जेष्ठ २०८१, शुक्रबार

ट्यांकर सुरक्षात्मक लकिंग प्रणाली शुरु



धनगढी । नेपाल आयल निगमले सुदूरपश्चिममा ट्यांकर तथा ट्रक सुरक्षात्मक लकिंग प्रणाली शुरु गरेको छ । आयल निगमको क्षेत्रीय कार्यालय, धनगढीले इन्धन बोक्ने ट्यांकर तथा ट्रक सुरक्षात्मक लकिंग प्रणाली शुरु गरेको जनाएको छ ।
यसअघि सामान्य सिल गरेर ट्यांकरहरूले इन्धन बोक्ने गरेकोमा ती सिल भरपर्दो नहुने भएकाले निगमले बिहीबारदेखि यो प्रणाली आरम्भ गरेको जनाएको छ ।
पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरमा चोरी नियन्त्रण गर्न अपनाइएको नयाँ प्रणालीको बिहीबार एक कार्यक्रमबीच कैलालीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले रिवन काटेर तथा इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट इन्धन बोकेर आएका ट्यांकरको ताला खोलेर आरम्भ गरे ।
सुरक्षात्मक लकिंग प्रणाली शुभारम्भ कार्यक्रम नेपाल आयल निगम केन्द्रीय कार्यालयका प्रवक्ता एवं वितरण विभागका निर्देशक वीरेन्द्र गोइतको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी तिवारीले लकिंग प्रणाली निगम र व्यावसायीको हितमा रहेको बताए । उनले लकिंग प्रणाली आन्तरिक सुधारको एउटा महत्त्वपूर्ण कडी भएको चर्चा गरे  । प्रजिअ तिवारीले भने– “यो आयल निगमलाई व्यवस्थित र मर्यादित बनाउने महत्त्वपूर्ण पाइला हो ।”
कार्यक्रममा पेट्रोलियम डिलर एसोसिएसनका क्षेत्रीय सहसचिव टेकराज जोशीले लकिंग प्रणाली प्रभावकारी भएकाले सबै व्यावसायीले सकारात्मक रूपमा लिएको बताए । उनले इण्डियन आयल कर्पोरेशनबाट नेपाल आयल निगमको डिपोमा मात्र नभएर नेपाल आयल निगमको डिपोबाट कुनै पनि पेट्रोल पम्पसम्म पनि ढुवानी गर्दा यो प्रणाली लागू गर्न आग्रह गरे ।
नेपाल आयल निगम कर्मचारी संघका अध्यक्ष देवी न्यौपानेले मुहान सफा नहुँदासम्म तह बग्ने पानी सफा नहुने चर्चा गरे । भने– “त्यसैले केन्द्रबाट सुधार हुनु आवश्यक हुन्छ ।”
नेपाल आयल निगमका केन्द्रीय प्रवक्ता गोइतले लकिंग प्रणाली पहिलेदेखि लागू भए पनि विगतमा भरपर्दो नहुँदा इन्धनको चुहावट बढी हुने गरेको बताए ।
उनले विगतमा गरिने सामान्य सिलभन्दा अहिलेको लकिंग प्रणालीमा फिंगर प्रिन्ट रहने र जबरजस्ती लक खोल्न खोजे चाबी भाँचिने जस्ता व्यवस्था भएकाले इन्धनको चुहावट रोक्न सतप्रतिशत प्रभावकारी हुने बताए ।
प्रवक्ता गोइतले ट्यांकर चालक तथा सहचालकहरूले इन्धन ढुवानी गर्ने क्रममा बीच बाटोबाट चोरी तथा तस्करी गर्ने आरोप लाग्न थालेपछि कडा नियन्त्रणका लागि यो प्रणाली लागू गरिएको दावी गरे ।
प्रवक्ता गोइतका अनुसार लकिंग प्रणाली झापाबाट शुरु भएको हो । उनले लकिंग प्रणालीको सबै ठाउँमा सकारात्मक प्रभाव देखिएको बताए । उनले पेट्रोलियम व्यवसायमा देखिएको समस्या र आलोचना सम्बोधन गर्न यो प्रणाली प्रभावकारी हुने बताए । उनले भने– “चालकले प्रति ट्यांकर एक सय लिटरभन्दा बढी इन्धन चोर्ने गरेको आरोप लाग्ने गरेको सन्दर्भमा यो प्रणालीले त्यस्तो आरोप केही कम हुने छ ।”
नेपाल आयल निगम धनगढीका निमित्त क्षेत्रीय प्रमुख शिवराज भण्डारीले सात नम्बर प्रदेशका लागि भारतको बन्थरा डिपोबाट पेट्रोलियम पदार्थ ढुवानी हुने गरेको बताए ।
बन्थरा डिपोले ताल्चा लगाएका इन्धन बोकेका ट्यांकरहरू धनगढीस्थित निगमको डिपोमा आइपुग्ने गरेका छन् । उनका अनुसार ट्यांकरमा लगाइएको ताल्चाको चाबी बन्थरा डिपोको सिडिएमसँग र नेपाल आयल निगम कार्यालयको प्रमुखसँग रहने व्यवस्था मिलाइएको छ ।
निमित्त प्रमुख भण्डारीले बन्थराबाट आइओसीले पहिलो दिन चार वटा ट्यांकरमा ताल्चा लगाएर पेट्रोलियम पदार्थ पठाएको बताए । धनगढी डिपोमा इन्धन ढुवानी गर्ने १२ हजार लिटर क्षमताका सात र २० हजार लिटर क्षमताका ६० वटा ट्यांकर रहेका छन् । निगमले छिट्टै निगमको क्षेत्रीय कार्यालयको डिपोबाट अन्य जिल्ला तथा स्थानमा रहेका आयल डिपोसम्म इन्धन ढुवानी गर्न समेत सो प्रणाली लागू गरिने जनाएको छ ।
कार्यक्रममा भारतको आईओसी मुम्बईका कर्मेसियल जनरल म्यानेजर एसएस बोस, आईओसी भारतका जनरल म्यानेजर एआर सकरी, नेपाल आयल निगमका कार्यकारी निर्देशक राजिवराज शर्मा, नेपाल आयल निगम सम्बद्ध विभिन्न संगठनका पदाधिकारी, डिलर, ट्यांकर चालक लगायतको उपस्थिति रहेको थियो ।

ट्यांकर तत्काल उपलब्ध हुँदैन : प्रवक्ता गोइत
प्रदेश नम्बर ७ मा पेट्रोलियम पदार्थको माग बढ्दै गएको र ट्यांकर अभावले आपूर्ति व्यवस्था असहज भइरहेकोमा नेपाल आयल निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले तत्काल थप ट्यांकर उपलब्ध नहुने बताएका छन् ।
निगमको क्षेत्रीय कार्यालय धनगढीले ट्यांकर अभावकै कारण आपूर्ति गर्न असहज भएको भन्दै थप ट्यांकरको व्यवस्था गर्न केन्द्रीय कार्यालयसँग माग गरेको जनाइएको छ ।
बढ्दो जनसंख्या तथा सवारी साधनसँगै बढेको पेट्रोलियम पदार्थको मागअनुसार अहिले भएका ट्यांकरबाट आपूर्तिमा कठिनाई भइरहेको छ । ट्यांकरको कमीका कारण कतिपय अवस्थामा धनगढी लगायत प्रदेश नम्बर सातका विभिन्न जिल्लामा पेट्रोलियम पदार्थको अभाव हुने गरेको छ ।
बिहीबार इन्धन बोक्ने ट्यांकरको सुरक्षात्मक प्रणालीका शुरुवात कार्यक्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै आयाल निगमका केन्द्रीय प्रवक्ता तथा आपूर्ति विभागका निर्देशक गोइतले यस क्षेत्रमा प्रेटोलिय प्रदार्थको कहिले पनि कुनै अभाव नभएको बताए । उनले तत्कालका लागि थप ट्यांकरको आवश्यकता नरहेको बताए ।
हाल नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीसँग ६७ वटा ट्यांकर रहेको जनाइएको छ । व्यावसायी तथा नियमका क्षेत्रीय कार्यालयमा कार्यरत कर्मचारीहरूका अनुसार हाल उपलब्ध ट्यांकरबाट सिंगो प्रदेश सातमा इन्धन आपूर्ति सहज ढंगले हुन कठिनाई रहेको छ । निगमको क्षेत्रीय कार्यालय, धनगढीले तत्कालका लागि थप ३० ट्यांकरको आवश्यकता रहेको जनाएको छ ।
केही दिनअघि सात नम्बर प्रदेशका बाजुरा र बझाङबाहेक सात जिल्लाका ९० वटा पेट्रोल पम्प (डिलर) मा ट्यांकरको कमीका कारण मागअनुसार पेट्रोलियम पदार्थ वितरण गर्न सकिने स्थिति नरहेको निगमका क्षेत्रीय कार्यालय धनगढीका निमित्त प्रमुख शिवराज भण्डारीले बताएका थिए । उनले ट्यांकरका लागि निगमको केन्द्रीय कार्यालयमा गत फागुनमा लिखित माग गरिए पनि कुनै प्रतिक्रिया प्राप्त नभएको बताए ।
तर, केन्द्रीय कार्यालयका प्रवक्ता गोइतले थप ट्यांकरको माग गरिएकोबारे कुनै पत्र वा जानकारी प्राप्त नभएको बताए ।
विगतको आवश्यकताअनुसार सञ्चालनमा रहेका ट्यांकरले अहिलेको पेट्रोलियम पदार्थको मागलाई धान्न सकेको छैन । माग बढी नभएको बेला खासै समस्या नहुने गरेको भएपनि खेतीपातीको सिजनका भने पेट्रोलियम पदार्थ पूर्ति गर्न समस्या भइरहेका सेवाग्राह्ीहरु बताउँछन् । विकासे काम पनि भइरहेको र खेतीपातीको समय पनि भइरहेकाले अहिले पनि पेट्रोलियम पदार्थको माग बढेको छ ।
नेपाल आयल निगमको क्षेत्रीय कार्यालयले विविध कारणले प्रेटोलियम प्रदार्थ प्रदेशका सवै जिल्लामा वितरण समस्या भएको स्वीकार गरेको भएपनि केन्द्रीय कार्यालयले भने प्रेटोलियम प्रदार्थको सहज वितरणका लागि डिपोको सार्ने बाहेक अरू कुनै समस्या नभएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार